अन्नपूर्ण गाउँपालिकाका युवालाई ट्रेकिङ गाइड तालिम

समाधान संवाददाता २०७९ चैत १३ गते १७:२१

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवालाई लक्ष्य गरी सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा सञ्चालित नव प्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत पर्यटनमैत्री प्रविधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पदयात्रासँग सम्बन्धित बिभिन्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाइनेछ । आर्थिक पुनरुत्थान र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम भएको हो ।

१५ दिनसम्म चल्ने तालिममा अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडाका ३५ युवा सहभागी छन् । तालिम सकिएपछि ती युवालाई पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा परीक्षा लिएर उत्तीर्णलाई लाइसेन्ससमेत दिने तयारी रहेको कार्यक्रम संयोजक एवं सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले बताए । सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकाले एकीकृत पर्यटक सूचना केन्द्र सञ्चालन गर्न लागेको जनाए ।

Advertisement

उनले गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई पर्यटन र रोजगारसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको उल्लेख गरे । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिव मनमाया भट्टराई पंगेनीले बेरोजगार युवालाई देशमै केही गर्ने वातावरण तयार गरी अन्नपूर्ण गाउँपालिकाले सराहनीय काम गरेको बताइन् ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले काठमाडौं गएर लिनुपर्ने तालिम गाउँपालिकाले गाउँमै आयोजना गरेको जनाउँदै उनले तालिमको सदुपयोग गर्न सहभागीलाई आग्रह गरिन् । अन्नपूर्ण आधार शिविर, घान्द्रुक जस्ता पर्यटकीय गन्तब्य रहेको पालिकामा पहिलो पटक गाउँपालिकाले स्थानीय स्तरमै निशुल्क रुपमा तालिम आयोजना गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया