नव वर्ष महोत्सवले पर्यटक बढाउने आस

समाधान संवाददाता २०७९ चैत १० गते १०:४३

पोखरा ।
नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने १८ औं फेवा नव वर्ष महोत्सव सफल बनाउन मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

Advertisement

चैत २९ देखि वैशाख १ गतेसम्म अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गतका होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवका संयोजकसमेत रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजक तोकेको सुनाए ।

सुवेदीले अहिले होटलमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै १५ देखि २० प्रतशितमात्र अकुपेन्सी रहेको दाबी गरे । गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनको भनाइ छ ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताए । यतिको जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले सिजनका बेला होटलको अकुपेन्सी २० प्रतिशत दुखद् भएको जनाए ।

Advertisement

संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने उल्लेख गरे । अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशील उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने सुझाव दिए ।

सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले सुत्ने बेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुःखेसो पोखे ।

कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थानगर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा प्रवेश गर्न शुल्क लाग्दैन । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिनेछ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया