नेपालमा बैंक टाट पल्टिए के हुन्छ निक्षेप ?

अच्युत पन्त २०७९ चैत ९ गते १२:११

अमेरिकामा सिलिकन भ्याली बैंक टाट पल्टिएको घोषणापश्चात विश्व बैंकिङ जगतमा तरंग पैदा भएको छ । हालै मार्च १० मा उक्त बैंक टाट पल्टिएको घोषणा गरी अमेरिकाको फेडेरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआइसी)ले नियन्त्रणमा लिएपश्चात वित्तीय क्षेत्रमा गर्मागर्मी बहस सुरु भएको हो ।

हाल अमेरिकाको सिग्नेचर बैंकलाई समेत एफडिआइसीले नियन्त्रणमा लिइसकेको छ भने अमेरिकाको फस्र्ट रिपब्लिक बैंक तथा स्वीट्जरल्यान्डका केही बैंकहरु संकटमा रहेको कुरा चर्चामा छ । सन् २००८ मा अमेरिकामा लेम्यान ब्रदर्स डुबेपछि सुरु भएको वित्तीय संकटले विश्वव्यापी रुपमा आर्थिक मन्दी देखिएको थियो । यद्यपि नेपालमा भने सो मन्दीको प्रभाव ठूलो रुपमा परेको थिएन । हाल वित्तीय संकटबाट सृजित असरले विश्वलाई कुन रुपमा असर गर्छ र त्यसको प्रभाव नेपाल लगायतका मुलुकमा कस्तो पर्छ भन्ने हेर्न बाँकी नै छ ।

अमेरिकामा सिलिकन भ्याली बैंक टाट पल्टिएको घोषणा गरी नियन्त्रणमा लिएलगत्तै फेडेरल डिपोजिट इन्सुरेन्स कर्पोरेसनले निक्षेपकर्ताको रकममा समस्या नरहेको र फिर्ता गर्ने घोषणा ग¥यो । रकम फिर्ता गर्ने प्रयोजनका लागि डिपोजिट इन्सुरेन्स नेसनल बैंक अफ सान्टा क्लारा नामको नयाँ अस्थायी बैंक स्थापना गरेको छ । साथै, अमेरिकी राष्ट्रपतिले समेत बैंकहरु सुरक्षित रहने तथा निक्षेपकर्ताको रकम सुरक्षित राख्ने सम्बन्धमा आफ्नो धारणा व्यक्त गरिसक्नुभएको छ ।

Advertisement

अमेरिकामा अमेरिकी डलर २ लाख ५० हजारसम्मको सर्वसाधारणको निक्षेपको बीमा (सुरक्षण) हुने व्यवस्था छ । जस अनुसार अमेरिकी बैंकमा कुनै व्यक्तिले जम्मा गरेको २ लाख ५० हजार डलरसम्म फिर्ता हुने अनिवार्य व्यवस्था भए पनि फेडेरल डिपोजिट इन्सुरेन्स कर्पोरेसनले सो रकमभन्दा माथीको रकम समेत सुरक्षित रहने भनी आम निक्षेपकर्तालाई रकम प्राप्त हुने कुरामा आश्वस्त बनाएको छ ।

नेपालमा कुनै बैंक तथा वित्तीय संस्था टाट पल्टेमा व्यक्तिकोसरकारले तोकेको सीमासम्मको निक्षेप सुरक्षण हुने व्यवस्था छ

Advertisement

वास्तवमा बैंकमा आम सर्वसाधारणले जम्मा गरेको निक्षेप माग गरेको अवस्थामा तत्काल फिर्ता गर्नुपर्ने हुन्छ, तर बैंकले गरेको लगानी तत्काल फिर्ता लिन नसकिने किसिमको हुन्छ । यदि बैंक तथा वित्तीय प्रणालीप्रति आम अविश्वास पैदा भयो र अधिकांश निक्षेपकर्ताले आफूले जम्मा गरेको निक्षेप तत्काल फिर्ता लिन खोजेमा वित्तीय व्यवस्थापनमा बैंकलाई चाप पर्दछ र निक्षेप फिर्ता गर्ने अवस्था नरहेमा टाट पल्टने अवस्थामा पुग्ने गर्दछन् ।

मानौं आन्तरिक रुपमा कुनै समस्या नभए पनि नेपालको कुनै बैंक डुब्दै छ भन्ने हल्लामात्रै बजारमा चल्यो भने पनि निक्षेप रकम फिर्ता माग्ने निक्षेपकर्ताको भीड लाग्न सक्छ । अधिकांश निक्षेप एकैपटक माग भएमा कुनै पनि बैंकले तत्काल फिर्ता गर्न नसक्ने कुरा निश्चित प्रायः छ । यसबाट बैंकको अस्तित्व माथिको संकट सृजना भई बैंक टाट पल्टिएको घोषणा हुन सक्छ ।

तर अमेरिकामा जस्तो स्वतन्त्र नभई तुलनात्मक रुपमा नेपालको हकमा भने केन्द्रीय बैंकको नियन्त्रणमुखी नीतिका कारण एकै पटक टाट पल्टेको घोषणा नगरी चरणबद्ध रुपमा सुधारका कार्यपश्चात अन्तिम अवस्थामा मात्र टाट पल्टेको घोषणा हुने गर्दछ ।

निक्षेप सुरक्षाका लागि विश्वव्यापी अभ्यास के छ ?
जुनसुकै कारणले बैंक नै टाट पल्टिने अवस्था आई निक्षेपकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था पैदा भएमा बैंकमा रहेको निक्षेप फिर्ता गर्न विश्वका अधिकांश मुलुकले निक्षेप सुरक्षण (निक्षेप बीमा) प्रणाली अंगालेका छन् । निक्षेप सुरक्षण प्रणालीमा निक्षेपकर्तालाई कुनै व्ययभार नपारी बैंक तथा वित्तीय संस्थाबाट आवधिक रुपमा कुनै शुल्क लिने वा वित्तीय संस्थाबाट अनिवार्य योगदान गर्न लगाई छुट्टै कोष खडा गरिन्छ । निक्षेप सुरक्षण निक्षेपको असीमित भुक्तानीमा प्रयोग नभई निश्चित सीमासम्मको लागि प्रयोग हुन्छ ।

राज्यको वित्तीय स्वतन्त्रताको अवस्था, सुरक्षण संस्था/कोषको क्षमता, राज्यको वित्तीय नीति आदिका आधारमा विभिन्न मुलुकमा यसको सीमा फरक फरक रुपमा तय गरिएको पाइन्छ । भारतमा ५ लाख भारु, अमेरिकामा २ लाख ५० हजार डलर तथा चीनमा ५ लाख युयान अधिकतम सीमा कायम गरिएको छ ।

उक्त सीमाभन्दा बढी रहेको निक्षेपकर्ताको रकम भने फिर्ता हुने कुनै ग्यारेन्टी हुँदैन । कुनै बैंक तथा वित्तीय संस्था टाट पल्टेमा उक्त कोषको रकमबाट नै निक्षेपकर्तालाई पैसा फिर्ता गरिन्छ । विश्वव्यापी अभ्यास हेर्दा केन्द्रीय बैंक आफैंले वा राज्य नियन्त्रित छुट्टै स्वायत्त निकाय गठन गरी यससम्बन्धी कार्य गर्ने गरेको परीपाटी देखिन्छ ।

नेपालमा के छ व्यवस्था ?
नेपालमा कुनै बैंक तथा वित्तीय संस्था कुनै कारणले टाट पल्टेमा सो संस्थामा रहेको प्राकृतिक व्यक्तिको नेपाल सरकारले तोकेको सीमासम्मको निक्षेपको सुरक्षण हुने व्यवस्था छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ तथा निक्षेप सुरक्षण नियमावली, २०७५ को अधिनमा रही नेपालमा नेपाल राष्ट्र बैंकबाट सर्वसाधारणको निक्षेप स्वीकार गर्न इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थामा रहेका प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप बैंकले फिर्ता गर्न नसकेता पनि सुरक्षित रहने व्यवस्था छ ।

यसको अर्थ बैंक तथा वित्तीय संस्था टाट पल्टेको घोषणा भएता पनि व्यक्तिको खातामा रहेको कम्तीमा ५ लाख रुपैयाँ डुब्दैन र यो नियमानुसार फिर्ता हुन्छ । यससम्बन्धी कार्यलाई निक्षेप सुरक्षण (कतिपय मुलुकमा निक्षेप बीमा भन्ने गरिएको) भनिन्छ ।

यससम्बन्धी कार्य गर्न नेपालमा ऐनमार्फत निक्षेप तथा कर्जा सुरक्षण कोष नामको छुट्टै स्यायत्त संस्था स्थापना तथा सञ्चालन गरिएको छ । एक व्यक्तिको प्रत्येक सुरक्षण भएको बैंक वा वित्तीय संस्थामा रहेको ५ लाख सम्मको निक्षेपको सुरक्षण हुने भएको हुँदा नेपालमा समेत बैंक तथा वित्तीय संस्था डुबिहाल्दा पनि साना निक्षेपकर्तालाई कुनै असर गर्दैन ।

नेपालमा सहकारी संस्थाहरुमा भने निक्षेप सुरक्षणको व्यवस्था लागू भएको छैन । नेपालमा हाल सबै बाणिज्य बैंकहरु (क वर्ग), सबै विकास बैंकहरु (ख वर्ग), सबै वित्त कम्पनीहरु (ग वर्ग) र दुई लघुवित्त वित्तीय संस्थामा भएका निक्षेप सुरक्षण गरिएको छ । हाल यी संस्थामा भएका कुल ४ करोडभन्दा बढी निक्षेप खातामा भएको ५ लाख सीमासम्मको हिसाबले हुन आउने ११.५ खर्ब रुपैयाँभन्दा बढी रकमको सुरक्षण भएको छ ।

तपाईको प्रतिक्रिया