तनहुँ १ मा उपचुनावको चहलपहल

पोखरा ।
तनहुँ १ मा उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ १ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ । यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उपनिर्वाचनको तयारी भएको हो ।
प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा, ८४ को उपदफा (७) बमोजिम प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिने व्यवस्था रहेबमोजिम यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत १२ गतेसम्म नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम दल दर्ता गर्ने समय दिइएको छ । उपनिर्वाचनका लागि तनहुँमा चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । २० गते उम्मेदवारी दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।
उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । गत मंसिर ४ गतेसम्म तनहुँ १ मा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत प्राप्त गरी विजयी बनेका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत पाएका थिए ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व पार्टी सभापति रघुनाथ पौडेल र संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकांक्षी छन् । २ पटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले यो पटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले जिकिर गरे । पूर्वपार्टी सभापति पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् ।
आफूले अहिलेसम्म अवसर नपाएकाले एक पटक अवसर पाउनुपर्ने भन्दै उनी राजधानीमा नेताहरूसँग भेटघाटमा लागिसकेका छन् । संविधानसभा सदस्य पोख्रेलले विसं २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताउँछन् । ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन, यो पटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु’, पोख्रेलले भने ।
नेकपा (एमाले) का तर्फबाट राना, रामबहादुर गुरुङ, किरण गुरुङ लगायत आकांक्षी छन् । गत निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेको खण्डमा उपनिर्वाचनमा उम्मेदवार बन्ने सुनाए । नेकपा (एकीकृत समाजवादी) उपनिर्वाचनमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा भएको बैठकले मंसिर ४ गतेको निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।
तनहुँ १ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा नेकपा (एस)का तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए ।
तपाईको प्रतिक्रिया