कागबेनीमा भक्तजनको घुइँचो

सुन्दरकुमार थकाली २०७९ चैत ७ गते १७:०८

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ स्थित कागबेनी श्राद्धस्थलमा धार्मिक श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । दिवंगत पितृको नाममा श्राद्ध तथा पिण्डदान गर्ने र पितृहरुको नाममा तर्पण दिन देशका ७७ वटै जिल्लाबाट धार्मिक तीर्थालु हिमाली जिल्ला मुस्ताङ ओइरिएका हुन् ।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्वपूर्ण प्रसिद्ध धार्मिकस्थल हो । चैतै दसैंपछिको औंसी र बडादसैंपछिको औंसी तिथिमा मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनहरुको निकै ठुलो भीडभाड हुन्छ । यहाँ बर्सेनि हजारौं भक्तजनले दिवंगत पितृको नाम श्राद्ध र तर्पण दिन्छन् ।

परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।

Advertisement

परापूर्व कालमा कागबेनी धाम आसपास ठूलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुइटा कागहरु कुण्डमा खसेर मरे ।

कुण्डमा खसेर मरेका दुइटा कागहरु तत्काल चामत्कारिक रुपमा हंसको रुपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंसतीर्थसमेत भनिन्छ । भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध, पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने विश्वास रहेको पर्वतबाट आएकी भक्तजन यशोदा आचार्यले बताइन् ।

Advertisement

भक्तजनको घुइँचो बढेकाले सुरक्षा निकायले सोही अनुसार सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापन गरिरहेको छ

कागबेनीमा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने जनविश्वास छ । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरु यहाँ पितृ उद्धारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । हिजोआज मुस्ताङको कागबेनीमा श्राद्ध गर्न हजारौंको सख्यामा धार्मिक तीर्थालु मुस्ताङ आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन विकले जानकारी दिए ।

भक्तजनको ओइरो बढेकाले सुरक्षा निकायले सोही अनुसार सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी दुई दर्जन प्रहरी श्राद्धस्थलमा खटाइएको उनले बताए । ‘औंसीको दिन बिहानै एक बजेदेखि भक्तजनहरुले श्राद्ध, पिण्ड र तर्पण गर्न तल्लिन थिए, हामीले भक्तजनको सुरक्षा र सहजताका लागि सोही अनुसार व्यवस्था मिलाएका थियौं,’ प्रहरी निरीक्षक विकले भने, ‘जिल्ला र कागबेनी प्रहरीले सुरक्षा समन्वयलाई व्यवस्थित गर्‍यो, मुक्तिनाथ मन्दिर पनि सुरक्षा व्यवस्थालाई मजबुत पारिएको छ ।’

चैते दसंै र बडा दसंैपछिको औंसी धार्मिक भक्तजनका लागि उपयुक्त साइत हो । कागबेनीमा पितृको नाममा पुजाआजा गरे दिवंगत पितृको उद्धार हुने तथा मोक्ष प्राप्ति हुने बुटवलबाट भक्तजन ओमप्रकाश मरासीनीले बताए । उनले विगतको तुलनामा सडक आवागमनमा सुधार भएको र कागबेनी श्राद्ध स्थललाई अझै व्यवस्थित गर्न सुझाए ।

मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले राज्य निकायहरुले यसको समुन्नत विकासमा अझै ध्यान दिन आवश्यक रहेको त्रिभुवन विश्वविद्यालय उपप्रध्यापक चिरञ्जीवी देवकोटोले बताए । उनले मुस्ताङ जिल्ला धार्मिक पर्यटक मात्र नभई विभिन्न खोज अनुसन्धान र अन्वेषणको केन्द्र भएकाले यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरे । ३३ कोटी देवताले बासस्थान बनाएको पुण्यभूमि कागबेनीधाममा आएर पितृको नाममा श्राद्ध, पिण्ड र तर्पण गर्न पाउँदा गौरान्वित भएको बुटलवका भक्तजन बासु पाण्डेले बताए ।

कागबेनीधाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने भक्तजनको ठूलो संख्याले मंगलबार कागबेनी बजार र कालिगण्डकी नदी निकै गुल्जार देखिन्थ्यो । कागबेनी श्राद्धस्थलको माथि र तल करिब ५ सय मिटरको कालिगण्डकी तटीय क्षेत्रमा श्रद्धालु भक्तजनहरुले पितृको नाममा पूजाआजा गरेका थिए ।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङले औंसीको अघिल्लो दिनबाट बस र जीप गरी करिब ३५ सय सवारी साधन मुस्ताङ भित्रिएको बताएको छ । कार्यालयका अनुसार औंसी नुहाउन झन्डै २५ हजार धार्मिक भक्तजनहरु कागबेनी आएको उल्लेख गरेको छ ।

मुक्ति गण्डकी र कालिगण्डकीको दोभानमा हजारौं धार्मिक भक्तजनले दिवंगत पितृको नाममा सम्झना गर्दै श्राद्ध,पिण्डदान र तर्पण दिएका छन् । कागबेनीधाममा ब्रामण पुजारीहरुको कमीले गर्दा कतिपय भक्तजनहरुले आफैले पूजापाठ गरी श्राद्ध गरे ।

कागबेनीमा औंसी तिथिको मेलामा त्यहाका स्थानीय उत्पादन सामग्री बिक्री गर्न बसेका व्यापारीसमेत निकै उत्साहित देखिन्थे ।

सवारी लिएर आएका भक्तजनको बस र जीपहरुले कागबेनीको पार्किङस्थल पुरै भरिभराउ थियो भने ट्राफिक व्यवस्थापन गर्नसमेत हम्मेहम्मे थियो । अनुकुल मौसममा सडक यातायात सहज भएकाले सहजै मुक्तिनाथ र कागबेनीधाम आउन सहज भइसकेको छ । मुस्ताङको घाँसादेखि मार्फा र कागबेनीदेखि मुक्तिनाथसम्म कालोपत्रे सडक भएकाले भक्तजनहरुलाई विगत वर्षहरुको तुलनामा यसपटकको यात्रा सजिलो भएको हो ।

मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आएका धार्मिक भक्तजनहरु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिन्छ । औंसीको तिथिमा भक्तजनको बाक्लो घुइँचोले मुक्तिनाथ मन्दिरसमेत पुरै भरिभराउ थियो । औंसीको मेलोमा श्राद्ध गर्न आएका पर्यटकले बेनी–जोमसोम सडकको राजमार्गमा रहेका साना/ठूला सबै होटल भरिभराउ थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया