खाँटी पत्रकार कार्की

रवीन्द्र माकाजु २०७९ चैत ६ गते १७:३३

५० बर्षभन्दा बढी समय पत्रकारितामा समय बिताएका वरिष्ठ पत्रकार नारायण कार्की पोखरेलीहरुका लागि चिरपरिचित नाम हो । अत्यन्त मिलनसार, विनम्र स्वभावका कार्कीका लागि लाग्छ यहाँ कोही पराई छैनन् । आफ्नो पत्रकारिता जीवन वि.सं. २०२९ सालबाट शुभारम्भ गरेका कार्की हाल विविसी नेपाली सेवामा कार्यरत छन् ।

वरिष्ठ पत्रकार कार्कीको जन्म वि.स.. २००७ साल मार्ग १८ मा तनहुँ जिल्लाको नावरुङ्गमा भएको हो । बुबा पूर्णबहादुर कार्की नेपाली सेनामा कार्यरत थिए । पिता काठमाडौंमा जागिरे हुँदा बाबुसँगै ७ बर्षका उमेरमा हिंडेर काठमाडौं पुगेको स्मरण गर्दछन् । कार्कीले काठमाडौंको पदमोदय हाइस्कुल र शान्ति विद्यागृह स्कुलमा पढाई शुभारम्भ गरे पछि गोर्खाको आपपिपलको मिशनरी स्कुलमा भर्ना भए । पछि उनले बन्दीपुरको भानु हाईस्कुलमा पढ्ने मौका पाए । एसएलसी भने आफ्नै गाउँको चन्द्रावती माध्यमिक विद्यालयबाट दिने अवसर जु¥यो ।

एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न भरतपुरको वीरेन्द्र इन्टरकलेजमा भर्ना भए । थप अध्ययनका लागि काठमाडौं हानिए र सरस्वती क्याम्पसबाट बिए पास गरे ।

Advertisement

पढाई पूरा हुनासाथ २०२९ शालमा राष्ट्रिय समाचार समिति (रासस) मा जागिरे भए । उनले अञ्चल सम्पाददाता हुँदै क्षेत्रीय प्रमुख बन्ने सौभाग्य प्राप्त गरे । करिव २० बर्ष रासस सेवा गरेपछि नीजिक्षेत्रको पत्रकारितामा संलग्न भए । जनमञ्च, विमर्श, हिमालय टाइम्सको सम्वाददाता भए । पोखराबाट प्रकाशित जनमत, पोखरापत्र, समाधान दैनिकको कार्यकारी सम्पादक भएर उनले सेवा पुर्‍याए । २०५२ सालदेखि हालसम्म बिबिसी नेपाली सेवामा कार्यरत कार्की गण्डकी प्रदेशका व्यूरो प्रमुख हुन् । उनले विभिन्न मुलुकमा भएको पत्रकारिता तालिमा सहभागिता जनाउने क्रममा फ्रान्स, अमेरिका, बेलायत, स्वीजरल्याण्ड आदि मुलुकमा भम्रण समेत गर्ने अवसर पाए ।

उनको लामो पत्रकारिताको उच्च मूल्याङ्कन स्वरूप वि.सं. २०५४ सालमा पहिलोपल्ट जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पत्रकार कार्कीलाई २०६४ साल नेपाल पत्रकार महासंघ कास्कीले दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार प्रदान ग¥यो । त्यस्तै २०७१ सालमा भूतपूर्व खेलाडी मञ्चले, २०७३ सालमा पोखरा महानगरपालिका, २०७३ सालमा रोयस सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार, २०७० मा कास्की जिल्ला फुटबल संघ, कास्की मोडनाइज एकेडेमी २०७४, जेष्ठ नागरिक सरोकार समाज २०७५, ढुकढुकी स्रोता क्लव, किर्ति स्मृति वृत्ति सम्मान २०७७, नेपाल पर्वतारोहण संघ, लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठान, क्षेत्री समाज, हिमाली सांस्कृतिक परिवार, समाधान दैनिक सम्मान, रासस स्वर्ण महोत्सव सम्मान, स्वतन्त्र पत्रकार संघ, नेपाल किङ्गडम, लायन्स क्लव अफ पोखरा चौतारीबाट, रेयुकाई नेपाल, नेपाल प्रेस युनियन कास्की, पछिल्लो समय कार्की गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति विज्ञान प्रविधिब एवम् सामाजिक विकास मन्त्रालयबाट मानव बेचबिखन तथा आसेसारपसार विरुद्धको पाँचौ राष्ट्रिय दिवसको अवसरमा सम्मानित पनि भए । उनी २०७८ साल असोज १ गते चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान (पुरस्कार राशी रु एक लाख एघार हजार) बाट सम्मानित पनि भए ।

Advertisement

पत्रकार कार्की टेनिस र क्रिकेटका राम्रा खेलाडी हुन् । पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा कार्की सहभागी थिए । साहित्यमा रुचि राख्ने पत्रकार कार्कीले थुप्रै फुटकर कविता कोरेका छन् तर पुस्तकारको रुप भने दिन भ्याएका छैनन् । उनी पोखराबाट प्रकाशित साहित्यिक त्रैमासिक पाङ्गण पत्रिकाका सम्पादक पनि भए ।

सामाजिक गतिविधिमा पनि कार्की संलग्न छन् । पोखरामा पहिलो अन्तर्राष्ट्रिय संस्था पोखरा युनेस्को क्लवमा उनी सक्रिय भएर लागे । सिद्धि सेतुली प्रतिष्ठानका पूर्व अध्यक्ष कार्की हाल सञ्चय सहकारीका अध्यक्षका रुपमा कार्यरत छन् ।

वरिष्ठ पत्रकार कार्की रासस बुटवलमा कार्यालयमा रहँदा रासस भवन बनाउन सबैसँग हारगुहार गरेका थिए । पोखरामा रहँदा रासस भवन बनाउन सरकारलाई जोड गरी भवन बनाउन सफल भए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले पत्रकार महासंघको भवन बनाउन दिलो ज्यानले लागेका स्मरण गर्दै भन्दछन् – नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्षको हैसियतले विसं २०६४ चैतदेखि तीन बर्षका लागि मैले नयाँ टीमका साथ काम गर्ने अबसर प्राप्त भयो ।

पत्रकार महासंघको भवन निर्माण गर्ने सोच तथा प्रयत्न केही बर्ष अघिदेखि नै भए पनि जग्गा प्राप्त गर्ने संयोग नजुरेकाले यो काम अघि बढ्न सकिरहेको थिएन ।

त्यसैले नवनिर्वाचित कार्य समितिले आफ्नो प्राथमिक लक्ष्य नै जग्गाको व्यवस्था गरी भवन निर्माण कार्य गर्ने बनाए अनुरूप भवन निर्माणका लागि आवश्यक जग्गा पोखरा उपत्यका नगर विकास समितिसँग लिने कुराकानी भैरहेको थियो ।

संघको बारम्बारको अनुरोध र दवावपछि २०६६ साल कात्तिक ११ गतेको नगर विकास समितिको बैठकले पोमनपा ७ मुस्ताङचोकमा १ रोपनी ८ आना जग्गा प्रदान गरेपछि भवन निर्माण गर्ने बाटो खुलेको थियो । समितिको निर्णयपछि पनि पटक–पटक काठमाडौं धाएर २०६६ माघ १४ गते नेपाल सरकारको स्वीकृतिमा ३० बर्षका लागि जग्गा लिजमा लिइयो ।

त्यसपछिका दिनमा भवन निर्माणका लागि आवश्यक पूर्वतयारी गरेर ०६७ बैशाख २७ गते तत्कालीन पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष तथा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात र नेपाल पत्रकार महासंघका तत्कालीन महासचिव पोषण केसीले संयुक्तरूपमा भवनको शिलान्यास गरेपछि निर्माण कार्यले गति लियो ।

भवनको शिलान्यासअघि भवन कत्रो, कस्तो, श्रोत कसरी जुटाउने भनेर महासंघभित्र र महासंघका बरिष्ठदेखि कनिष्टसम्मका साथीहरूसँग सरसल्लाह र विचार विमर्श भएको थियो । भवन निर्माणलाई गति दिन छुटै निर्माण समिति गठन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर कास्की शाखाका अध्यक्षको अध्यक्षतामा निर्माण समिति पनि गठन गरियो ।

२०/३० लाखमा सानो भवन बनाएर काम चलाउन पनि सकिन्थ्यो तर त्यसो नगरी भोलिको प्रादेशिक राजधानी हुने पोखराको विकासको संभावनालाई दृष्टिगत गरी भवन सुविधायुक्त बनाउने निष्कर्षमा पुगे अनुसार भवनको जग हाल्ने काम भएको थियो । तीन तले भवनको तत्कालीन लागत डेढ करोड थियो ।

साधन र श्रोत जुटाउने क्रममा हामीले के नीति बनायौं भने पत्रकारहरूका लागि आवश्यक भवनमा सर्वप्रथम पत्रकारहरूकै योगदान हुनुपर्छ । निश्चय नै पत्रकारहरूको योगदानले मात्र भवन बन्ने संभावना थिएन तर त्यसको सकारात्मक प्रभाव समाजमा पर्ने अवश्यंभावी थियो । सहयोग जुटाउनका लागि हामीले अख्तियार गरेको अर्को नीति महासंघको भवन निर्माणका लागि स्थानीय निकाय, संघसंस्था तथा दाताहरूलाई प्राथमिकता दिने ।

नेपाल सरकारसँग सहयोग नलिने होइन तर पहिले नै सरकारको मुख ताक्दा पहिलो कुरा त समयमा रकम प्राप्त नहुने दोस्रो कुरा प्राप्त भए पनि हाम्रो योजनाअनुसार प्राप्त नहुने भएकाले हामीले पत्रकार र स्थानीय सहयोग नै बढीभन्दा बढी जुटाउने अठोट गर्यो‍ । नभन्दै हाम्रो सोचअनुसार दिनहुँजसो कुनै न कुनै संस्था तथा दाताहरूले सहयोग गर्न थाले ।

पत्रकार साथीहरूबाट पनि उदार मनले सहयोग उठ्न थाल्यो । दिनहुँजसो स्थानीय पत्रपत्रिकाहरूमा समाचार आउँदा र एफएमहरूले पनि सहयोगको समाचार दिंदा महासंघको भवन निर्माणमा सहयोग गर्ने असाध्यै राम्रो माहोल बन्यो । दाताहरूको सम्मानको कदर गर्दै शिलालेखमा नाम लगायत सहयोगको रकमअनुसार दाताले इच्छाएको व्यक्तिको नाममा कोठा, बैठक कक्ष, तालिम कक्ष, सभाहल र भवनकै नामसमेत राख्न सकिने प्रावधानहरू त्यसैबेला बनाइयो ।

मेरो तीन वर्षे कार्यकाल समाप्त हुँदासम्म भवनको दुई तलां ढलानको काम सकिएको थियो । भुईं तलामा मञ्च र १५० जना अटाउने सभाकक्षको व्यवस्था गर्ने योजना बनाइएको थियो । यसको उद्देश्य संघका गतिविधि आफ्नै सभाहलमा हुन सकुन् र अरूलाई पनि भाडामा दिएर आय आर्जन हुन सकोस् भन्ने हो ।

माथिल्लो तलामा अफिस, बैठक कक्ष र तालिम कक्षको प्रावधान राखेर सोहीअनुसार योजना बनाइएको थियो । भवन निर्माणमा पोखरा महानगरपालिकाको आर्थिक र प्राविधिकरूपमा उल्लेख्य योगदान रह्यो भने, कास्की जिल्ला विकास समिति लगायतका संस्थाहरूको सहयोगले पनि स्मरणीय छ ।

भवन निर्माणमा ससना रकम सहयोग गर्नेहरूको पनि कमी रहेन । महासंघकै अफिशमा आएर हामी पनि सहयोग गर्न चाहन्छौं भन्ने दाताहरू पनि थिए ।

पत्रकार महासंघ कास्कीको भवन निर्माण कार्य आज आएर पूरा भएको छ । हामीले परिकल्पना गरेअनुसार तीन तला बन्न नसके पनि भब्य दुई तले भवन निर्माण कार्य सम्पन्न भयो । अब भवनको पूर्ण सदुपयोग गर्दै पत्रकारहरूको तालिम, गोष्ठी आदि गतिविधिमा ध्यान दिनुपर्ने र सभाहल, तालिम कक्षलाई भाडामा दिएर आय आर्जनतिर पनि ध्यान दिनुपर्ने खाँचो छ ।

हाम्रो तीन बर्षे कार्यकालमा नियमित कामका अतिरिक्त संस्थाको अक्षय कोष बढाउनका लागि २०६५ सालको तिहारमा देउँसी, भैलो खेली रू ३ लाख अक्षय कोषमा थप गरियो ।

प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा उहाँका परिवारजनबाट संचालित पत्रकारिता पुरस्कार राशी, उहाँका सुपुत्र विश्वशंकर पालिखेलाई अनुरोध गरी अक्षयकोषमा राख्ने ब्यबस्था गरियो । नयाँ कार्य समितिको मूख्य एजेण्डा कास्की शाखाको भवन निर्माण गर्नु थियो र जग्गा प्राप्तिदेखि भवन निर्माण थालनी र निरन्तरता दिन हामीले सफलता प्राप्त गर्यो , त्यसमा हामीलाई सन्तोष लागेको छ ।

कार्कीको पत्रकारिता जीवनमा धम्कीहरू कति आए आए । कास्कीको एक निर्वाचन क्षेत्रमा एक युवकको हत्या प्रकरणमा आफूमाथी आएको ज्यान मार्ने धम्की कार्की कहिले विर्सन सक्दैनन् । उनी आफ्ना पेशाप्रति पूर्णरूपमा सन्तुष्ट छन् । उनी आफूले प्राप्त गरेको पुरस्कारलाई एक ठाउँमा जम्मा गरी यसैको बृहत्कोष बनाएर सामाजिक सेवा गर्ने सोचमा छन् । वि.सं. २०२९ सालमा शुलोचनासँग उनको लगन गाँठो गाँसेका कार्की दम्पतीका हाल चार सुपुत्री छन् । कार्की परिवार पोखराको नयाँ सडकमा बसोबास गर्दछन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया