पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर

समाधान संवाददाता २०७९ चैत ८ गते १०:३३

पोखरा ।
पोखरा २५ हेमजामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क शिविर सञ्चालन भएको छ । शिविरबाट पोखरा २५ र आसपासका २ सय ८ जना महिला लाभान्वित भए । शिविरमा जाँच गरिएकामध्ये १ सय ४३ जनाको युएसजी गरिएको छ । जसमध्ये ८ जना (पोल्याप १ जना, भिआइए सस्पेक्टेड ५ जना, फिव्रोआइडी १ जना, ओभरियन सिस्ट १ जना) मा विभिन्न लक्षण पहिचान भएको छ ।

लक्षण पहिचान भएका महिलाहरुलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ । जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने थप जोखिमबाट सुरक्षित भएका छन् ।

शिविरमा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा टुमाया घले लगायत डाक्टरसहितको ७ जनाको टिम, हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

Advertisement

शिविरअघि भएको औपचारिक कार्यक्रममा पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले शिविरबाट भरपूर सेवा लिन सम्पूर्ण महिलाहरुलाई सुझाएका थिए ।

स्वास्थ्यकर्मीका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबभन्दा धेरै पाठेघरकै मुखको क्यान्सर हो । यसको उपचार सहज र सस्तो हुने भएकाले परीक्षण गरी सुरुवाती अवस्थामै थाहा पाएमा धेरै महिलाको ज्यान जोगाउन सकिन्छ । भीआइए अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट पाठेघरको मुखमा आएका परिवर्तनको जाँच गरिन्छ ।

Advertisement

यो परीक्षणमा स्वास्थ्यकर्मीले महिलाको पाठेघरको मुखमा एसिटिक एसिडको झोल लगाएर त्यहाँ भएको परिवर्तनलाई अवलोकन गर्छन् । दाग वा अन्य दोष देखिएमा ती कोषलाई क्रायोथेरापीको माध्यमले नष्ट गरिन्छ । पोखरा २५ वडा कार्यालय हेमजाको आयोजनामा भएको कार्यक्रममा हेमजा स्वास्थ्य चौकीले समन्वय गरेको थियो भने गण्डकी मेडिकल कलेज पोखराले प्राविधिक सहयोग गरको थियो ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले शिविरबाट नपाएका सुविधाहरु हेमजा स्वास्थ्य चौकीको पर्चि लिएर जिएमसीमा आएमा विशेष सहुलियताका साथ सम्पूर्ण सेवा दिने बताए । उनले स्वास्थ्य सम्वन्धी सम्पूर्ण कार्यक्रममा गण्डकी मेडिकल कलेजले सधैं सहकार्य गर्ने बताए ।

कार्यपालिका सदस्य एवं पोखरा २५ की वडा सदस्य धनकुमारी पोख्रेल तिम्सिनाले शिविरको नेतृत्व गरेकी थिईन् । कुस्मराज सुवेदी प्रमुख हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा कार्यालय कर्मचारी ईश्वरीप्रसाद बास्तोलाले गरेका थिए । शिविरमा हेमजा स्वास्थ्य चौकीका कर्मचारी जनप्रतिनिधिलगायतको सहयोग रहेको थियो ।

तपाईको प्रतिक्रिया