दुर्घटनाको सबकले फेरिएको ठूलीपाेखरी

पोखरा ।
गएका फागुन ७ मा पोखरा ५ धारापानीका ४ वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर भेटिएनन् ।
भोलिपल्टमात्रै नजिकको ठूलीपोखरीमा सुहानको शव भेटियो । घटनापछिस्थानीयले पोखरी संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै आक्रोश पोखे । पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए, सामाजिक सञ्जालमा स्थानीय सरकारको चर्काे आलोचना भयो ।
तारबार नहुँदा र जलकुम्भी र अन्य फोहरले भरिएकाले पोखरामा डुबेका बालकको मृत्यु भएको उनीको बुझाइ रह्यो । स्थानीयले पोखरी व्यवस्थापनको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य आफैं घटनास्थल पुगे । उनले पोखरी व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।
एक महिनामै पोखरीको स्वरुप फेरिन थालेको छ । ठूली पोखरी संरक्षण एवं निर्माण समिति बनाइएको छ । सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन बनेको छ ।
२०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी देखिएको छ । महानगरले पोखरीमा तारबारको लागि ९ लाख १७ हजार रकम विनियोजन गरेको छ । तारबारका लागि काम सुरु भइसकेको समितिका अध्यक्ष केसी बताउँछिन् ।
ताललाई जोखिममुक्त र आकर्षक बनाउने समितिको योजना छ । चाडै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रूपमा यसलाई विकास गर्ने लक्ष्य उनले सुनाइन् ।
‘यो तालको विशिष्ट महत्व छ तर संरक्षण र व्यवसस्थापनमा ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनुपर्यो’, नागरिक समाजका अगुवा रामबहादुर पौडेल भन्छन्, ‘तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र सम्वद्र्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’
पोखरा ५ का वडाध्यक्ष विष्णुुप्रसाद बराल अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्छन् । थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्य बढाउने गरी काम गर्न घटनाले सबक सिकाएको उनको भनाइ छ ।
समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा २ चरणमा पोखरी सफा गरिएको हो । जलकुम्भी लगायत जैविक वनस्पति र नकुहिने फोहोर दक्ष जनशक्तिसहित सफा गरिएपछि हेलाँ गरी ‘खुँडेपोखरी’ भनिने पोखरीले रुप फेरेको छ ।
सम्बन्धित सरकारी निकाय, स्थानीय र सामाजिक अभियन्ताहरुको सहकार्यमा ठूलीपोखरी चाँडै एउटा पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष केसी बताउँछिन् ।
तपाईको प्रतिक्रिया