धर्म परिवर्तनको डरलाग्दो ग्राफ

रवीन्द्र माकाजू २०७९ चैत १४ गते १२:००

राष्ट्रिय जनगण्ना २०७८ को नतिजा सार्वजनिक हुने क्रममा अहिले इसाई धर्मावलम्बीको संख्या १४ प्रतिशतभन्दा माथि रहेको हल्ला आएको छ । यद्यपि आधिकारीक तथ्यांक भने केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छैन । तर परिणाम जे जस्तो आएता पनि यथार्थता के हो भने इसाई मतको प्रचार हुने मुलुकमा नेपाल पहिलो देखिन्छ ।

हरेक इसाई गतिविधिमा पछािड विरोधी मुलुक पनि जोडिएका छन् । हालैमात्र बिबिसीद्वारा प्रशारित नेपाली समाचार अनुसार दक्षिण कोरियामा कार्यरत नेपालीलाई इसाई मतमा धर्मान्तरण गर्न कोरियाले आफ्ना नागरिकलाई नेपाली भाषा सिक्न नेपाल पठाएका छन् ।

जसको काम कोरियामा कार्यरत नेपालीमाथि दृष्टि पुर्‍याउनु हो । त्यस्तै विदेशी मिसिनरीले पश्चिम नेपालका कैयौं युवालाई बाइबल प्रचार गर्न मासिक तलबमा राखेका छन् । ०६२/०६३ को आन्दोलनको उपलब्धिमा धर्मनिरपेक्षतालाई जोडेर यहाँका हिन्दू, बौद्धको मनोबल गिराउने कार्य भएको छ ।

Advertisement

अल्पसंख्यकलाई आरक्षण दिने नाउँमा नेपालमा विश्वमा सबैभन्दा बढी जनसंख्या भएका इसाई र मुसलमानले फाइदा लिइराखेका छन् । सबै धर्मलाई समान व्यवहार गर्न मुलुकलाई धर्मनिरपेक्ष बनाइएको हो भन्नेहरूले नै मुस्तिम आयोग गठन गरेर मुस्तिलमलाई राज्यका हरेक अंगमा आरक्षण दिने कार्य गरेका छन् ।

नेपालका हरेक दलले मुस्लिमलाई माननीय बनाउनुपर्ने बाध्यता आयो । यसरी प्रत्यक्ष, अप्रत्यक्ष राज्यका सत्ताधारीले धर्मपरिवर्तन गर्न उकासिरहेका छन् । विदेशीको सहारामा डलरको आडमा इसाई मिसिनरीहरु शिक्षा र स्वास्थ्यको माध्यमबाट गरिब र निमुखालाई इसाई बनाइरहेका छन् । टोल टोलमा, बस्ती बस्तीमा विभिन्न मुलुकद्वारा सञ्चालित चर्च क्रियाशील छन् । एक चर्च, अर्को चर्चका विरुद्ध गतिविधि गर्दै छन् । तर नेपालका हिन्दू, बौद्ध संस्थाहरु हातमा दही जमाएर बसिरहेका छन् । निष्क्रिय छन् । यी सबै घटनालाई तमासे भएर हेरिरहेका छन् ।

Advertisement

डलरको आडमा इसाई मिसिनरीहरु शिक्षा र स्वास्थ्यको माध्यमबाट गरिब र निमुखालाई इसाई बनाइरहेका छन्

हिन्दुहरूको सङ्ख्या घटाउन मष्टो धर्म लेख्ने प्रकृतिपूजक लेख्नेहरू पनि हुन्, जो मेसिनरीद्वारा सञ्चालित छन् । वि.सं २०५८ को जनगणना अनुसार नेपालमा ८ धर्मावलम्बी हिन्दू (वैदिक सनातन), बौद्ध, इस्लाम, किरांत, जैन, इसाई, सिख र बहाई छन् । यस अनुसार बढी जनसंख्या हिन्दूको र सबभन्दा कम बहाईको जनसंख्या छ ।

हिन्दूहरुले बौद्ध, किरात सिख र जैनलाई समानरुपमा श्रद्धा गर्दछन् । तथापि जनगणनामा बौद्ध, किरात र जैनलाई छुट्टै गणना गर्ने प्रचलन छ । यस सम्बन्धमा ध्यान दिनुपर्ने कुरा के हो भने हिन्दू, किराँत, सिख, बौद्ध, सिख र जैन धर्महरु परस्पर पूरक प्रकृतिका छन् र प्रत्येकले एक अर्काको पूजा पद्धति, आराधना स्थल एवं ईश्वरलाई समान रुपमा सम्मान गर्दछन् ।

नेपालका विभिन्न धर्मावलम्बीको संख्यामा भएको परिवर्तन तालिकामा देखाइएको छ । वि.सं. २०३८ देखि २०४८ को अवधिमा हिन्दू जनसंख्यामा लगभग तीन प्रतिशतले कमी आएको थियो भने वि.सं. २०४८ देखि २०५८ को अवधिमा हिन्दू जनसंख्या लगभग ६ प्रतिशतले घटेको छ ।

२०५८ देखि २०६८ को अवधिमा हिन्दू जनसंख्या लगभग स्थिर देखिएको छ । यसले विगत ३० वर्षमा हिन्दू जनसंख्यामा तेजीले कमी हुँदै गएको देखाउँछ । यस कमीका २ प्रमुख कारण छन्– एक, हिन्दू र बौद्ध दुवै धर्म मान्ने जनसंख्यालाई बौद्ध धर्ममा दर्ता गरिनु र दुई, हिन्दूकै एक अंगको रुपमा रहेको किराँत धर्मलाई नेपालको जनगणनाले छुट्याइदिनु ।

बौद्ध धर्मावलम्बीहको संख्या वि.सं. २०३८ देखि २०५८ को बीचमा १०० प्रतिशतले बढेको थियो भने २०६८ मा यो वृद्धिमा कमी देखिएको छ । यसको प्रमुख कारण अघि भनिए जस्तै हिन्दू र बौद्ध दुवै धर्म मान्नेहरुलाई बौद्धमा दर्ता गरिनु नै प्रमुख हो । पछि किराँत धर्मावलम्बीको गणना प्रारम्भ गर्नु हो ।

किराँत धर्मावलम्बीहरुको संख्या वि.सं २०४८ देखि २०५८ मा १५७ प्रतिशतले वृद्धि भएको छ । यसको प्रमुख कारण पनि हिन्दूहरुको एक अंगको रुपमा रहेको किरात धर्मलाई अलग गणना गर्नु नै हो । तथापि धर्मावलम्बी वृद्धि दृष्टिकोणले सबभन्दा बढी वृद्धि इसाई धर्मको देखिन्छ ।

खास गरी वि.सं. २०४८ पछि तत्कालीन संविधानले प्रदान गरेको धार्मिक स्वतंत्रताका प्रत्याभूति पछि यो संख्या ह्वात्तै बढेको देखिएको छ । वि.सं. २००९ मा जनगणनामा उल्लेख नै नभएको र वि.स. २०१८ मा जम्मा ४५८ को संख्यामा रहेको इसाई धर्मावलम्बीको संख्या वि.सं. २०५८ मा १० लाख १ हजार ९ सय ७६ पुगेको थियो ।

कुल जनसंख्याको वृद्धिको दृष्टिले वि.सं. २०४८ देखि २०५८ को बीचमा यो २ सय २६ प्रतिशतले बढेको देखिएको छ । विसं २०६८ मा कुल जनसंख्याको ०.४५ प्रतिशत जनसंख्या बढेर १.४५ प्रतिशत भएको छ । केही इस्लाम जनसंख्या पनि इसाई भएको पाइएको छ । हिन्दूमध्ये केही विशिष्ट जाति समुदाय र जनजाति र बौद्धमध्ये तामाङ जातिले विशेषरुपमा धर्म परिवर्तन गरेको पाइएको छ ।

जनजातिको धार्मिक संरचनामा परिवर्तन
जनजातीय समुदायमा निरपेक्षताको कारणले उत्पन्न धर्मान्तरणको प्रभावलाई विभिन्न जनगणनामा देख्न सकिन्छ । यस प्रभावलाई निम्नलिखित तालिकामा देखाइएको छ ।

नेपालमा इस्लाम धर्मको वृद्धिदर पनि बढ्दो छ । ०६८ को जनगणनामा ४% थियो भने ०७८ मा आउँदा ६% हुन सक्ने अनुमान छ । ०६८ सालको जनगणनामा १.४१ प्रतिशत रहेको इसाई ०७८ मा आउँदा १४% भन्दा बढी हुन आउँछ भने यो प्रतिशत अत्यन्त भयावह र डरलाग्दो मान्नुपर्छ ।

यही रूपमा इसाईको गतिविधि बढ्ने हो भने अबको १० वर्षमा नेपाल इसाई बाहुल्य मुलुक नेपाल हुन सक्छ । जो पूर्वी उत्तरी भारतको नागालैण्ड, मिजोरस जस्ता राज्य बन्न सक्छ । अर्थात् अर्को शब्दमा अन्धकारको भुमरीमा नेपाल पर्न सक्छ । नेपाल गृहयुद्धको चपेटामा पर्न सक्छ । यसैले सबै नेपाली समयमै सचेत हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया