स्पोर्ट्स अवार्डको लागि उपसमिति

पोखरा ।
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मुल आयोजक समिति संयोजकको जिम्मेवारी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ । मञ्चका सदस्यको भेलाले बराललाई संयोजक तोकेको हो ।
सोही भेलाले मञ्चका महासचिव राजाराम पौडेललाई मूल आयोजक समितिको सह–संयोजकको जिम्मेवारी दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिको संयोजकसमेत गठन गरिएको छ ।
मूल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक, अतिथि सत्कार उपसमिति संयोजकमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी, संघ, संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, प्रचार प्रसार तथा सांस्कृतिक उपसमिति संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल, स्वम्सेवक परिचालन तथा निमन्त्रणा व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सचिव शशिकुमार पौडेल, आर्थिक संकलन उपसमिति संयोजकमा मञ्चका कोषाध्यक्ष कविता घर्तीमगर, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सदस्य एमबी आस्था मगर, फोटोग्राफी तथा भिडियोग्राफी उपसमिति संयोजकमा मञ्चका सदस्य उमेश पुन र क्विक रेस्पोन्स उपसमिति संयोजकमा मञ्चका सदस्य राजु गिरी छन् ।
उपसमितिलाई पूर्णता दिने अधिकार संयोजकलाई नै दिइएको छ । भेलामा अवार्डलाई व्यवस्थित रुपमा आयोजना गर्ने विषयमा सहभागीले सुझावसमेत दिएका थिए । सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया