३ सातामा ७ फिल्म आउँदै

समाधान संवाददाता २०७९ चैत १२ गते ११:३२

काठमाडौं ।
चैत लागेदेखि नै नयाँ नेपाली चलचित्र प्रदर्शन भएको छैन । २ साता खाली रहे पनि बाँकी ३ सातामा भने ७ चलचित्र प्रदर्शन हुँदै छन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् ।

यही चैत १७ गतेबाट चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रेम र समर्पणमा आधारित उक्त चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताए ।

चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदै छन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् । जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिए ।

Advertisement

सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’ लाई सुभाष थापाले निर्माण गरेका हुन् । उनले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिए । ‘वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौँ । यद्दपि उक्त समयमा धेरै चलचित्र भएपछि १ हप्ता अगाडि नै प्रदर्शन गर्दै छौँ’, निर्माता थापाले भने, ‘प्रसादको दोस्रो शृङ्खला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।’

सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडी लगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement

आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले ४ चलचित्र प्रदर्शन हुँदै छन् । ‘नाइ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने तयारी छ । ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका छन् । यसमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी लगायतले अभिनय गरेका छन् ।

‘प्रेमकथाकै निरन्तरता पाउनु हनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ’, निर्देशक आचार्यले भने । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित २ चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदै छन् ।

लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको सो चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतको मुख्य भूमिका छ ।

सोही समयमा प्रदर्शन हुने तय भएको अभिनेता राई अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको उक्त चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने कथावस्तु समावेश छ ।

वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया