
पोखरा ।
गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरुले भाली मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदीय दलका नेता हरिबहादुर चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका हुन् । चुमानका अनुसार शुक्रबार संसदीय दलको बैठक डाकिएको छ ।
स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गर्नेछ । ‘मुख्यमन्त्री काठमाडौं हुनुहुँदो रैछ । संसदीय दलको बैठकले भोली सरकारबाट बाहिरने र समर्थन पनि फिर्ता लिन निर्णय गर्छ,’ ती माओवादी सांसदले भने, ‘मुख्यमन्त्री काठमाडौंबाट फर्केपछि दुवै जना मन्त्रीहरुले राजीनामा दिने र भोली नै सरकारलाई दिएको राजीनामा पनि फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई गराउँछौं ।’
माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । दुवैले भोली नै मुख्यन्त्री खगराज अधिकारीलाई राजीनामा दिने तयारी भएको हुन् । मुख्यमन्त्री अधिकारी काठमाडौं भएकाले भोली पोखरा आइपुगे राजीनामा बुझाउन ती माओवादी संसदले बताए ।
‘सरकारबाट बाहिरिने निर्णय हुन्छ । तर, मुख्यमन्त्री बाहिर भएकाले बुझाउन पाइन्छ पाइँदैन थाहा छैन,’ ती मन्त्रीले भने । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धरमराएको हो । मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादी सांसदले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया