सम्पादकीय: नेपाली क्रिकेटको भविष्य

समाधान संवाददाता २०७९ चैत ९ गते १२:००

नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग२ को अन्तिम खेलमा युएईलाई हराउँदै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै पुगेको छ । जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा भाग लिने अवसर पाउनु नै नेपालको खेल जगतका लागि लागि ठूलो सफलता हो । छनोट चरणका खेलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ । ती टिमले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् । दुबै समूहका शीर्ष ३ टिम सुपर लिगमा पुग्ने व्यवस्था छ । सुपर लिगको खेलपछि शीर्ष २ टोलीले विश्व कप खेल्न पाउने छन् ।

Advertisement

नेपालजस्तो देशले क्रिकेटमा जत्तिकै राम्रो गरे पनि विश्व कप खेल्न पाउने सम्भावना निकै कम हुन्छ । अहिले पाएको सफलता नेपालका लागि अभूतपूर्व हो । नेपाली क्रिकेट टोलीले टिम नेपाल, गोर्खाली तथा द राइनोज जस्ता नामले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेको थियो । विसं १९७० तिर बेलायत भ्रमणबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन राणा शासकहरूले आफ्नै मनोरञ्जनका लागि नेपालमा क्रिकेट भित्रयाएको देखिन्छ ।

२००४ मा नेपाल क्रिकेट संघको स्थापना भएको भएको हो । संघ स्थापना भए पनि राणा शासन रहँदासम्म क्रिकेट पनि राणा परिवार, उनीहरूका आफन्त, नातेदारमा मात्र सीमित रहेको देखिन्छ । क्रिकेट संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद राष्ट्रिय संघको रूपमा दर्ता पयो । यसलाई नेपाली क्रिकेटको औपचारिक विकासको नयाँ यात्रा मानिन्छ ।

२०४० सालपछि नेपालमा क्रिकेट लोकप्रिय हुन थालेको हो । यसबीचमा अन्य क्षेत्रले जस्तै क्रिकेटले पनि अनेक आरोह–अवरोह सामना गर्दै आयो । यही बीचमा अहिले विश्वकप यात्रा तय गर्नुलाई उल्लेखनीय उपलब्धि मान्नुपर्छ । नेपालमा क्रिकेटको राम्रो सम्भावना छ । यसप्रति नयाँ पुस्ताको राम्रो आकर्षण छ । स्थानीय स्तरमा हुने खेलदेखि राष्ट्रिय र विश्वस्तरीय खेलमा समेत नेपाली दर्शकको निकै क्रेज देखिन्छ ।

क्रिकेटका लागि नेपालीमा क्रेज छ, प्रतिभा छन् तर चाहिने पूर्वाधार निकै कम छन् । देशैभरि विश्वकप खेलाउने राम्रो खेल मैदान नै छैन । भर्खरै भएको छनोट खेलमा पनि दर्शकको चाप धान्ने रंगशालाको अभाव देखियो । सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनु जरुरी छ । चितवनमा बन्न लागेको क्रिकेट रंगशाला अलपत्र छ ।

Advertisement

यसैलाई भए पनि बनाएर क्रिकेटको विकास गर्नु जरुरी छ । पर्याप्त भौतिक पूर्वाधार बिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थापित हुन सकिँदैन । पूर्वाधारसँगै खेलाडी र प्रशिक्षक उत्पादनमा पनि ध्यान दिनुपर्छ । उचित पूर्वाधार, आवश्यक लगानी, सरकारी र जनस्तरबाट प्रोत्साहन मिल्ने हो भने नेपाल क्रिकेटकै माध्यमबाट परिचित हुन सक्ने क्षितिज खुला हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया