
रिखिराम जिसी, पोखरा ।
पोहोर साल कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेर आएपछि गण्डकीको टोलीलाई प्रदेश सरकारले सम्मान गर्यो ।
नेपाल क्रिकेट संघले नै आयोजना गरेको प्रतियोगितामा गण्डकीले फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरी उपाधि जितेको थियो । उपाधिसँगै गण्डकीले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपाधि जितेको टोलीलाई सम्मान गर्दै तत्कालीन अर्थमन्त्री बरालले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही ५० हजार दिने घोषणा गरेका थिए । तर, घोषणा गरेको १ वर्षसम्म पनि घोषणामै सीमित भएको छ ।
उपाधि जितेर प्रदेशको नाम र गौरव राख्न सफल भएको भन्दै गण्डकीका तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बराल र आन्तरिक मामिला मन्त्री डोबोटे विश्वकर्माले संयुक्त रूपमा प्रशंसापत्रबाट सम्मान गर्दै पुरस्कार घोषणा गरेका थिए । च्याम्पियन टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्यीय टोलीलाई पुरस्कार दिने अर्थमन्त्री बरालको घोषणा थियो ।
खेलाडीको प्रोत्साहन र उनीहरूलाई हौसला प्रदान गर्न सो पुरस्कार प्रदान गरिनेसमेत बरालले उल्लेख गरेका थिए । तर, घोषणा गरेको पुरस्कार नदिँदा खेलाडीले अपमानित महसुस गरे । अहिले त बराल नै अर्थमन्त्रीबाट पदमुक्त भइसके । सरकार पनि फेरिइसक्यो ।
उपाधि जित्दा खेलाडीका घरपरिवार छोरीहरुले पनि गर्न सक्ने रैछन् भनेर खुसी हुनुभएको थियो, १ वर्षसम्म पनि पुरस्कार नपाउँदा केहीले त खेल्दै छोडिसकेः दिवाकर थापा, अध्यक्ष क्रिकेट संघ स्याङ्जा
जिल्ला क्रिकेट संघ स्याङ्जा अध्यक्ष दिवाकर थापाले सामाजिक सञ्जालमार्फत अस्थिर राजनीतिले गर्दा खेलाडी मर्कामा परेका बताएका छन् । ‘ऐतिहासिक सफलता पाउँदा खेलाडीलाई सम्मान गर्दै हौसला र प्रोत्साहनका लागि घोषणा गरिएको पुरस्कार १ वर्षसम्म पनि प्रक्रिया अगाडि नबढ्दा महिला खेलाडीहरु प्रोत्साहित भन्दानि निरुत्साहित हुँदै खेलेर नि केही नहुने सोचले पलायन हुने सम्भावना बढ्दै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
खेलाडीले १ वर्षमा पनि पुरस्कार नपाउनु दुखद् भएको अध्यक्ष थापाले बताए । ‘उपाधि जित्दा खेलाडीका घरपरिवारले छोरीहरुले पनि गर्न सक्ने रैछन् भनेर खुसी हुनुभएको थियो, पुरस्कारको घोषणा गर्दा झनै खुसी हुनुभएको थियो,’ उनले भने, ‘१ वर्षसम्म पुरस्कार नपाउँदा खेलेर पनि केही हुने रहेनछ भनेर केही त खेल्दै छोडिसके ।’
गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले घोषणा गरेको रकम अहिलेसम्म खेलाडीले नपाएको बताए । ‘अलिकति बिडम्बना के भयो भने तत्कालीन सरकारले घोषणा गरेको हो, पछि के भयो भने अर्थमा घोषणा भयो, पछि त्यो फाइल खेलकुद मन्त्रालयमा गयो रे भन्ने सुनियो, पछि दुई मन्त्रालयबीच के मिलेन, अहिलेसम्म आएको छैन,’ उनले भने, ‘अहिलेको सरकारसँग फेरि पहल गरेको छौं ।’
तत्कालीन खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको टकराबका कारण खेलाडीले घोषणा भएको पुरस्कार पाउन नसकेका हुन् ।
गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले तत्कालीन खेलकुद मन्त्रालयले फाइल अगाडि नबढाउँदा उक्त प्रक्रिया रोकिएको बताए । ‘हामीले घोषणा गर्यौं, मन्त्रिपरिषद्बाट पास हुनुपथ्र्याे, मन्त्रिपरिषद्मा प्रस्ताव खेलकुद मन्त्रालयले लैजानुपथ्र्याे, तर खेलकुद मन्त्रालयले फाइल अगाडि बढाएन, जसले गर्दा पुरस्कार प्रक्रिया अगाडि बढ्न सकेन,’ पूर्वमन्त्री बरालले भने ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको बताए ।
‘अर्थ मन्त्रालयलाई हामीले प्रस्ताव पठायौं, मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाउने चिठी प्राप्त भएको छ, त्यहीअनुसार अगाडि बढ्छ,’ उनले भने ।
हामीले घोषणा गर्यौं, मन्त्रिपरिषद्बाट पास हुनुपथ्र्याे, मन्त्रिपरिषद्मा प्रस्ताव खेलकुद मन्त्रालयले लैजानुपथ्र्याे, तर खेलकुदले फाइल अगाडि बढाएन, त्यसैले प्रक्रिया अगाडि बढ्न सकेनः पूर्व अर्थमन्त्री रामजी बराल
गण्डकी प्रदेशकी वर्तमान अर्थमन्त्री सीता सुन्दासले छलफल गर्नुपर्ने विषय भएकाले छलफलपछि प्रक्रिया अगाडि बढ्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पहिलाको सरकारले पुरस्कृत गर्ने भनेको रहेछ, अस्ति उहाँहरु(खेलाडीहरू) बुझ्न आउनुभएको थियो । यसमा छलफल गर्नुपर्ला भनेको भएको छैन ।’
४ क्रिकेट खेलाडी नगदसहित सम्मानित
गण्डकी प्रदेश सरकारले ४ क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टुमा तेस्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करन केसी र अन्डर १९ वल्डकपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने दीपक डुम्रे, अर्जुन कुमाल र सुवास भण्डारीलाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ खेलाडीलाई सम्मान गरेका हुन् । मुख्यमन्त्री अधिकारीले खेलाडीहरु राष्ट्रका गहना भएको बताए ।
उनले खेलकुद र खेलाडीको उन्नयनका लागि प्रदेश सरकारले सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाए । सामाजिक विकास मन्त्री गुरुङले खेलकुदको माध्यमबाट देशलाई विश्वभर चिनाउन सफल खेलाडी र खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए । उनले क्रिकेट खेलको माध्यमबाट प्रदेश र देशको शिर उचो बनाएको भन्दै खेलाडीको योगदानको उच्च मूल्यांकन हुने विश्वास दिलाए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया