नेकपा एस छाेडेका चूडामणि भन्छन्– कम्युनिस्ट पार्टीमा एमालेकाे विकल्प छैन

समाधान संवाददाता २०७९ चैत १४ गते १७:०३

पाेखरा ।

माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एस छाेडेका कम्युनिस्ट नेता चूडामणि जंगलीले नेपालमा कम्युनिस्ट पार्टीकाे सदस्य बन्ने हाे भने नेकपा एमालेकाे विकल्प नभएकाे बताएका छन् । नेकपा एसकाे स्थायी कमिटी सदस्य जंगलीले फागुन १२ गते नै पार्टीबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा आज स्वीकृत भएकाे छ ।

राजीनामा स्वीकृत भएपछि समाधानलाई प्रतिक्रिया दिँदै नेता जंगलीले नेकपा एस र नेकपा माओवादी केन्द्र वामपन्थी नभएर दक्षिणपन्थी पार्टी भएकाे आराेप लगाए । राष्ट्रपति निर्बाचनमा र नयाँ सरकार बनाउने खेलमा यी दुवै पार्टीका नेताहरु दक्षिणबाट परिचालित भएपछि पार्टीमा बस्न नसकेकाे उनले बताए ।

Advertisement

हिजाे नेकपा विभाजनका बेलामा केपी ओलीका कमजाेरी थिए तर ती कमजाेरीलाई सच्याउदै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भएकाे थियाे भन्दै जंगलीले ओलीले नै माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्दा पनि नेताहरु नमानेकाेमा आश्चर्य लागेकाे बताए ।

कम्युनिष्ट नेताले यस्ताे काम गर्दैनन् भन्दै उनले नेकपा एस छाेडेकाे बताए । नेकपा एसलाई जनताले चुनावमा पनि स्वीकार गरेनन् भन्दै नेपालमा कम्युनिष्ट पार्टी भनेकाे एमाले मात्र हाे भन्ने सन्देश चुनावले दिएकाे दावी गरे ।

Advertisement

उनले आफूहरु अहिले स्वतन्त्र भएकाे बताए । अब कसरी अघि बढ्ने भन्ने बारेमा देशब्यापी रुपमा छलफल गरेर निर्णय लिने भन्दै एमाले प्रवेश गरिनसकेकाे जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया