पोखरामा नाट्य एकेडेमी आवश्यक

समाधान संवाददाता २०७९ चैत १४ गते १०:५३

पोखरा ।
प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शीर्षकमा अन्तर्क्रिया गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजित कार्यक्रममा सबैको सामूहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वक्ताहरुले जोड दिए ।

अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सके यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाइ थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक अध्ययन गर्न एकेडेमी आवश्यक भएको समेत औंल्याए । यो क्षेत्रमा देखिएका केही समस्याबारे समेत उनीहरुले खुलेर कुरा गरे ।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारप्रसाद पौडेलले अन्तर्क्रियामा भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए ।

Advertisement

सामूहिक प्रयासमा रंगमञ्च थप व्यवस्थित गर्नुपर्नेमा जोड

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताए । उनले पोखरामा सुविधा सम्पन्न थिएटरको आवश्यकता औंल्याए ।

Advertisement

पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधैं राज्यको मुख ताक्नु गलत रहेको बताए । राज्यले नीतिगत रुपमा प्रोत्साहन गरेर पोखरामा नाटक सम्बन्धी अध्ययनका लागि नाट्य एकेडेमी सञ्चालन गर्नुपर्ने र आवश्यकता औंल्याए । विद्यालयको पाठ्यक्रम निर्माण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उनको भनाइ थियो ।

१३ जना कलाकारलाई पूर्णकालीन कलाकारको रुपमा थिएटरमा जोडेको र यो संख्या २० पुर्‍याउने आफूहरुको लक्ष्य रहेको उनले खुलाए । कोरोनाको कारण समस्यामा परेको यो क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएको जनाए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चीय गतिविधि निरन्तर हुन जरुरी रहेको बताइन् । नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृति संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतिको हस्तान्तरण हुने बताइन् । पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएकोमा खुसी व्यक्त गरिन् ।

इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याए । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाव दिए ।

पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले पनि प्रेस क्लब तथा अन्तर्क्रियाको महत्वबारे प्रष्ट पारे ।

उर्वशी सूक्तको पोस्टर
पोखरा थिएटरको प्रस्तुतिमा आगामी वैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटक उर्वशी सूक्तको पोस्टर सार्वजनिक गरिएको छ । गन्धर्व थियटरमा सोमबार उक्त नाटकको पोस्टर सार्वजनिक गरिएको हो ।

शिव संकल्पले परिकल्पना तथा लेखन गरेको नाटकको निर्देशन त्रिवेणीले गर्दैछन् । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तर्राष्ट्रिय रंगमञ्च संस्थानद्वारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया