अर्जुनविक्रमः पिएनका पहिलो कर्मचारी

प्राडा यमबहादुर पौडेल क्षेत्री २०७९ चैत ७ गते १३:२९

विसं २०१७ साल भदौ १७ गते पृथ्वीनारायण क्याम्पसको स्थापना भएको हो । हरेक वर्ष यस क्याम्पसको वार्षिकोत्सव भदौ १७ मा नै मनाइन्छ । जर्ज जोन यस क्याम्पसका संस्थापक प्राचार्य हुन् भने २०१९ श्रावण २३ मा क्लेरिकल कर्मचारीका रूपमा नियुक्ति पाएका पहिलो व्यक्ति अर्जुनविक्रम राणा रहेछन् । जर्ज जोन स्वयम् र तत्कालीन अवस्थाका विद्यार्थी त्रिभुवन शर्माका भनाइअनुसार मित्रलाल अधिकारी, मानबहादुर क्षत्री लगायत सहयोगी व्यक्ति पियन पदमा भर्ना गरिएका रहेछन् ।

यस क्याम्पसको स्थापनाको ६३ वर्ष पुग्दै गर्दा माघ २२, २०७९ मा क्याम्पसका प्रथम क्लेरिकल कर्मचारी अर्जुनविक्रम राणाको देहावसान भयो । हामी जीवित जनको मानसिक पात्रोमा शायद उनी संस्थापनकालका औपचारिक नियुक्ति पत्र प्राप्त गरेका प्रथम कर्मचारी र अन्तिम कर्मचारी पनि हुन सक्छन् । नेपालको शासकीय इतिहासमा हामीले फर्केर हेर्ने हो भने कोही राणा विविध क्षेत्रमा विशिष्ट देखिए भने १०४ वर्षको लामो शासकीय अन्तरालमा कोहीराणा, प्रधानमन्त्री अन्तिम पनि भए ।

इतिहासका पत्रपत्रमा राणा शासकका विशेषताहरू औँल्याइएका छन्, राम्रा र नराम्रा पक्ष देखाइएका छन् । व्यक्तिगत रूपमा अर्जुनविक्रम राणाका पनि राम्रानराम्रा पक्ष हुन सक्छन् । जेहोस्, उनी अनवरत रहिरहने नव स्थापित पृथ्वीनारायण कलेजका प्रथम कर्मचारी थिए । यिनले प्रशासनिक संयन्त्रको जिम्मेवारी लिएका थिए । यिनले प्राध्यापक र विद्यार्थीका हाजिरी अभिलेख संरक्षण गर्ने जिम्मेवारी लिएका थिए ।

Advertisement

विद्यार्थीले तिर्ने शुल्कको हिसाब राख्ने, अनि प्राध्यापकको मासिक तलब/भत्ता भुक्तान भयो वा भएन त्यसको दुरुस्त हिसाबकिताब राखिरहने जिम्मेवारी लिएका व्यक्ति थिए उनी । त्यस जिम्मेवारीलाई यिनले इमानदारपूर्वक पूरा गरे र क्याम्पसको विकासक्रममा थपिँदै जाने अन्य कर्मचारीलाई निष्ठावान् कर्मचारीको उदाहरण प्रस्तुत गरे । अहिले उनका सहकर्मीबाट सुनिन्छ–यिनले पारिवारिक जीवनलाई पनि एउटा उदाहरण स्वरूप नै चिनाउने इच्छा गरे ।

२०१७ मा खुलेको पृथ्वीनारायण क्याम्पसका पहिलो कर्मचारी अर्जुनविक्रम हुन् । उनले प्रशासनिक क्षेत्र सम्हालेका थिए

Advertisement

उनका साथीहरू भन्छन्–पुराना राणाहरूको तुलनामा यिनले थप विशेषता आर्जन गरे । उनले एउटैमात्र विवाह गरे, बहु विवाहको धारणालाई यिनले पछ्याएनन् । एक पुरुष: एक महिला । यस्तो सिद्धान्तलाई स्वाभाविक गति ठानेर नै उनले स्वाभाविक उदाहरण देखाए । उनी एउटा सुकर्ममा उभिएका राणा थिए, अन्य कैयौँका लागि सुकर्म पथमा उभिने मार्ग प्रशस्त गरेर नै उनी यस इहलोकबाट ८३ वर्षको उमेरमा प्रस्थान भए । अर्जुनविक्रमको फोटो मैले फेसबुक, दैनिक पत्रिका आदिमा देखेँ । फोटोमा दुरुस्त सजीव व्यक्ति उभिएझैँ । ‘बोलौँ बोलौँ’ जस्तो लाग्यो तर म बोल्न सकिनँ ।

व्यक्तिगत रूपमा अर्जुनविक्रमसँग मेरो धेरै लामो समयसम्म देखादेख मात्र भइरह्यो, भेटघाट पनि भयो, तैपनि अन्तरंगका कुरा हुन सकेका थिएनन् । एक दिन मैले उहाँसँग क्याम्पसको प्रशासनिक भवन अगाडि उभिएको अवस्थामा एकाध प्रश्नका जिज्ञासा सुनाएको थिएँ । त्यतिबेला म भर्खरै विराटनगरबाट फर्किआएको थिएँ । पोखराबाट प्रकाशित हुने ‘आदर्श समाज’ पत्रिकामा एउटा लेख छपाइसकेको पनि थिएँ । नेपाल प्रज्ञाप्रतिष्ठानले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत अनुवाद साहित्यका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने क्रममा म त्यतिबेला विराटनगर पुगेको थिएँ ।

विराटनगरबाट फर्केर आएपछि मैले उहाँलाई सोधेको थिएँ, ‘सुरुको कर्मचारी तपाईंमात्र हुनुहुन्छ ? क्याम्पसको त्यतिबेलाको अवस्था कस्तो थियो ?’ प्रतिउत्तरमा अर्जुनजीले भन्नुभयो, ‘सुरुमा त यहाँ के थियो र ! विद्यार्थी पढ्ने, बस्ने एकाध झुपडी थिए । उनीहरूका हाजिर रजिस्ट्रर राख्ने कोठाकै अभाव थियो, कर्मचारीले जेनतेन जोगाएर राख्नु पर्दथ्यो, सबै कुरापछि थपिँदै गएको हो ।’

२०६३ तिर म राणाजीको घरमै पुगेको थिएँ । उहाँका एक जना दाजु लीलाविक्रम पुराना हस्तलिखित अक्षरहरूको विशेषज्ञ हुनुहुन्छ भन्ने सुनेको थिएँ । मिरुवाको चौतारीनेर अवस्थित उहाँको घरमा पुगेर उहाँले मलाई कानुनविद् राणासँग परिचित गराउनुभयो । त्यसपछि मैले उहाँबाट यथेष्ट सहयोग प्राप्त गरेँ । ‘शिक्षा र साहित्यमा गंगाबहादुरको योगदान’ नामक अनुसन्धानमूलक ग्रन्थ तयार भयो । पुस्तक २०६७ सालमा प्रकाशित भयो ।

मूलतः त्यस पटकको शिक्षासम्बन्धी अनुसन्धान ज्यादै उपयोगी साबित भएको छ । स्कुल स्थापनाबारे लेखिएको कविता र स्कुल सञ्चालन भइआएको सूचनामूलक निवेदन यी दुईवटा यथार्थले स्कूलको यथार्थ र नारी समाज शीर्षकको नाटकले तत्कालीन समाजको यथार्थलाई उज्यालोमा ल्याएर स्पष्ट पारिदिएको छ । कविताको प्रारम्भमा भनिएको छ:

दुई हजार आठ साल भाद्र महिनामा
प्राइमरी स्कूल खुल्यो रंगेठाँटी बीचमा ।
२००९ मा गंगाबहादुर पौडेलद्वारा लिखित नारी समाज नाटकले अँध्यारो समाजलाई उज्यालो पारिदिएको छ । प्रज्ञा प्रतिष्ठानद्वारा गराइएको अनुसन्धानमा उक्त नाटक गण्डकी प्रदेशका आधुनिक नाटक र नाटककारका बीचमा तेस्रो स्थान ओगट्न सफल भएको छ ।

‘पछि थपिँदै गएको हो’ यति कम शब्दमा अर्जुनले धेरै कुरा जनाउन खोज्नु भएको हो । यस क्याम्पसको ऐतिहासिक कालखण्डमा धेरै संकाय र विभागक्रमशः थपिँदै गए, झुपडीको ठाउँमा पक्की भवनहरू थपिँदै गए ।

दिवा कार्यक्रमका साथै प्रातःकालीन कार्यक्रम पनि सञ्चालित भए । हालसम्म आइपुग्दा स्नातकोत्तर तहका विविध कार्यक्रमसञ्चालन भइरहेका छन् । मनग्य जग्गामा अवस्थित यस क्याम्पसको विकासको क्रम अझै फराकिलो हुँदैछ ।

सम्भवतः यो महाविद्यालयबाट विश्वविद्यालयमा समेत विकसित हुन सक्छ । संस्थापन कालको ऐतिहासिक जग जति बलियो हुन्छ, संस्थाको विकास पनि उत्तिकै फराकिलो रूपमा मजबुत हुँदै जान सक्छ । सामान्य व्यक्तिका विचार नगण्य हुन सक्छन्, परन्तु कुनै व्यक्तिका धारणा विशाल हुन सक्छन् ।

स्वर्ण जयन्ती स्मारिका २०६७ मा डा. कृष्ण केसी लेख्नुहुन्छ, ‘२०१७ साल भाद्र १७ गते ‘पृथ्वीनारायण इन्टरकलेज’ स्थापना हुँदा प्राचार्य र एक जना कर्मचारी (परिचर १) बाट कलेजको प्रशासन सुरु भएको थियो । पहिलो क्लरिकल कर्मचारीका रूपमा अर्जुनविक्रम राणाको नियुक्ति २०१९ साल श्रावण २३ गते भएको देखिन्छ ।’ प्राचार्य जर्ज जोन हुन् भने नाम नखुलेका परिचर मित्रलाल नै पहिलो कर्मचारी हुनुपर्दछ ।

कलेजको प्रसंग र अवधारणा लिएर बाटुलेचौरबाट मुक्तिनाथ तिमिल्सेना (को अछूत ? का लेखक) सरासर तत्कालीन नेसनल हाइस्कुलका हेडमास्टर श्यामप्रसाद पन्तसँग यो अवधारणा राख्न जाँदा पन्त र शिक्षा अधिकारी राजेश्वर नेपाली दुबै जनालाई एकै ठाउँमा भेटेछन् । शिक्षाका विशिष्ट व्यक्ति यी दुवै जनाले उनको प्रस्तावलाई सहर्ष स्वीकार गरी यसलाई मूर्त रूप दिलाउन तत्कालीन बडाहाकिम नारायणप्रसाद उपाध्याय (पोखरेल) सँग पुगेछन् ।

उनले समेत कलेजको आवश्यकता महसुस गरी कलेजको नामकरणबारेमा पनि छलफल गरेछन् । विविध नामबारे छलफलहुँदा मुक्तिनाथ स्वयंले राष्ट्र निर्माता पृथ्वीनारायणको नामबाट सञ्चालन गर्दा कसैको पनि विरोध आउन सक्दैन, सर्वस्वीकार्य हुन्छ भनी प्रस्ताव राखेछन् । यसको यथार्थ विवरण वरिष्ठ वकिल एवं लेखक भूपनिधि पन्तले दैनिक पत्रपत्रिकामा र आफ्नै ग्रन्थ ‘आस्थाका आवाज’ (पृ. १४६–१४९) मा एउटा क्षोभ प्रकट गराउने भावको शीर्षक ‘इतिहास यसरी पनि मेटिदो रहेछ’मा व्यक्त गरेका छन् ।

हामी अहिले नै भन्छौं उनको सुकर्मको इतिहास मेटिने छैन, सबल रूपमा रहिरहनेछ । कुनै पनि संस्थाको अवधारणा भन्नु नै यसको स्थापना पूर्वको आस्था हो, अथवा यसको जन्मपूर्वको अवस्था हो । संस्थाको अवधारणा भन्नु संस्थाकै रक्तबिज हो । रक्तबिज नै पन्छाएर शरीर उभ्याउन सकिन्छ ?

पृथ्वीनारायण कलेजको अवधारणा र यसको नामकरण समेत मुक्तिनाथबाट भएको हुँदा के पिएन क्याम्पसको संस्थापनकालीन इतिहासबाट उनको नाम पन्छाउन सकिएला ? अवश्य सकिने छैन । यसर्थ, अब सोही क्याम्पसको ७५ औँ हीरक महोत्सव मनाउने अवसरमा क्याम्पसको अवधारणा र नामकरणकर्ताका रूपमा मुक्तिनाथ तिमिल्सेनाको नाम प्रथमस्थानमा राखिनेछ भन्ने आशा छ ।

अर्जुनविक्रम सामान्य व्यक्ति थिए । उनी कलेजका प्रशासनिक कर्मचारी थिए । १० बजेबाट ४ बजेसम्म वा ५ बजेसम्म पनि विद्यार्थीको शुल्क उठाउने, शिक्षक/कर्मचारी र विद्यार्थीको हाजिर रजिस्टरहरू दराजमा राखिदिने, संस्थाका अमूल्य कागजपत्र बाकसमा व्यवस्थित गरी राखिदिने इमान्दार कर्मचारी । जहाँनेर जतिबेला उभिदा/बस्दा देखादेख हुन्थ्यो, त्यतिबेला उनको नजरले जो कोहीलाई पनि आफ्नो जनाइरहन्थ्यो ।

मेरो मनमा पीर परेझैँ भइरहेको छ । यसैले म सम्झीसम्झी उनको फोटो हेर्दै छु । तर फोटो बोल्दैन । फोटोबाट आवाज आउँदैन । म आफूभित्र मानसिक क्रिया खेलाइरहन्छु तर एकोहोरो हेरिरहने उनको फोटो र मेरो बीचमा अन्तरक्रिया हुँदैन । उनको हाउभाउ/इसारा कुनै चीज पनि बोल्दैन ।

तसर्थ, म उनको परिवार, उनका सन्तति भेट्न उनले छोडी गएको बासस्थानमा पुगेको छु । उनका सन्तति उनै पिताजीका प्रतिमूर्ति हुन् । उनीहरू बोल्छन्हे/र्छन्, त्यसैले म त्यहाँ पुगेको हुँ । ममात्र होइन, सयौँको संख्यामा उनका इष्टमित्रहरू/शुभेच्छुकहरू त्यहाँ पुगिरहेका छन् । काजकिरियाको अवधिसम्म शुभेच्छुकका पाउ त्यहाँ ओहोरदोहोर गरिरहेका छन् ।

जे जस्तो दुःख परेको होस्, आखिर परिवारजन ‘को को हुनुहुन्छ’ भनेर सोध्न त पर्‍यो नि । सम्पूर्ण परिवारको ममताको खानी मुमा धनकुमारी राणा स्वस्थ शरीरमा सबैको बीचमा हुनुहुन्थ्यो । पिता पुत्रबाट संस्कारित समाजमा पहिला त ‘छोरा कति नि’ भन्नै पर्‍यो । अर्जुनविक्रम राणाका ३ छोरा रहेछन् । अभिमन्युविक्रम राणा, मुख्य लेखा सहायक पृना क्याम्पस रहेछन् ।

अशोकविक्रम राणा, कोरियामा कार्यरत रहेछन् । अनि रवीन्द्रविक्रम राणाअन्नपूर्ण एफएमका प्राविधिक कर्मचारी रहेछन् । जेठीबुहारी शान्तिराणा, रेडियो नेपालमा कार्यक्रम अधिकृत छिन्, माहिली गंगा राणा र कान्छी बुहारी विन्दु राणा छन् । छोरीहरू ७वटी रहेछन् । शकुन्तला राणा मल्ल, मीना राणा मल्ल, लक्ष्मी राणा मल्ल, सरिता राणा मल्ल, संगीता राणा मल्ल, अम्बिका राणा ठकुरी र अञ्जना राणाज्यू ठकुरी ।

पारिवारिक सूत्रबाट जानकारी भए अनुसार उहाँका ज्वाइँहरु हुनुहुन्छ– लोकेन्द्रबहादुर मल्ल, अर्जुन मल्ल, कुमारबम मल्ल, तिलकबम मल्ल, कुमार मल्ल, शिवराज ठकुरी र भीमज्यू ठकुरी । त्यसैगरी छोरातर्फ २ नातिनी र ३ नाति छन् भने छोरीतर्फ ३ नातिनी र ११ नाति छन् । २०७७ मंसिर १६ गते आफ्नो ठूलो छोराकी नातिनी अनिषा राणाको शुभविवाहको अवसरमा उमेरका हिसाबले ८१ औँ वर्ष पुग्दा पनि दिन भरिनै उपवास बसेर आफ्नी नातिनीलाई स्वयंले कन्यादान गरेर पुण्य आर्जन पनि गर्नुभएको थियो ।

अर्जुनविक्रम राणाका ३ दाजुभाइ रहेछन् । जेठा जितेन्द्रविक्रम राणा, माइला आफू र कान्छा नारायणविक्रम राणा ।आजीवन शैक्षिक क्षेत्रमा सेवा गरेका राणा पिएन क्याम्पसका पूर्व उपप्रशासक, राष्ट्रिय मावि टुडिँखेलको व्यवस्थापन समितिका पूर्व अध्यक्ष, विन्ध्यवासिनी मावि वरपाटनका सञ्चालक समिति सदस्य र राणा एवं कुँवर कुलायन संरक्षण समितिको आजीवन सदस्य एवं पूर्व अध्यक्ष बनेका थिए ।

अर्जुनविक्रम उच्च कुलीन परिवारका व्यक्ति हुन्। उनी ज‌गबहादुर राणाका माइला भाइ बमबहादुर राणाको वंशजभित्र पर्दछन् । जंगबहादुर समुद्रपारि बेलायत यात्रामा प्रस्थान हुँदा जति समय व्यतीत गरे, त्यति नै समयका निम्ति बमबहादुर राणा नेपालका कायममुकायम प्रधानमन्त्री भएका थिए ।

दाजुले भाइलाई प्रधानमन्त्रीको कार्यभार दिइएको पत्र एवं अन्य अवस्थामा पनि भाइ बमबहादुर राणालाई लेखेका पत्रहरू कमल दीक्षितद्वारा प्रकाशित भएका छन् । ती पत्रको अध्ययन गर्ने हो भने जंगबहादुर राणा देश र देशवासीप्रति के कति जिम्मेवार थिए, अनि जनताका पीर, मर्का एवं ऐन, कानुनका सन्दर्भमा कति धेरै संवेदनशील रहन्थे भन्ने कुरा स्पष्ट हुन आउँछ ।

कुँवर र राणा प्राचीनकालदेखि नै युद्ध–मैदानमा विशिष्ट कौशल प्राप्त वंशजहरु हुन् । राजा/महाराजाबाट विभिन्न समयमा उपाधिहरू प्राप्त गर्दै आएका हुन् । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा सिपाही र कमान्डरका हैसियतले योगदान पुर्‍याएका थिए । राजसंस्था कमजोर रहेका अवस्थामा जंगबहादुर राणाले राजकाजको सम्पूर्ण भार आफैंले लिई नाम मात्रका राजा र राजसंस्थालाई सुरक्षित राखेका थिए ।

अनि सुगौली सन्धिमा गुमाइसकेको नेपालको तराई क्षेत्रको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरजस्ता भूभागलाई नेपालभित्र ल्याई फराकिलो नेपाल बनाएका थिए । बेलायतको संसदीय व्यवस्थाले निर्माण गरेका कानुनसरह नेपाल फर्केपछि उनले ‘मुलुकी ऐन’ निर्माण गरे । यसैले आजकल भन्न थालिएको छ–नेपालको संसदीय व्यवस्थाको प्रारूप भित्रयाउने पहिलो प्रधानमन्त्री जंगबहादुर नै हुन् । नागरिक स्वतन्त्रतालाई विस्तार गराउने कोसिस पद्मशमशेर राणाले गरेकै हुन् ।

संसदीय प्रणालीलाई मजबुत गराउने र समाजवादी सिद्धान्त लागू गराउन खोज्ने व्यक्ति सुवर्णशमशेर जबरा नै हुन् । संसद भनेको जनताको र जनप्रतिनिधिहरूको दरबार नै हो, यसलाई अकारण भत्काउन हुँदैन भन्ने आशयबाट दुई/दुई पटकसम्म विघटन गरिएको संसदलाई यथावत कायम राख्न सर्वाेच्च अदालतको न्याय मन्दिरबाट योगदान पुर्‍याउने सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर पनि राणा नै हुन् ।

अर्जुनविक्रमदेखि विभिन्न समयका प्रधानमन्त्री राणासमेत नेपालको विविध क्षेत्रमा योगदान पुर्‍याउने राणावंशका विशेष व्यक्तित्वहरु नेपालको इतिहासमा र व्यापक समाजमा स्मरणीय छन् । यस पटक अत्यन्त सरल स्वभावका व्यक्ति, आत्मीयताको गहिर्‍याइ भएका व्यक्ति, आफ्नो कर्तव्यपथमा निष्ठावान् व्यक्ति अर्जुनविक्रम राणाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया