सेती नदी जोगाउन संस्थागत पहल

समाधान संवाददाता २०७९ चैत १३ गते ११:१४

पोखरा ।
नदी दोहोनले निम्तिएको वातावरणीय असर रोक्न संरक्षणका लागि सुरु गरिएको सेती संरक्षण अभियानले संस्थागत आकार लिने भएको छ । केही समयदेखि सञ्चालन भएको सेती बचाऊ अभियानलाई संरक्षण संस्थाका रुपमा अघि बढाइने भएको हो ।

Advertisement

माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा शनिबार भएको भेलाले सेती संरक्षण अभियान नामक संस्था दर्ता गर्ने गरी सेती संरक्षण अभियन्ता हेमराज पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा धर्मराज बास्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल(आचार्य) छन् ।

सदस्यमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी छन् । संस्थाले सेती नदीको वैज्ञानिक नक्सांकन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गर्ने, संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गने भएको छ ।

सेती नदी र यसका मुख्य सहायक नदीको जलाधार लगायत जल, जमिन, जंगल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिक स्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोग सम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने संस्थाका अध्यक्ष हेमराज पौडेलले बताए ।

सुरुआतमा सेती नदी बचाउ अभियानको कार्य क्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका छ । माछापुच्छ्रे गाउँपालिकाका वडा नं १,२,३ र वडा नं ४ तथा पोखरा महानगरका वडा नं १९, २५, १६ बाट प्रतिनिधित्व गर्ने गरी तदर्थ समितिका अध्यक्ष र पदाधिकारी र सदस्य चयन गरिएको हो । यसअघि वडाहरुमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरु भएर वडास्तरीय समिति गठन गरिएको थियो ।

Advertisement

सेती बचाऊ अभियानले यसअघि पोखरा महानगरपालिका १९ र माछापुच्छे गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनाश बढेको भन्दै उत्खनन् बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

सेती नदीबाट ढुंगा, माटो, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन् भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले तत्काल उत्खनन् रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि समेत उत्खनन् नरोकिएको भन्दै अभियन्ताले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया