‘गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाऊ’

समाधान संवाददाता २०७९ चैत १६ गते १०:५७

पोखरा ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । परिषद्को पोखरामा हुने १३ औं राष्ट्रिय पार्षदसभाको सन्दर्भमा बुधबार भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङले संविधानको मर्म र भावना अनुसार गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरे ।

Advertisement

‘नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषाको रुपमा तमु (गुरुङ) भाषालाई मान्यता दिलाउने व्यवस्था गरेको छ,’ अध्यक्ष गुरुङले भने, ‘आफ्नो समुदायको मातृ भाषालाई सरकारी काम काजको भाषा बनाउन माग राख्दै ज्ञापनपत्र बुझाउनेदेखि दबाबमूलक कार्यक्रम गर्दै आएका छौं ।’ उनले नेपाल सरकारले गुरुङ भाषा पढाउने निर्णय गरे पनि आवश्यक बजेट व्यवस्था नगरेको गुनासो गरे ।

अध्यक्ष गुरुङले नेपालका गुरुङ समुदायको सिको गरेर सिक्किममा गुरुङ भाषामा कक्षा १२ सम्म पढाइ भएको बताए ।

परिषद्का महासचिव डम्बर गुरुङले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालादेखि सरकारी कामकाजको भाषा बनाउन दबाबमूलक कार्यक्रम गरे पनि सुनुवाइ नभएको उल्लेख गरे । उनले भाषा आयोगले गण्डकीमा त्यस्तो कार्यक्रम लागु गर्न सिफारिस गरेको बताए ।

महासचिव डम्बरले पार्षदसभामा गुरुङको थाकथलोको ऐतिहासिक पहिचानसँग जोडिएको नामलाई खसकरण गरिएको भन्दै गुरुङको मातृभाषामा फर्काउनका लागि पहल गरिने उल्लेख गरे ।

Advertisement

अध्यक्ष कर्णले ले गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अधिकारका विषयमा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल संविधानले परिकल्पना गरेका राज्यको विकासका बारेमा संस्थागत धारणाहरु निर्माण गर्ने विषयमा महत्वपूर्ण नीतिहरु पारित गर्नै लक्ष्यसहित पोखरामा केन्द्रीय पार्षद्सभा गर्न लागिएको जानकारी दिए ।

‘तमु (गुरुङ) भाषालाई सरकारी कामकाजको भाषा घोषणा हाम्रो आह्वान, तमु भाषामा तमु थातथलोको नाम पुनस्र्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ १३ औं केन्द्रीय पार्षद सभा यही चैत १८ र १९ गते पोखरामा हुन लागेको हो ।

पार्षद सभामा देशभरबाट ६ सय प्रतिनिधिले भाग लिने छन् । पोखराको चिप्लेढुंगाबाट चैत १८ गते झाँकीसहितको र्‍याली पोखरा सभामा पुगेर सभामा कार्यक्रममा परिणत हुनेछ । २०६५ चैत १५ देखि १८ गतेसम्म चितवनमा ऐतिहासिक तमु एकता राष्ट्रिय महाधिवेशन गरी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद स्थापना गरिएको हो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं राष्ट्रिय परिषद् कास्की अध्यक्ष सीता गुरुङ र सञ्चार समिति संयोजक खीमा गुरुङले परिषद्सभाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव निर्वाचित शंकरबिरही गुरुङलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया