मुस्ताङकी उद्यमी सुकुनलाई १ वर्षमा ३ सम्मान

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी सफल महिला उद्यमी सुकुन रसाईलीले एकै वर्ष तीनवटा अवार्ड सम्मान हात पारेकी छिन् । मुस्ताङमा उत्पादित कृषिजन्य सामग्री प्रशोधन, उत्पादन तथा बजारीकरण गरी उद्योग प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याए स्वरुप उनलाई विभिन्न संघ/संस्थाले सम्मान गरेको हो ।
सकुनले यस वर्ष सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गत मंसिर ६ गते आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सव (२०७९)मा मुस्ताङको उत्पादन बजारीकरण गरे स्वरुप सम्मान गरेको हो । त्यहाँ फलफूल सम्बन्धी स्टल राखेपछि मार्फा फलफूल तथा प्रशोधन उद्योगकी सञ्चालिका सुकुन तेस्रो भएकी थिइन् । सरगरमाथा प्रतिष्ठान नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय नारी सम्मान कार्यक्रम २०७९ मा पनि मार्फा फलफूल उद्योगकी सुकुन सम्मानित भइन् ।
दुर्गम हिमालपारीको जिल्ला मुस्ताङमा रही उद्योग प्रवद्र्धन गरी सफल उद्यमीका रूपमा स्थापित भई सामाजिक अभियान्ताका रूपमा समेत योगदान पु¥याए स्वरुप सगरमाथा प्रतिष्ठानले सम्मानित गरेको हो । उनले निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट सम्मानपत्र ग्रहण गरेकी थिइन् ।
यसैगरी उनले हेरिटेज गार्डेनले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९ मा उत्कृष्ठ महिला उद्योग महासंघ नेपालबाट सम्मान पाइन् । उनीले यसअघि विभिन्न पुरस्कार तथा सम्मान पाएकी छिन् । महिला उद्यमशीलतामा योगदान दिए स्वरुप उनले राष्ट्रपतिबाट उत्कृष्ट राष्ट्रिय महिला उद्यमी पुरस्कार २०७४, राष्ट्रिय नागरिक विकास समाज, वरिष्ठ समाजसेवी तथा महिला उद्यमी सम्मान २०७४ लगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन् ।
घरपझोङ २ मार्फाकी सफल महिला उद्यमी सुकुन रसाइलीको ‘फलफूल तथा प्रशोधन उद्योग’ सञ्चालनमा छ । मुस्ताङमा उत्पादित कृषिजन्य सामग्रीको प्रवद्र्धन तथा स्थानीय कृषि उपजको प्रशोधन गरी विभिन्न परिकार निर्माण गर्ने उद्देश्यले २०७० सालमा उनले मार्फा फलफूल तथा प्रशोधन उद्योग स्थापना गरेकी थिइन् ।
उद्योग गर्नुअघि सुकुन होटल व्यवसाय तथा समाजसेवीको रूपमा कार्यरत थिइन् । हिमालपारी उत्पीडित परिषद मुस्ताङको उपाध्यक्ष, महिला मानवअघिकार रक्षक सञ्जालकी अध्यक्ष, विपद् व्यवस्थापन समिति सदस्य, मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध समिति सदस्य र महिला उद्यमी महासंघको अध्यक्ष पदमा रहँदै विभिन्न संघसंस्थामा उनी आवद्ध छिन् ।
महिला उद्यमी सुकुनले उद्योग स्थापना गर्नुअघि होटलका साथै सामान्य घरेलु प्रविधिको माध्यमबाट स्याउको विभिन्न परिकार तयार गर्ने गरेकी थिइन् । उद्योग गर्नुअघि उनको होटलमा आउने आगन्तुक पर्यटकले व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न प्रोत्साहित गरेपछि उनले मार्फामा फलफूल प्रशोधन उद्योग सुरु गरेकी थिइन् ।
पर्यटकीय गाउँ मार्फामा स्थानीय उत्पादनलाई प्रशोधन विधिमार्फत उद्योगका रूपमा सञ्चालन गर्दै आइरहेकी सुकुन अहिले जिल्लाकै सर्वोत्कृष्ट महिला उद्यमीको रूपमा स्थापित भइसकेकी छिन् । महिला उद्यमी सुकुनले मुख्य गरी मुस्ताङमा उत्पादित स्याउको सुकुटी, स्याउको केन्डी, स्याउको जाम, आलुको चिप्स, खुर्पानीको सुकुटी र जाम, सिस्नोको धुलो, रायो सागको गुन्द्रुक, अदुवाको केन्डी टिमुरको छोप लगायत परिकार बनाएर बिक्री गर्ने गरेकी छन् । उनको उद्योगमा स्थानीय जिम्बु, दाल, ब्रान्डी आदि पाइन्छ ।
तपाईको प्रतिक्रिया