हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण

समाधान संवाददाता २०७९ चैत १३ गते १०:४९

काठमाडौं ।
पछिल्ला दिनमा हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका छन् । यस्ता घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढीकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।

स्वदेशी तथा विदेशी वायु सेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो । मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएको जोखिम मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।

‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायु सेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,’ उनले भने ।

Advertisement

हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक पटक निर्देशन पनि दिँदै आएका छन् ।

किराँतीले हवाई सुरक्षाप्रति कुनै किसिमको कमी, कमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका छन् । प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग आकासमै ठोकिनबाट जोगिएको एयर इन्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ ।

Advertisement

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आउँदै थियो ।

सोही समय दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इन्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो ।

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो ।

लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो । घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एयर इन्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएकोे छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ ।

यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोखिएको थियो ।

यही चैत ९ गते प्राधिकरणले काठमाडौँ–लुक्ला उडानका क्रममा टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर ( एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसैगरी उडान सुरक्षा मापदण्ड उलंघन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई पनि निलम्बन गरिएको थियो ।

तपाईको प्रतिक्रिया