‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न उम्मेदवारी’

समाधान संवाददाता २०७९ चैत ७ गते ११:४३

पोखरा ।
उद्यमी अञ्जन श्रेष्ठ अहिले नेपाल उद्योग वणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा छन् । आउँदो चैत २८ र २९ मा हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरी श्रेष्ठ चुनावी प्रचारमा छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

३ वर्षे कार्यकाल रहने महासंघमा जसले वरिष्ठ उपाध्यक्षको चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्ने व्यवस्था महासंघको विधानमा छ । त्यस कारण पनि वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा विशेष हुन्छ । महासंघमा २० वर्षे लामो अनुभव संगालेका श्रेष्ठ ३ वर्षपछि महासंघको नेतृत्व गर्ने गरी उम्मेदवारी घोषणा गरेर अगाडि बढेका छन् ।

गृहनगर पोखरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले निजी क्षेत्रको सम्मान, मर्यादा र हेर्ने दृष्टिकोण बदल्न आफ्नो उम्मेदवारी भएको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण तथा सोच परिवर्तन गर्न जरुरी रहेको भन्दै यसलाई परिवर्तन गर्न आफूले उम्मेदवारी दिने उनले बताएका हुन् ।

Advertisement

श्रेष्ठले उद्यमीको समस्यामा राज्य गम्भीर नभएको आरोप लगाएका छन् । ‘राज्य गम्भीर भएको छैन । ब्याजदर घट्नु नै पर्छ, व्यवसायीको व्यापार घटेको छ । हाम्रो क्षमता ह्रास भयो,’ उनले भने, ‘ब्याजदर उचित दरमा ल्याइदेऊ, पुनर्तालिका गरिदेऊ, समय देऊ भनेका छौं ।’

प्रदेशप्रदेशमा गएर उद्यमीको गुनासो तथा समस्याहरु सुनेर अगाडि बढिरहेको श्रेष्ठले पत्रकारहरुलाई सुनाए । ‘निर्वाचन केन्द्रित कार्यक्रमअन्तर्गत प्रदेशमा गएर भेटघाट गरिरहेका छौं, त्यहाँबाट आएका सुझावहरु लिएर अगाडि बढ्ने सोचका छौं,’ उनले भने ।

Advertisement

श्रेष्ठ महासंघमा अहिले वस्तुगततर्फका उपाध्यक्ष हुन् । उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि चुनाव जितेका थिए । उनी पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी ग्रुपका निर्देशक हुन् । लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो । उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी ग्रुपका निर्देशक तथा महासंघका हालका उपाध्यक्ष श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्षसमेत हुन् । उनी महासंघमा आबद्ध भएको भने २० वर्षको पूरा भएको छ । उनले १५ वर्ष कार्यसमितिमा र एक कार्यकाल पदाधिकारी भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेको अनुभव समेत उनीसँग छ । उनीसँगै अरुण सुमार्गीले पनि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको टिमबाट सुमार्गी लगायत अरु प्रतिष्ठित उद्यमी व्यवसायी पनि छन् ।

तपाईको प्रतिक्रिया