मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

समाधान संवाददाता २०७९ चैत ११ गते १७:१८

जोमसोम ।
हिन्दू र बौद्ध दुवै धर्मालम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथमामा अहिले आन्तरिक तथा भारतीय तीर्थालुको घुइँचो छ । हिउँद याम सकिएर गर्मी भएसँगै मुक्तिनाथमा चहलपहल बढेको हो ।

Advertisement


अहिले मुस्ताङ यात्राका लागि सडक मार्ग सहज छ भने पोखरा जोमसोम हवाई सेवा नियमित छ । सडक तथा हवाई मार्ग सहज भएसँगै मुक्तिनाथ दर्शनका लागि स्वदेशी तथा भारीयको संख्या बढेको छ । समुन्द्री सतहदेखि ३ हज ार ८ सय मिटरको अग्लो पहाडको फेंदमा अवस्थित मुक्तिनाथ दर्शन गर्न दैनिक २ हजारभन्दा बढी आउने गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।


यस वर्ष विगतको तुलनामा निकै धेरै तीर्थालु आएका छन् । यस वर्ष हिउँद याममा हिउँ नपर्दा छिटफुट दर्शनार्थी आएका थिए । सुवेदीले शिवरात्री पर्वदेखि मुक्तिनाथमा भक्तजनको घुइँचो लागेको जनाए । मुक्तिनाथ मन्दिर अवलोकनका लागि तेस्रो मुलुकका पर्यटक पनि जाने गरेका छन् । मनाङ हुँदै राउन्ड अन्नपूर्ण पदयात्रा गर्दै मुक्तिनाथ मन्दिर आइपुगेका पर्यटक पनि मन्दिर पुग्छन् ।


पछिल्लो समय मुक्तिनाथ विकास समितिले दर्शनार्थीकोसुविधाका लागि प्रहरी र प्रशासनसँग समन्वय गरी शौचालय, प्राथमिक उपचार कक्ष, पैदलमार्ग, प्रतीक्षालय, चेन्जिङ रुम, धारा, कुण्ड लगायतका संरचना व्यवस्थित बनाएको छ । भक्तजनको सुरक्षा, फोहोर व्यवस्थापन र भक्तजनलाई लाइनमा राखेर सहज ढंगले दर्शन गर्ने व्यवस्था समितिले गरेको छ ।
चैते दसैं र औसी तिथिमा मुक्तिनाथमा भक्तजनको थेगिनसक्नु भीड हुन्छ । मुक्तिनाथ मन्दिर परिसरलाई थप फराकिलो बनाइएकाले दर्शनार्थी बढे पनि सहज भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका नेपाली तथा भारतीय पर्यटक केही कोरालासम्म पुग्छन् भने केही त्यहीबाट फर्किन्छन् ।


काठमाडौंबाट मुक्तिनाथ दर्शनका लागि आएकी सुस्मिता दाहालले सुन्दर मौसममा मुक्तिनाथको दर्शन गर्न पाउँदा पुलकित भएको सुनाइन् । यहाँका चिसा १०८ धारा र कुण्डमा स्नान गर्दा त निकै रमाइलो भएको उनले उल्लेख गरिन् ।

Advertisement

मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिरको मुख्य गेटसम्म दर्शनार्थी करिव २५ मिनेट पैदल हिड्नुपर्ने हुन्छ । मुक्तिनाथको पहिलो गेटदेखि माथिल्लो गेटसम्म रेलिङसहितको फुड ट्रेल निर्माण गरिएकाले दर्शनार्थीलाई त्यहाँ पुग्न सहज भएको छ ।


अपांगता भएका, अशक्त, ज्येष्ठ नागरिक र पैदलै हिडेर पुग्न नसक्नेका लागि पनि रानीपौवाबाट घोडा उपलब्ध छ । त्यहाँ मुक्तिनाथ, झारकोट, खिङ्गा, छेङ्गुर र झोङका स्थानीयले सीमित शुल्क लिएर घोडाबाट सेवा दिएका छन् । मुक्तिनाथमा करिब २५÷३० घोडा छन् ।


मुक्तिनाथ मन्दिर आएका भारतीय पर्यटक राहुलले यहाँ आएर दर्शन गर्न पाउँदा शान्ति मिलेको बताए । यहाँको रमणीय वातावरण र भक्तजनको बेग्लै माहोलले सबै थकान मेटिएको उनको भनाइ छ । ‘यहाँ भक्तजनको अभूतपूर्व श्रद्धा छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आएको ठाउँ हो,’ उनले भने, ‘हामीलाई भगवान शिवजीले नै डोहो¥याएर यहाँसम्म ल्याएका हुन् ।’
मुक्तिनाथ परिसरमा बुद्धको विशाल मुर्ति प्रतिस्थापन गरिएको छ । फेरि विष्णुको मुर्ति प्रतिस्थापन गरिने भएको छ । केही महिनाअघि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु मुर्तिको शिलन्यास गरेकी थिइन् । मुक्तिनाथ मन्दिरमा भक्तजनले रसिद काटेर वा दानपेटिकामा सिधै दान दिन सक्छन् ।


पछिल्लो समय त्यहाँ प्रभु बैंकको क्युआर कोर्ड प्रयोगरी डिजिटल माध्यमबाट दान दिन मिल्छ । मन्दिर आसपासका शालग्राम, पूजा सामाग्री बिक्री गर्ने व्यवसायीसमेत उत्साहित छन् । मुक्तिनाथमा साना, ठूला गरी डेढ दर्जन होटल छन् । अहिले ती होटल भरिभराउ छन् ।

तपाईको प्रतिक्रिया