सम्पादकीय: जनगणनाको जगमा नयाँ रणनीति

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यो जनगणना संघीयता लागू भएपछिको पहिलो हो । यही जनगणनाको तथ्यांकको जगमा भावी योजना, कार्यक्रम बन्नुपर्छ र लागू गरी समृद्ध नेपालको खाका कोर्नुपर्छ । यसको प्रयोग समग्र मुलुकको विकासका लागि तर्जुमा गरिने योजना, सार्वजनिक नीति निर्माण र निर्णय प्रक्रियामा हुन्छ । त्यसैले हरेक देशले आवधिक रुपमा जनगणना गर्दै आएका छन् । नेपालमा हरेक १० वर्षमा जनगणना हुने गरेको छ ।
लामो समयदेखि जनगणनाको तथ्यांक एकातिर कार्यक्रमहरु अर्केतिर परिलक्षित देखिएका छन् । नीति निर्माता र राजनीतिक नेतृत्वले आवश्यकता र जनताको मगका आधारमा भन्दा निजी स्वार्थ र सनकका ठूला योजना बनाउने गरेको देखिन्छ । प्रत्येक घरमुलीसँग भेटेर संकलन गरिएको तथ्यांक विश्वसनीय छ । हामी भने उल्टो बाटो हिडिरहेका छौं । कर्मचारीलाई तलब खुवाउने राजस्व नउठ्ने मुलुकमा ऋण लिएर निकै ठूला योजना बनाउने गरिन्छ ।
ठूलो श्रम, अर्थ, समय लगानी गरी आएको जनगणनाको नतिजालाई नीति निर्माता र राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको देखिँदैन । अहिलेका पालिका प्रमुख र मन्त्रीहरूले योजनामा जनगणनालाई आधार मानेका छैनन् । केहीले मोटो कमिसन लिएर योजना तर्जुमादेखि नै चलखेल गर्छन् । देशमा कुन वर्गलाई उत्थानको आवश्यकता छ, कुन समुदायको आर्थिक, सामाजिक हालत कस्तो छ ? यस्ता प्रश्नको उत्तर जनगणनामा हुन्छ । तर नीति निर्माताहरु त्यसलाई अनदेखा गरिरहेका छन् ।
अहिलेको जनगणनाले केही गम्भीर परिणामको संकेत गरेको छ । जनसंख्या वृद्धिदर पहिलोपटक प्रतिवर्ष १ प्रतिशतभन्दा कम देखिएको छ । काठमाडौंको जनसंख्या सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ छ भने मनाङमा ५ हजार ६ सय ५८ को बसोबास छ । काठमाडौँको जनसंख्या त्यति मात्र पक्कै होइन । यसका केही कमजोरी छन् ।
अक्सर बसोबासको आधारमा गणना गर्ने गरिएता पनि मानिसले आफ्नो पुरानो स्थानबाट नै गणना गराउने परिपाटी हटेको छैन । हिमाल, पहाडबाट मधेसमा बसाइसराईंका लागि झर्ने प्रवृत्ति पुरानो नै हो । घरपरिवार महिला प्रमुखको संख्या पनि बढेको छ ।
श्रीमान विदेश भएकाले वाध्यताले परिवार चलाउनेको नाम लेख्दा महिला परेकाले यसमा उल्लेखनीय वृद्धि देखिएको हो ।
साक्षरताको दृष्टिकोणमा कास्की र काठमाडौँ उपत्यकाको सबैभन्दा राम्रो अवस्था छ । पहाडी जिल्लाहरु मानवविहीन हुँदै जाने दिशामा गएका छन् । तराई र सहरतिर मानिसको बसाइसराइ देखिएको छ । त्यतिमात्र होइन, वैदेशिक रोजगारीमा रहेको ठूलो संख्या उतै बस्दा वा सक्रिय जनसंख्या देशमा नअडिदा भविष्यमा ठूलै संकट आउनसक्ने अहिलेको जनगणनाले जनाउ दिएको छ । तथ्यांकले देखाएको तीतो सत्यलाई अनदेखा नगारौं, अहिलेको पुस्ताको निजी स्वार्थले भावी पुस्ता र देश वर्वादीको बाटोमा जान दिनु हुँदैन ।
तपाईको प्रतिक्रिया