प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुने

समाधान संवाददाता २०७९ चैत ८ गते १७:०२

पोखरा ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट २०२३ आगामी मे २९ देखि जुन १ सम्म पोखरामा आयोजनामा हुने भएको छ । नेपाल सरकार र नेपाल पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने यस कार्यक्रमको पोखरामा संयोजन पोखरा पर्यटन परिषदले गर्ने छ भने अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्ने छ ।

Advertisement

नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडडयन मंत्रालयका सचिवको अध्यक्षतामा मुल आयोजक समिति गठन हुने छ र ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एसोसिएसन अफ नेपाल (हान) लगायतका पर्यटन व्यवसायीका छाता संगठनका अध्यक्षहरु सदस्य रहने छन । पोखरामा आयोजना हुने भएकाले पोखरा महानगरपालिकाको यस कार्यक्रममा विशेष सहभागिता सहयोग हुने छ ।

नेपालले पाटा इन्टरनेशनलको सदस्यता सन् १९७५ मा लिएको हो र यस्तो शिखर सम्म्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । कोभिड १९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरि पोखरा र गण्डकी प्रदेशको पर्यटनको लागि यि दुबै कार्यक्रम कोशेढुंगाको रुपमा साबित हुनेमा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, पाटा इन्टरनेशनल र पोखराका समग्र व्यवसायीहरु विश्वस्त रहेका छन् ।

शिखर सम्मेलनमा लगभग १५ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहने छ भने एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्याति प्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा आयोजना हुने कन्फरेन्समा विज्ञहरु, व्यवसायीहरु संचारकर्मीहरु माझ गहन छलफल तथा प्रस्तुतिकरण गरिने छ ।

कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना गर्ने अवसर प्रदान गर्दै २ दिनसम्म विशेष व्यापार–व्यवसाय सत्र सञ्चालन हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो । डा.रेग्मीका अनुसार कार्यक्रममा कार्यशाला र बिटुबि बिजिनेस टु बिजिनेस मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारण सभा समेत सम्पन्न हुनेछ ।

Advertisement

नेपालले पहिलो पटक आयोजना गर्न लागेको प्रतिष्ठित पाटा वार्षिक शिखर सम्मेलन २०२३ ले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउने अपेक्षा गरिएकोे छ । “नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पाटा वार्षिक शिखर सम्मेलन आयोजना गर्न लागेको छ । नेपालमा यो कार्यक्रम आयोजना गर्न पाउँदा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सम्पूर्ण पर्यटन जगत उत्साहित छौं ।

यसलाई सम्पन्न गर्दा हामीले पर्यटनमा थप माइलेज बढने समेत अपेक्षा गरेका छौं, उनले भने । नेपालले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय कार्यक्रममले पर्यटक आगमनमा समेत बृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड १९ पूर्वको अवस्थामा पुग्ने अपेक्षा गरिएको छ ।

पोखरामा सन् २०२३ को जनवरी देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै नेपालको पर्यटकीय राजधानी भनेर चिनिने पोखरामा आयोजना हुने यस कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा आयोजकको छ । प्रसिद्ध ब्लगरहरूको समेत सहभागिता रहने कार्यक्रमका सहभागीहरूले कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका अन्य गन्तव्यहरूमा पनि भ्रमण गर्नेछन् ।

तपाईको प्रतिक्रिया