चितवनसँगै तनहुँ र बारामा पनि उपचुनाव

पोखरा ।
तनहुँ निर्वाचन क्षेत्र १ र बारा २ मा १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका छन् । यता, बारा २ बाट निर्वाचित भएका जसपा सांसद रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति चुनिएका छन् ।
यसअघि तय भएको चितवनको उपचुनावसँगै पछि रिक्त भएका दुबै क्षेत्रमा चुनाव हुने भएको हो । निर्वाचन आयोगको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो । चितवन. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।
चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम तनहुँ र बारामा पनि लागू गरिनेछ । तनहुँ १ र बारा २ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
त्यहाँ १६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता गरिनेछ । दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान दिइने आयोगले जनाएको छ ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया