कक्षाकोठा खाली, इन्स्टिच्युटमा लाम

समाधान संवाददाता २०७९ चैत १२ गते १३:५५

पोखरा ।
विश्वविद्यालय तहमा विद्यार्थी संख्या बर्सेनी ओरालो लाग्दो छ । १२ कक्षा उत्तीर्ण हुनासाथ विद्यार्थी अध्ययन वा वैदेशिक रोजगारीका लागि विदेश जाने क्रम दिनहुँ बढिरहेको छ । यसले युवा जनशक्ति पलायन त भएको छ नै शिक्षामा गुणस्तर कायम हुन नसक्दा पनि यस्तो अवस्था आएको भन्दै शिक्षा क्षेत्रका जानकारले चिन्ता जनाउन थालेका छन् ।

उच्च शिक्षा अध्ययनका नाममा हरेक दिन विद्यार्थीको ठूलो संख्या बाहिरिएकोमा उनीहरुको चिन्ता छ । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक उन्नयन’ विषयक अन्तरक्रियामा विभिन्न विद्यालयका प्राचार्यले नेपालको शैक्षिक गुणस्तर हुन नसक्दा विद्यार्थीको पलायन गति बढ्दो रहेको भन्दै चिन्ता जनाए । विद्यार्थीलाई स्वदेशमै रोक्न शिक्षामा गुणस्तर कायम गर्नुका साथै नीतिगत सुधारमा पनि ध्यान दिनुपर्ने उनीहरुले औंल्याए ।

शितलदेवी माविका प्रधानाध्यापक बाबुराम अधिकारीले गुणस्तीय शिक्षा बढाउन राज्यको चिन्तत हुनुपर्ने सुुझाए । शिक्षाको गुणस्तर बढाउन राज्यको लगानी नै कमजोर रहेको उनको दाबी छ । छोटो समयमा धेरै कमाइ हुने भएपछि विद्यार्थीहरु विदेश आकर्षित भएको अधिकारीले बताए । ‘शिक्षा र पैसा दुवैमा राम्रो हुने भन्दै अहिले १२ कक्षापछि विद्यार्थी नेपालमा बस्न चाहेनन्,’ उनले भने, ‘विद्यार्थीलाई स्वदेशै पढाउने गरी माहोल सिर्जना गर्नुको विकल्प छैन । त्यसैले पनि सुधारको आवश्यकता छ ।’

Advertisement

छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भए पनि रोक्न सकिने सम्भावना रहेको बताए । ‘रोजगार पाउने अवस्था भएमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यार्थीलाई आफ्नै क्याम्पस वा स्कुलमा टिकाइरहने रणनीति अब शिक्षण संस्थाले नै बनाउनुपर्छ,’ उनले भने, ‘शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व सम्बन्धित शिक्षण संस्थाको हो ।’

विश्वविद्यालय र क्याम्पसका कक्षाकोठा रित्तिदै जाँदा विदेश पठाउने इन्स्टिच्युट र मेनपावरमा भने लाम थपिँदै छ

Advertisement

शिद्ध पब्लिक स्कुलका प्रधानाध्यापक आनन्दराज अधिकारीले छिटोछिटो पाठ्यपुस्तक परिवर्तन हुँदा पनि समस्या निम्तेको सुनाए । कक्षा १२ सम्मको परीक्षा प्रणाली तुलनात्मक रुपमा ठिकै भए पनि विश्वविद्यालय तहको परीक्षामा बेथिति मौलाएको उनले बताए ।

परीक्षाको रिजल्ट ढिला आउने, तोकिएको समयमा परीक्षा नहुने जस्ता समस्याले गर्दा विद्यार्थी नियमित पढाइ छाडेर भाषाका कक्षा सिक्न विभिन्न इन्स्टिच्यूटमा जाने गरेको उनको दाबी छ । ‘जोसुकै विद्यार्थीको सोचाइ नै विदेश जाने छ,’ उनले भने, ‘अहिले विश्वविद्यालयका कोठा खाली छन्, विभिन्न मुलुकमा रोजगारीका लागि जानेगरी भाषा सिक्ने विद्यार्थीको भीड अन्यत्र छ ।’

तालबाराही माविका शिक्षक ताराप्रसाद पोखरेलले सरकारले जति नै शैक्षिक गुणस्तरका कुरा गरे पनि सुधार नभएको भन्दै चिन्ता जनाए । अब शैक्षिक गुणस्तर कायम भयो वा भएन भनेर खोजी गर्ने बेला भएको उनले बताए । भलामस्थित महेन्द्र माविका प्रधानाध्यापक बोधराज पौडेलले नीति, थीति र विधिमा समस्या हुँदा शैक्षिक गुणस्तर कायम हुन नसकेको बताए ।

‘छोराछोरी सहर बसेका छन् भनेर अभिभावकले गर्व गर्ने विषय बनेको छ । हामी सबैले संस्कार बिगारेर छोराछोरीलाई ठूलो सहरमा राख्न खोज्दा यो अवस्था आएको हो,’ उनले भने ।

पोखरा बहुमुुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचन सबैको पहलमा मात्र शिक्षामा जागरुकता ल्याउन सकिने बताए । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले कतिपय सामुदायिक विद्यालयले गुणस्तर कायम गरेकै कारण ती विद्यालयमा भर्ना दर उच्च रहेको बताए । उनले पढाइमा गुणस्तर सर्टिफिकेटमा मात्र खोजी भएको जनाए ।

‘सर्टिफिकेटमा गुणस्तर खोज्यौ, देशको सेवा गराैं भन्ने भावना विकास गराउन सकेनांै,’ सुवेदीले भने, ‘समाज, देशकाल, देशको परिस्थिति बुझनेगरी छोरोछोरीलाई संघर्ष गर्न सिकाएनौं । अब त हामी आफैले आफ्ना छोराछोरीका लागि बजार खोज्ने बेला भएको छ ।’

पढेको मान्छेले खेतबारीमा काम गर्न हुँदैन भन्ने भावना पलाउँदा पनि समस्या भएको उनको भनाइ छ । ‘यस्तै अवस्था हुँदै जाने र विद्यार्थी पलायन बढ्दै जाने हो भने काम गर्ने जनशक्ति अभावमा अर्थतन्त्रमै असर पर्ने अवस्था छ,’ उनले भने, ‘अब त श्रमप्रति सम्मान गर्ने वातावरण बढानुपर्छ । त्यसका लागि सबै एकजुट हुनुपर्छ ।’

क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले विदेशिएको जनशक्ति रोक्ने प्रयास नभएको बताइन् । उनले विदेशमा जाने विद्यार्थीमध्ये अधिकांशले बौद्धिकभन्दा शारीरिक काम गर्ने गरेको उल्लेख गरिन् । ‘विद्यार्थीले बरु नेपालमै राम्रो काम पाएका हुन्छन्, विदेश जाने अधिकांशले बौद्धिक काम पाएका हुँदैनन, उनीहरुले शारीरिक काम गर्ने हो,’ उनले भनिन्, ‘कम्तीमा स्वदेशै रोकिने हो भने बौद्धिक काम पाइन्छ । स्वदेशमा रोकिने हो भने उत्पादन पनि बढाउन सकिन्छ ।’

तपाईको प्रतिक्रिया