ज्येष्ठ नागरिकले पाएनन् भाडा छुट

प्रमिला कुँवर २०७९ चैत १६ गते १०:२७

प्रमिला कुँवर, पोखरा ।
पोखरा महानगरपालिका १३ गौंडामुखकी ६४ वर्षीया मनमाया गुरुङ गौंडामुखबाट गण्डकी अस्पताल जान सार्वजनिक बसमा चढिन् । गुरुङले ज्येष्ठ नागरिक परिचयपत्र देखाएर २० रुपैयाँ दिँदै छुट मागिन् । तर उनले छुट पाइनन्, उल्टो गाली खाइन् ।

Advertisement

ज्येष्ठ यात्रुलाई भाडामा सहुलियत दिने व्यवस्था नभएको भन्दै सहचालकले उनलाई झपारे । ‘सहचालकलाई सम्झाउने कोसिस गरें तर उनले बुझेनन् । पहिला दुई/तिनपटक छुट पाएकी थिएँ । तर आज दिन मानेनन् । मैले नभएको कुरा गरेको पनि होइन, सहचालकलाई कसरी थाहा भएन,’ उनले प्रश्न गरिन्, ‘हामी त बसमा नचढे पनि हुने जस्तो व्यवहार गर्छन्, भनेको ठाउँमा न त रोक्छन्, न त झार्दिन्छन् । आरक्षण सिटको व्यवस्था भए पनि सिट मिलाईदिन्नन् ।’

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकका लागि कम्तीमा २ सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ । ज्येष्ठ नागरिकलाई भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्थासमेत छ ।

ज्येष्ठ नागरिक लगायतले भाडा छुट दिनकै लागि सरकारले सार्वजनिक यातायातको वार्षिक करमा सहुलियत दिएको छ । राज्यका सबै निकायले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सहुलियतमा सेवा प्रवाह गर्ने नीति बनाउनुपर्ने ऐनमा उल्लेख छ ।

ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकको प्रमाणका रुपमा महिला तथा बालबालिका मन्त्रालयले जारी गरेको ज्येष्ठ नागरिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स वा पेन्सनपट्टा प्रयोग गर्न सक्ने ऐनमा उल्लेख छ ।

Advertisement

उक्लिनेबित्तिकै गुडिहाल्दा कहिले लडिन्छ, कहिले कता ठोक्किन पुगिन्छ

लेखनाथ तालचोककी ९० वर्षीया चन्द्रकला श्रीसको पनि उस्तै गुनासो छ । ज्येष्ठ नागरिक परिचयपत्रले सार्वजनिक बसमा सहुलियत पाउने व्यवस्था छ भन्ने सुने पनि आफूले कहिल्यै सहुलियत नपाएको उनले सुनाइन् ।

‘मलाई त परिचयपत्र देखाउने भन्ने थाहा छैन, बुहारी, नातिनीले परिचयपत्र देखाएर छुट मागेका थिए । पेट्रोलको भाउ बढेको छ, सबैलाई छुट दिएर हामी कसरी बाँच्ने भनेर सहचालकले गाली गरे,’ श्रीसले भनिन्, ‘बसमा चढ्न पनि गाह्रो हुन्छ । उक्लिनेबित्तिकै गुडिहाल्दा कहिले लडिन्छ, कहिले कता ठोक्किन पुगिन्छ । सहचालक र चालकले सहयोगी व्यवहार गर्न सिक्नुपर्छ ।’

बुढ्यौलीमा बसको यात्रा सहज हुँदैन । स्थानीय तह सक्रिय नहुँदा सहुलियत व्यवस्था कार्यान्वयन हुन नसकेको राष्ट्रिय ज्येष्ठ नागरिक केन्द्र गण्डकी अध्यक्ष कुसुमकेशव पराजुलीले उल्लेख गरे । सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिकका लागि आरक्षण सिट छुट्याए पनि उनीहरु पूरै भाडा तिर्न बाध्य भएको पराजुली पनि बताउँछन् ।

‘प्रदेशमै कार्यान्वयन भएको छैन । स्थानीय तहबाट काम गर्नुपर्छ, कतिपय ज्येष्ठ नागरिकलाई नै थाहा छैन सहुलियतका बारेमा ।

उनीहरुसँग सम्बन्धित निकायले समन्वयन गर्नुपर्छ,’ पराजुलीले भने, ‘ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने, यातायात व्यवसायीलाई करमा छुट दिने भनेर सरकार र यातायात व्यवसायीबीच सम्झौतासमेत भएको छ ।’

साँझ ५ बजेपछि भाडामा छुट नपाउँदा विद्यार्थी पनि मारमा परेका छन् । शनिबार र सार्वजनिक बिदाका बेलामा छुट नपाएको विद्यार्थीहरु बताउँछन् । स्कुल/क्याम्पस ड्रेसमा भए पनि विद्यार्थी परिचयपत्र छैन भने पनि छुट नपाइने विद्यार्थीहरुको भनाइ छ ।

पोखरा यातायात व्यवसायीका क्यु संयोजक सुर्जे गुरुङले एकपटकमा २ जना ज्येष्ठ नागरिकलाई छुट दिने व्यवस्था रहेको सुनाए । चालक र सहचालकलाई जानकारी दिए पनि नियमित अनुगमन नहुँदा यो व्यवस्था कार्यान्वयन हुन नसकेको गुरुङको भनाइ छ । यातायात बोर्डमा कुरा राख्ने तथा आरक्षण सिट र नियम अनुसार भाडा छुटको व्यवस्था भए÷नभएको नियमित जाँच गर्ने गुरुङले प्रतिबद्धता जनाए ।

सरकारले दिएको भाडा छुट, यातायात व्यवसायीका समस्याका बारेमा पोखराका सबै स्थानीय तहका प्रतिनिधि, यातायात व्यवसायी, जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छलफल गरिने उनको भनाइ छ । ‘फर्जी विद्यार्थी परिचयपत्रको प्रयोग बढिरहेको छ, जसले यातायात व्यवसायीलाई समस्या परेको छ,’ उनले भने, ‘फर्जी विद्यार्थी परिचयपत्र फेला परेका बेला प्रहरी कार्यालयमा लगेर विद्यार्थीलाई सम्झाएका पनि थियौं, फर्जी परिचयपत्र नियन्त्रणका लागि पनि स्कुल, कलेज तथा अफसेट प्रेसहरुमा जाने तयारी छ ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया