फोहोर स्रोत, हो समस्या होइन

कल्पना बराल २०७९ चैत १५ गते १२:१०

पोखरा महानगरपालिका भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो, प्राकृतिक सम्पदायुक्त, सुन्दर पर्यटकीय नगरी हो ।

Advertisement

गण्डकी प्रदेशको राजधानीसमेत रहेको यस महानगरपालिकामा पेशा, व्यवसाय, अध्ययन भ्रमण एवं अन्य विविध अवसरको खोजीमा बाह्रय क्षेत्रबाट बसाइसराइ गरी आउने संख्यामा भएको वृद्धिका कारण जनघनत्व व्यापक रुपले बढिरहेको छ । बढ्दो जनसंख्या, बदलिदो उपभोग संस्कृतिका कारण महानगरपालिका क्षेत्रभित्र उत्सर्जन हुने फोहोरमैलाको परिमाणमा समेत वृद्धि भइरहेको छ ।

पोखरेलीको वर्षौ अघिको सपना र राष्ट्रिय गौरवको आयोजनाको रुपमा तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मार्ग प्रशस्त गर्दै महानगपालिका वडा नं. १४ बाच्छेवुडुवामा सम्वत २०६१ देखि फोहोरमैला व्यवस्थापन गर्दै आएको सेनिटरी ल्यान्डफिल स्थानान्तरण गरी पोखरा महानगरापलिका वडा नं. ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।

साबिकको ल्याडफिल साइटमाथि माटो हालेर पुरिएको छ । फोहोरमैलामाथि चार र गिद्धहरुको आवागमन हुने भएकाले त्यहाँ माटोले पुरिएको हो । फोहोरमैला दीर्घकालीन एवं वैज्ञानिक व्यवस्थापनका लागि जग्गा प्राप्ति, पूर्वाधार निर्माण, उपकरण तथा आधुनिक प्रविधिको प्रयोग गरी जनअपेक्षा बमोजिमकोे प्रशोधन केन्द्र स्थापना गर्नु महाननगरपालिकाको मुख्य ध्येय छ ।

जनसंख्याको चाप तथा पेशा, व्यवसाय, उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै फोहोरको प्रकृतिमा पनि परिवर्तन आएको छ ।

Advertisement

सँगसँगै फोहोर व्यवस्थापन गर्ने सोच, मान्यता र प्रविधिमा समेत व्यापक परिवर्तन आएको छ । मानव सभ्यता एवं विज्ञान र प्रविधिले ल्याएको परिवर्तनसँगै परिवर्र्तित स्वरुपमा हुने फोहोरको उत्सर्जनलाई रोक्न त सकिँदैन तर घटाउन र उचित व्यवस्थापन गर्न अवश्य सकिन्छ । त्यसका लागि महानगरपालिकाको अगुवाइ र आम सहरवासीको पूर्ण सहयोग र सहभागिता जरुरी छ । जैविक फोहोर विभिन्न विधिबाट कम्पोस्ट मल बनाउन र ग्याँस उत्पादन एवं घरपालुवा जनावरको खानाको रुपमा प्रयोग गर्न सकिन्छ ।

पेशा, व्यवसायको अवसर लिने तर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति नागरिकका लागि शोभनीय त हुँदै हुँदैन, दण्डनीयसमेत हुन्छ

पुराना कपडा, दूध, दही, तेल, प्लाष्टिक झोला, बोतल लगायत वस्तु पुनः प्रयोग गर्न सकिन्छ । टुथ ब्रस, टुथपेस्टको कभर, हर्पिक, सेम्पु, पेय पदार्थ, मिनरल वाटर लगायतका पुनर्चक्रण हुने वस्तु बिक्री गरी आम्दानी गर्न सकिन्छ । पुनःचक्रण गर्न नसकिने फिल्म रिल, र्‍यापिङ पेपर, चाउचाउ तथा चक्लेटका खोल लगायतका फोहोरबाट रचनात्मक प्रयोग, सजावटका वस्तुमा रुपान्तरण गर्न सकिन्छ ।

यस्ता किसिमको फोहोरको मिश्रणबाट बल्क उत्पादन गर्ने एवं प्लास्टिक रोड निर्माणको अभ्यास पनि सुरु भएको छ । फोहोर व्यवस्थापनमा सबै जना जिम्मेवार बन्ने हो भने ल्यान्डफिल गर्ने फोहोरको मात्रा निकै कम वा शून्यमा पुर्‍याउन सकिन्छ ।

महानगरपालिका कार्यालयले घरघरबाट निस्कने फोहोर, स्वास्थ्य संस्थाजन्य फोहोर र मलमूत्रजन्य फोहोर संकलन गरी ढुवानी एवं व्यवस्थापन गर्नको लागि सार्वजनिक निजी साझेदारी अवधारण अनुसार निजी तथा सामुदायिक साझेदारीसँग सहकार्य गरिरहेको छ ।

तालिका अनुसार सबै वडामा फोहोरमैला संकलन गर्ने व्यवस्था मिलाइएको छ । साझेदार कम्पनीलाई सेवा प्रवाहमा जिम्मेवार बनाउने, मुख्य सडक, घना वस्ती एवं व्यवसाय भएका वडामा दैनिक सडक बढार्ने कर्मचारीसहित फोहोर संकलनको व्यवस्था गरिएको छ ।

नागरिक स्तरमा फोहरमैला वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना गराउने, मृत पशु, चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा टाँगिएका पोस्टर, पम्प्लेट, हटाउने, वेवारिसे गाईवस्तु संकलन गरी कान्जिहाउसमा पुर्‍याउने, फोहरमैलासँग सम्बन्धित नागरिक गुनासो सुनुवाई गर्ने काम यस शाखाको मुख्य जिम्मेवारी हुन् ।

विभिन्न अध्ययन प्रतिवेदनले पोखरा क्षेत्रभित्र उत्सर्जन हुने फोहोरमैला प्रतिदिन १८० देखि २०० टनसम्म हुने गरेको देखाएका छन् । सन् २०२० मा विश्व बैंकले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा दैनिक १ सय ८८ टन फोहोर उत्सर्जन हुने उल्लेख गरेको छ । जस अनुसार कुहिने फोहोर ६८.६१ प्रतिशत , प्लास्टिक १९.९१, पेपर ४.५४ प्रतिशत ,शिशा १.९ प्रतिशत, टेक्साइटल २.९१ प्रतिशत, मेटल १.५३ प्रतिशत अन्य १.२१ प्रतिशत छ ।

पोखरा महानगरपालिकाले दैनिक १ सय टन घरायसी फोहोर, १० टन स्वास्थ्यसंस्था जन्य फोहोर, दैनिक औसत ६० हजार लिटर मलमूत्र जन्य फोहोर व्यवस्थापन गर्दै आएको छ । अनौपचारिक रुपमा होटल, रेस्टुरेन्ट एवं सब्जीमन्डीबाट पाल्तु जनावरका लागि दानाको रुपमा जैविक पदार्थ प्रयोग हुँदै आएको छ ।

बजार क्षेत्रबाट दैनिक जीवन गुजारा गर्र्ने सर्वसाधारणले चिसो पेयपदार्थ एवं मिनरल वाटरका बोतल लगायत बिक्री हुने कागज, कार्टुन र प्लास्टिकजन्य बस्तु संकलन गरी बिक्री गर्दै आएका छन् । बसोबास क्षेत्रका बस्तीहरुमा ६० प्रतिशत जैविक फोहोर घरमै व्यवस्थापन भएको छ । केही टोल विकास संस्था र क्लबले फोहोर वर्गीकरण गरी जैविक फोहरबाट मल उत्पादन गरी कौशि खेती गर्ने र बिक्री हुने फोहोर बिक्री गरी सामूहिक आम्दानी गर्दै आएका छन् ।

महानगरलाइ सफा, सुन्दर राख्ने मनाशायले नागरिक स्तरबाट नियमित सफाइ अभियान सञ्चालन भएका छन् । साथै महानगरपालिकाको बाहिरी क्षेत्रका भित्री बस्तीमा आआफ्नो घरअगाडि सडकसम्म सफा गर्ने र नियमित टोल र आमा समूहले आफ्नो टोल सफा गर्दै आएका छन् । यस्तो कार्यको महानरपालिका प्रसंसा नगरिरहन सक्दैन ।

तर मुख्य बजार क्षेत्र अर्थात् मुख्य सडकमा कर्मचारीले सडक सफा गरिसकेपछि सटर एवं घर सफा गरी फुटपाथको पेटी वा डिलमा फोहोर थुपारीदिनाले सहर फोहोर देखिरहन्छ । दैनिक सेवा प्रवाह हुने मुख्य बजार क्षेत्रमा भएका होटल, रेस्टुरेन्टले फोहोर संकलन गर्न गाडी आउने समयसम्म पनि नपर्खी साझ, बिहान र रातिको समयमा फोहोर सार्वजनिक स्थल, सडकको छेउ, नदी, नहर कुलोमा लगेर फालेको पनि भेटिएको छ ।

सुन्दर एवं पर्यटकीय महानगरका कारण पेशा, व्यवसायको अवसरमात्र लिने र आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति सुन्दर नगरीमा बसोबास गर्ने नागरिकका लागि शोभनीय त हुँदै हुँदैन, दण्डनीयसमेत हुन्छ । सार्वजनिक स्थलमा फोहोर फालेको पाइएका कसूर हेरेर १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था फोहोरमैला व्यवस्थापन नियमावली २०७४ ले गरेकाले सार्वजनिक स्थलहरुमा जथाभावी फोहोर फाल्ने जस्तो असभ्य, गैह्रकानुनी एवं दण्डनीय कार्य महानगरवासीबाट नहुने कुरामा महानगरपालिका विश्वस्त छ ।

सफाइ र सुन्दरता पोखरा महानगरपालिकाको पहिचान हो । सफा, स्वच्छ र सुन्दर पोखरा आम महानगरबासीको चाहना हो ।

महानगवासीको चाहनालाई यथार्थमा रुपान्तरण गर्न पोखरा महानगरपालिका दृढ संकल्पित छ । फोहोरमैला भनिएको वस्तुलाई पुनःप्रयोग, प्रशोधन र पुनर्चक्रण गरी आय आर्जन गर्न र रोजगार सिर्जना गर्नेतर्फ पनि महानगरपालिकाले योजना बनाएको छ ।

फोहोर संकलन तालिका थप विश्वसनीय बनाउने, फोहोरको दीर्घकालीन एवं वैज्ञानिक व्यवस्थापनका लागि प्रशोधन केन्द्र स्थापना गर्ने गरी फोहोरलाई समस्या रुपमा नभई स्रोतको रपमा स्थापित गर्ने दिशामा महानगरपालिका अगाडि बढेको छ । यो कार्यमा महनगरले सबै सचेत महानगरबासीको सहयोग अपक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया