किरण खरेललाई अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार

समाधान संवाददाता २०७९ चैत १५ गते १८:१७

पोखरा ।
गीतकार किरण खरेललाई पहिलो पटक अम्बर गुरुङ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । २ लाख नगद र सम्मानपत्रसहित खरेललाई आगामी वैशाख १६ गते हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

नेपाली गीतसंगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृतिमा स्थापित यो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिन्छ ।

प्राज्ञ सरुभक्त संयोजक, तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, संस्थाका अध्यक्ष उपेन्द्र पौडेल र सचिव डा चैतन्य अधिकारी निवर्तमान अध्यक्ष मोती भुजेल र परिवारका संगीत संयोजक एम.डि काफ्ले सदस्य रहेको सात सदस्यीय प्रतिभा छनोट समितिले खरेललाई सिफारिस गरेको हो ।

Advertisement

पोखरेली युवा सांस्कृतिक परिवारले अम्बर गुरुङ राष्ट्रिय संगीत कोष स्थापना गरी नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कार गर्ने व्यवस्था गरेको हो ।

नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान गर्न पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गर्नुभएका खरेललाई पुरस्कृत गर्न लागिएको हो,’ संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले भने ।

Advertisement

नेपाली संगीतका चर्चित व्यक्तित्व अम्बर गुरुङको सम्मानमा स्थापित पुरस्कारको अक्षयकोष २५ लाख बनाउने संस्थाका योजना छन् । अध्यक्ष पौडेल भन्छन्, ‘हामी २५ लाखको अक्षयकोष बनाउने योजनामा छौं । अहिले करिब २० लाख जम्मा भइसकेको छ ।’

नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङमा भएको थियो ।

उनको पुख्र्यौली घर तनहुँ हो । संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा ’नौ लाख तारा उदाए’ भन्ने अगमसिंह गिरीले रचेको गीत रेकर्ड गरेका थिए । उनी २०२६ सालमा संगीत विभागका प्रमुखका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा संगीत संयोजन गरेका थिए ।

५ दशकसम्म गीतसंगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका उनको सम्मानार्थ परिवारले पुरस्कार स्थापना गर्ने उद्देश्य राखेको थियो ।

किरण खरेलको जन्म १९९५ मा काभ्रेपलाञ्चोक भएको हो । उनका कृतिहरु ए दूरका सितारा (२०१४), के हो तिम्रो नाउँ, २०२, मेरी पारु (२०२२), प्रियतमा (२०३६) सार्वजनिक भएका छन् । उनले १०० भन्दा बढी नेपाली चलचित्रमा गीत रचना गरेका छन् ।

छिन्नतला गीत पुरस्कार( २०३९, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५६ ( चलचित्र र सांस्कृतिक मन्त्रालय) बाट खनाल पुरस्कृत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया