खुल्यो पाल्पाली हाउस

समाधान संवाददाता २०७९ चैत ११ गते १७:२३

पोखरा ।
पाल्पाको ऐतिहासिक रानीमहलको झल्को दिने गरी पोखराको न्युरोडमा स्थापना भएको पाल्पा हाउस (पाल्पाली कोशेली घर) शुक्रबारदेखि औपचारिक सुरुवात भएको छ । पाल्पा हाउस प्रालिले निर्माण गरेको हाउसको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

Advertisement


पोखराका मेयर आचार्यले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पुरानो सहर तानसेन र पोखराको अन्योन्याश्रित तथा पारिवारिक सम्बन्ध रहेको बताए । उनले दुबै सहरको स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिएर २ सहरको सम्बन्धको महत्वपूर्ण कडीको रुपमा विकास गर्न सुझाव दिए । ‘प्रेमको प्रतीक रानीमहलको स्वरुपमा बनेको कोशेली घर पाल्पाली र पोखरेलीको प्रेमको प्रतीक बन्नु पर्छ,’ उनले भने, ‘मौलिक तथा हस्तकलाका कलात्मक उत्पादनको उत्पादनको कोशेली हाउसको रुपमा विकास गर्नु पर्छ ।’


उनले पोखरा आसपासका मौलिक उत्पादनका बारेमा जानकारी दिन महानगरले बनाउने डिजिटल नक्सामा पाल्पाली कोशेली घरलाई समेट्ने जानकारी दिए । मेयर आचार्यले रानीमहल रेस्टुरेन्टले पस्कने पाल्पाली टिपिकल खानाका परिकार सबैको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।


तानसेन नगरपालिकाका मेयर श्रेष्ठले पाल्पालाई केन्द्रविन्दुमा राखेर पोखरामा शिक्षा, स्वास्थ्य, सामाजिक, उद्योग व्यवसाय र पर्यटनको क्षेत्रमा भएको कामले पाल्पाको गरिमा बढेको बताए । पश्चिम क्षेत्रका ९ जिल्लाको गौंडाको रुपमा रहेको पाल्पाको तानसेनको दरबार संग्रहालय आसपासको क्षेत्र २००८ सालदेखिनै विश्व सम्पदा सूचीमा सूचीकृत भएको जानकारी दिए । मेयर श्रेष्ठले दरबार स्क्वायर रुपमा विकास गर्दा करिब ६२ व्यवसायिक प्रतिष्ठानलाई असर पर्ने बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हाउसमा पाल्पाका सबै खालका सूचनाको केन्द्रको व्यवस्था गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सुझाव दिए । पाल्पा तानसेनको सभ्यता, संस्कार र गरिमालाई सबैले सिको गर्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक गतिविधि साँघुरो बन्दै गएको तानसेन सिद्धार्थ राजमार्ग बन्दादेखि कोल्टे परेको चर्चा गरे । उनले पाल्पाली समाज पोखराले उद्यमशीलताको विकासका लागि गरेको काम अरु सबै समाजले सिको गर्नुपर्ने बताए ।

Advertisement


पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली चिनारी ढाका, करुवा, हस्तकलाका सामग्री, फलफूल तथा कृषिजन्य उत्पादन एक थलोबाट बिक्री वितरण गर्ने उद्देश्यले २ करोड लागतमा पाल्पाली कोशेली घर खोलेको जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, पाल्पाली हाउस प्रालिका सचिव श्रीधर पराजुली लगायतले पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणका् बारेमा बोलेका थिए ।


न्युरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० सेयर सदस्य छन् । एउटै छातामुनि विभिन्न सेवा दिने उद्देश्यले हाउसमा १७ सटरमा विविध प्रकारका पसल छन् । पाल्पा हाउसबाट सहकारीको एकीकृत कारोबारसमेत सुरु भएको छ । यहाँ पाल्पाली समाज पोखराको सचिवालयसमेत छ । पाल्पा हाउसको औपचारिक रुपमा सुरुवातसँगै १ सातासम्म हरेक सटर र रेस्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुट दिइनेछ ।

तपाईको प्रतिक्रिया