समृद्धिका लागि सिर्जनशील र उद्यमी युवा

पोखरा ।
राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा संघको गण्डकी प्रदेश कमिटीको विस्तारित भेला आइतबार भएको छ । भेलामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, ११ जिल्लाका इन्चार्ज तथा अध्यक्ष, कास्की जिल्ला कमिटीका पदाधिकारीको सहभागिता रहेको संयोजक महेन्द्र गुरुङले बताए ।
भेलामा युवा संघका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिइएको बताए ।
उनले कमिटी संयोजकमा महेन्द्र गुरुङ, सहसंयोजक विकास अधिकारीसहित प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी समावेशी चरित्रको ७५ सदस्यीय कमिटी बनाएको जानकारी दिए ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले भेलामा युवा संघ लगायत पार्टीका सबै जनसंगठन नीति र विधिका आधारमा चल्नुपर्ने बताइन् । उनले वैचारिक रुपमा प्रशिक्षित र अनुशासित बन्न निर्देशन दिइन् ।
उनले आसन्न महाधिवेशनबाट चुस्त, दुरुस्त कमिटी निर्माण गरी युवा संघलाई व्यवस्थित बनाउन आग्रह गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत ल्याउनका लागि मुख्य अभियन्ता बन्न युवा संघलाई निर्देशन दिए ।
युवा संघका संस्थापक सदस्यसमेत रहेका नेता अधिकारीले गौरवशाली इतिहास र विरासत बोकेको युवा संघ पार्टीको बलियो जनसंगठन बनेको जनाए ।
युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले एमालेको मिसन ग्रासरुट अभियान आगामी निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने मिसन ५१ भएको जानकारी दिए । उनले आन्तरिक रुपमा भएका सानातिना अन्न्तरविरोध हल गर्दै महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने बताए ।
विगतमा रहरलाग्दो, भरलाग्दो र डर लाग्दो बनाउने भनिएको युवा संघलाई समयसापेक्ष रुपमा नवीन, सिर्जनशील र गतिशील बनाउने उनले उल्लेख गरे । उनले युवालाई उत्पादनमा जोड्ने तथा सामूहिक रुपमा उत्पादनका कार्यक्रममा सामेल हुने लगायतका धेरै कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको बताए ।
‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम लागू गर्न सकेनौं,’ उनले भने, ‘युवालाई स्वरोजगार बनाउने लगायत प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन सकिएको छैन ।’ उनले ३ तहका सरकारले ल्याउने युवामैत्री कार्यक्रममा सहकार्य गर्ने जानकारी दिए । कार्यक्रम भेलामा सहभागी भन्दा अतिथि धेरै हुने देश भरीको एमालेका जनसंगठनले व्यहोरेको समस्याबाट युवा संघ अछुतो नभएको उनले उल्लेख गरे ।
कार्यक्रममा नेकपा (एमाले)केन्द्रीय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, गण्डकी प्रदेश कमिटीमा उपाध्यक्ष मोहन रेग्मीले अहिलको चुनौतीलाई समाना गर्न सक्ने नेतृत्व चयन गर्न सुझाव दिए ।
भेलामा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी सहइन्चार्ज अर्जुन पौडेल, गण्डकी प्रदेशका संयोजक महेन्द्र गुरुङ, सहसंयोजक विकास अधिकारी लगायतका बक्ताले युवा आन्दोलनको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया