डिजिटल सेवा सुरु गर्ने गण्डकी प्रदेशकै पहिलो पोखरा १२

समाधान संवाददाता २०७९ चैत १४ गते २०:१०

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १२ ले वडावासीहरुलाई छिटोछरितो सेवा दिन मोबाइल एप सार्वजनिक गरेको छ । मोबाइल एपमार्फत विवाह दर्ता लगायत सेवासुविधा छन् ।


सरकारी सेवा डिजिटल गर्दै गण्डकी प्रदेशमै पहिलो डिजिटल वडा बनाउन आफूहरु सफल भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘सरकारी काम हाम्रो हातमा, हाम्रै साथमा भन्ने नाराका साथ मोबाइल एप सुचारु ल्याएका हौं,’ वडाध्यक्ष बास्तोलाले भने, ‘अब तपाईंहरु घरमै बसेर वडाका गतिविधि र सेवा लिन सक्नुहुन्छ ।’

Advertisement


उनका अनुसार एपमार्फत कुनै पनि ठाउँमा भएका घटनाहरुको जानकारी पनि दिन सकिन्छ । ‘घटना भएको देखेमा फोटो खिचेर एप्लिकेसनमा रिपोर्ट गर्न सकिन्छ । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर वडाले तत्कालै टोली खटाउने छ । सूचना दिनेको पहिचान भने गोप्य राखिनेछ,’ वडाध्यक्ष बास्तोलाले भने ।


एपमार्फत पोखरा १२ का बासिन्दाले नाता प्रमाणित, विवाह दर्ता, अविवाहित प्रमाणित, उजुरी रिपोर्ट, कर विभाग, कम्पनी दर्ता, घर नक्सा दर्ता, सामाजिक सुरक्षा, घटना दर्ता, जग्गा धनीपुर्जा हराएको सिफारिस, जग्गा रेखांकन, हकवाला र हकदार प्रमाणित, घर प्रमाणित लगायत सेवा लिन सक्नेछन् ।

Advertisement


विवाह दर्ताका लागि फर्म भरेर डिजिटल हस्ताक्षर गर्न वडा कार्यालय पुग्नुपर्ने हुन्छ । वडामा आएर लाइन लगाउनुपर्ने र बारम्बार धाउनुपर्ने बाध्यता एपले अन्त्य गर्ने वडाध्यक्ष बास्तोलाले बताए । ‘यो एपमार्फत वडा कार्यालय स्वयं सर्तक हुने, वडाबासीमा सूचना पठाउने, एपमार्फत नै काम गर्ने र तत्काल सेवा दिन सक्षम हुने हो,’ बास्तोलाले भने, ‘अहिले नै सबै सेवा सुविधा लागु नहुन पनि सक्छ । तर, यसले दिन सेवा सुविधान आगामी वर्षदेखि लागु हुन्छ । विस्तारै एपलाई परिस्कृत गर्दै जान्छांै ।’


एप प्लेस्टोरमा उपलब्ध छ । ‘पिएमसी वार्ड १२’ सर्च गरेर एप डाउनलोड गर्नुपर्छ । फोन नम्बरबाट लगइन गरेर एपमार्फत जहाँसुकैबाट सेवा लिन सकिने वडाध्यक्ष बास्तोलाले सुनाए । एप सार्वजनिक कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना र प्रविधिको क्षेत्रमा वडाले सरल र व्यवस्थित बनाउँदै लगेकोमा बधाई दिए ।


‘वडाले सूचना र प्रविधिमा फड्को मार्न सफल भएको छ । यसले सूचना र प्रविधि अनुसार कसरी काम गर्न सकिन्छ वडा नम्बर १२ उदाहरण बनेको छ,’ मेयर आचार्यले भने । महानगरले पनि सम्पूर्ण नगरवासीहरुका लागि डाटा संकलन गर्न चैत २५ गतेदेखि टोली खटाउने आचार्यले बताए । ‘हामीहरु २७ पृष्ठको फर्ममा डाटा संकलन गर्दै छौं,’ उनले भने, ‘यसपछि छिट्टै नगरवासीको हरेकको डाटा महानगरसँग हुन्छ । जनगणनाको तथ्यांकमा गरिबी र बेरोजगारीको तथ्यांक छ तर, हामीलाई थाहा छैन । ती गरिबी र बेरोजगारी को हुन् । अब हाम्रो गणनाले सम्पूर्ण जानकारी दिन्छ ।’

तपाईको प्रतिक्रिया