प्रधान सेनापति शर्माले पोखरामा भने- सेनाको संख्या स्वघोषित विज्ञले तोक्ने होइन

पोखरा ।
नेपाली सेनाका बारेमा अनर्गल प्रचार भइरहेको भन्दै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले असन्तुष्ट जनाएका छन् । पोखरामा बिहीबार भएको भूतपूर्व सैनिक सम्मेलनमा शर्माले नेपाली सेनाका काम, जिम्मेवारी र संख्याका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।
नेपाली सेनाको निर्धारण गर्ने काम स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ नभएर नेपाल सरकार रहेको शर्माले बताएका । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । न कि कुनै एनजिओ, आइएनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन नेपाल सरकारको काम हो भनेर भन्न चाहन्छु,’ शर्माले भने ।
बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्या यति, उति हुनुपर्छ भन्नेमा कुनै सत्यता नरहेको प्रधान सेनापति शर्माले स्पष्ट पारे ।
‘समयसमयका कसको इसारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ र अन्य नचाहिँदो किसिमका कुराहरू पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ । यो हेर्दा हास्यास्पद हो भन्ने कुरा हो भन्न चाहन्छु,’ उनले भने ।
सेनापति शर्माले नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको बताए । ‘नेपाली सेनाले संविधान सम्भव निर्वाह गरिएका जिम्मेवारीहरूको बारेमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको तपाईं र हामीलाई यो सञ्चार तथा सामाजिक सञ्जालबाट प्रसारित हुने त्यस किसिमका भ्रामक प्रचारबाजीबाट तपाईं सबै टाढा रहनुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई जान्न इच्छा भएमा हाम्रा वेबसाइटहरू सम्बन्धित विभागका गरिएका परिपत्र, नेपाल सरकारबाट आएका आदेश तथा निर्देशनबाट नै प्रस्ट रूपमा कुरा बुझ्न सकिन्छ । अनर्गल प्रचारको पछि नलाग्नुहोला ।’
तपाईको प्रतिक्रिया