सम्पादकीय: आँखा उपचारमा फड्को

समाधान संवाददाता २०७९ चैत १५ गते १२:००

नेपाल सरकारको नीतिमा आधारभुत स्वास्थ्य सेवामा आँखा उपचार पर्छ । नेपालको संविधान २०७२ले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था समेत गरेको छ । विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेपनि अस्पताल सञ्चालन तथा लगानीको दृष्टिले आँखा उपचार सेवा सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

Advertisement

जसको कारण नेपालका आँखाका बिरामी उपचारको लागि निजी क्षेत्रका भर पर्नु बाध्यता छ । सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत आत्मसाथ गरी चलेको नेपाल नेत्र ज्योति संघ नेपालको आँखा उपचार क्षेत्रमा ९० प्रतिशत योगदान छ ।

सुरुवातदेखि अहिलेसम्म नेदरल्याण्डको गैर सरकारी संस्था आई केयर फाउण्डेशनको सहयोग चलेको संघ विक्रम सम्बत २०३५ सालदेखि नेपालका दृष्टिविहिनको सेवामा तल्लिन छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने नाराका साथ ४५औँ नेत्रज्योति दिवस मनाई रहँदा संघले आँखा उपचार सेवालाई हरेक स्थानीय निकायहरुसम्म पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाका बिरामी, नगर तथा शहरी क्षेत्रमा अस्पताल भएकोले प्रत्येक पालिकामा आँखा उपचार सेवा पुर्‍याउने योजना अगाडी सारेको हो ।

आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँहरुदेखि पूर्व मेची र पश्चिम महाकालीसम्मका सर्वसाधारणलाई सहज र सर्वसुलभ उपचार सेवा पुर्‍याउने योजनाका साथ अगाडी बढेको संघले अहिलेसम्म ४४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ ।

नेपालका हरेक क्षेत्रलाई समेट्ने गरी २७ आँखा अस्पताल एवं १ सय ५० आँखा उपचार केन्द्र स्थापना गरिसकेको संघले सन् २०२२ सम्ममा कुल ३० लाख ७ हजार २ सय ९१ जनाको आँखा जाँच तथा उपचार गरेको छ । अहिलेसम्म २ लाख ७२ हजार ९ सय ५० जनाको आँखाको शल्यक्रिया गरेको छ ।

Advertisement

आँखाको उपचारको क्षेत्रमा गैर सरकारी संस्थाको तर्फबाट नेपालमा जस्तो संसारको कुनै पनि देशमा यति ठुलो योगदान भएको छैन । सगरमाथा, गौतमबुद्धको देश भने जस्तै नेपाल आँखाको राम्रो उपचार हुने देशको रुपमा विश्वमा परिचत छ । संघले आँखा उपचार सेवालाई विश्वव्यापी रुपमा फैलाउन ‘मेडिकल टुरिजम’ को अवधारणा अघि सारेको छ । आँखा उपचारको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा टिक्ने र बिक्ने जनशक्ति तयार पारेको संघले अफ्रिका कम्बोडिया लगायतका मुलुकमा विशेषज्ञ सेवा उपलब्ध गराउनु स्वागत योग्य काम हो ।

गैर नाफामुलक र स्वयंसेवी ढंगले काम गरेको संघले नेपालमा आँखाको उपचारमा अद्वितीय योगदानको सबैले सम्मान गर्नु पर्छ । सरकारको नीति निर्देशन तथा सहयोगमा नेपालमा आँखा उपचारको क्षेत्रमा अति विशिष्ट सेवा दिन सक्षम संस्था अहिले पनि दातृ निकायको भर पर्नु परेको छ । दातृ निकायको सहयोग दिगो र भरपर्दो नहुन सक्छ । नेपालमा आँखा सेवाको पर्यायबाची बनेको संघको सबै योगदानको सरकारले स्वामित्व ग्रहण गर्नु पर्छ । बदलिदो परिस्थितिमा तीनतहको सरकारले यथेष्ठ सहयोग गर्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया