आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

गण्डकी ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।
पाँच वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोखरेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भीमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनीता ढकाल, भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल छन् ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औंल्याए ।
गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरिसकेको छ कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी उनले दिए । विभिन्न संघसंस्थालाई मानवीय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने विश्वास पौडेलले व्यक्त गरे ।
गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सीता थापाले नेतृत्व विकाससंगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यद्वय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पुर्याउँदै वनलाई आम्दानी स्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए ।
स्थानीय महासंघका अध्यक्ष देवबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासंघ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासंघ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सिता नेपाली लगायतले सामुदायिक वनको महत्व माथि चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया