पोखराको न्युरोडमा पाल्पाली हाउस

समाधान संवाददाता २०७९ चैत ९ गते १५:४३

पोखरा ।
पाल्पाको मौलिक तथा कलात्मक उत्पादन बजारीकरण गर्न पोखराको न्युरोडमा पाल्पाली कोशेली घर (पाल्पा हाउस) खोलिएको छ । पाल्पाली समाज पोखराको सक्रियतामा प्रेमको प्रतीक रानीमहलको स्वरुपमा कोशेली घर खोलिएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।

Advertisement

उनले पाल्पाली चिनारी ढाका, करुवा, हस्तकलाका सामाग्री, फलफूल तथा कृषिजन्य उत्पादन एक थलोबाट विक्री वितरण गर्ने उद्देश्यले २ करोड लागतमा पाल्पा हाउस खोलेको बताए । हाउसमा पाल्पा तथा कास्कीका स्थानीय तहको समन्वयमा कृषि समाग्री तथा फलफूल सुपथ मूल्यमा बिक्री गर्ने योजना छ ।

रानीमहल स्वरुपमा २ तले भवनमा रानीमहल रेस्टुरेन्ट सञ्चालनमा आएको छ । उनले रेस्टुरेन्टमा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक लगायतका परिकार उपलब्ध हुने जानकारी दिए । पाल्पली बहुउद्देश्यीय सहकारी संस्थाले ढाका र करुवाको बिक्री कक्ष सुरुवात गरिसकेको छ ।

उनले प्रेमको प्रतीक पाल्पाको रानीमहल जस्तै पोखरा हाउस पाल्पाली र पोखरेलीको प्रेमको प्रतीक बन्ने उल्लेख गरे ।‘विशेषतः पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन र सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने हाम्रो मुल उद्देश्य छ,’ उनले भने, ‘पाल्पामा परम्परागत रुपमा उत्पादन भएका ढाका, करुवाको उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि सहयोग पुग्नेछ ।’

उनले कास्कीको पहिचानको रुपमा रहेको जेठो बुढो चामल लगायत कृषि उत्पादनका समाग्री बजारीकरण गर्ने जानकारी दिए ।

Advertisement

हाउसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ । पाल्पाली समाज पोखरा अध्यक्ष रेशम थापाले जन्मभूमि पाल्पाको पहिचान कायम राख्दै व्यवसाय प्रवद्र्धन गर्न पाल्पा हाउस खोलेको बताए । उनले पाल्पा र पोखरालाई समान महत्व दिएर छात्रवृत्ति तथा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरेको उल्लेख गरे ।

न्युरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० सेयर सदस्य छन् । एउटै छातामुनि विभिन्न सेवा दिने उद्देश्यले हाउसमा १७ सटरमा विविध प्रकारका पसल सञ्चालनमा आएको सञ्चालक तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

पाल्पा हाउसमा सहकारीको एकीकृत कारोबार पाल्पाली समाज पोखराको कार्यालयसमेत छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले आगामी शुक्रबार पाल्पा हाउस उद्घाटन गर्ने तय भएको छ । उद्घाटनपछि १ सातासम्म हरेक सटर र रेस्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुट दिइने अध्यक्ष घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया