पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७१२ को मेथाडोनबाट उपचार

पोखरा ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ सय १२ जना लागुऔषध प्रयोगकर्तालाई मौखिक प्रतिस्थापन उपचार विधि (मेथाडोन)बाट उपचार गरिएको छ ।
सूईबाट लागुऔषध प्रयोगकर्ताको क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत २२ महिला सहित ६ सय ८० जनाको सो विधिबाट उपचार गरिएको मौखिक व्यवस्थापन तथा उपचार कार्यक्रमका प्रशासन तथा आपूर्ति सहायक ज्ञानप्रसाद बरालले जानकारी दिए ।
उनले कार्यक्रम अनुसार ५९ पुरुष र ४ महिलालाई ब्युप्रिनर्फिन औषधी वितरण गरेको बताए । उनले लागुऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका २०७० अनुसार मेथाडोन र ब्युप्रिनफ्रिन औषधी वितरण गर्दै आएको उल्लेख गरे ।
मौखिक व्यवस्थापन तथा उपचार कार्यक्रम संयोजक तथा मानसिक रोग विशेषज्ञ डा राजन शर्माले पोखरा महानगरपालिकामा सूईबाट लागु औषध प्रयोगकर्तामा क्षति न्यूनीकरण गर्ने उद्देश्यले २००९ देखि मौखिक प्रतिस्थापन विधि (मेथाडोन) बाट उपचार सुरु गरेको जानकारी दिए ।
१६ मार्च २०१५ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी)ले क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत मेथाडोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सामाजिक सहयोग इकाइमार्फत उपचारको कार्यक्रम गरिएको छ । डा शर्माले मेथाडोन लागुऔषध नभएर एक प्रकारको औषधी भएको जानकारी दिए ।
‘लागुपदार्थ प्रयोगकर्तालाई चिकित्सकको सिफारिसमा र नर्सको प्रत्यक्ष निगरानीमा मेथाडोन खुवाइन्छ,’ डा शर्माले भने, ‘दिनको एक पटक खाए पुग्ने औषधीलाई लागुऔषध मान्नु गलत धारणा हो ।’ उनले ‘मेथाडोन’ औषधीले लागुऔषध प्रयोकर्ताले एकापसमा सूई साटासाट गर्दा सर्ने रोगबाट जोगाउन सहयोग गर्ने बताए ।
कम्युनिटी सपोर्ट ग्रुप, पोखरा मौखिक प्रतिस्थापन उपचार विधिका कार्यक्रम अधिकृत रचना शाही ठकुरीले सुरुमा मेथाडोन औषधीको मात्र प्रयोग गरिएकोमा २४ अगस्त २०१६ देखि ब्रुप्रिनफ्रिन औषधी सुरुवात गरिएको जानकारी दिइन् ।
उनले नेपाल प्रहरीको सहकार्यमा हिरासतमा रहेका सेवाग्राहीलाई मेथाडोन औषधी खुवाइएको बताइन् । उनले मौखिक व्यवस्थापन तथा उपचार कार्यक्रममार्फत लागुऔषध प्रयोगकर्ता समाजमा पुनस्र्थापना भएको दाबी गरिन् ।
तपाईको प्रतिक्रिया