हिमालको फोहोर हटाउँदै नेपाली सेना

पोखरा ।
अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झन्डा हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्वकर्ता क्या. भीमबहादुर भुजेललाई झन्डा हस्तान्तरण गरेका हुन् ।
प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथमै रहेको बताए । ‘पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृखलाहरुको काखमा रहेको सहर हो,’ प्रमुख आचार्यले भने, ‘हिमाल विनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ ।’
पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । सर्वसाधारणको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्य लागि नेपाली सेनाले देखाएको तत्परता सराहनीय भएको प्रमुख आचार्यले जनाए ।
सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद १५ लाख सहयोग हुने उनले घोषणा गरे ।
अन्नपूर्ण हिमाल सफाइका लागि जान लागेको टोलीलाई पोखरा महानगरको झन्डा र १५ लाख
नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति उपरथि दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको जनाए । हिमाल र बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनको भनाइ छ ।
सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटरभन्दा माथिका सबै हिमालमा सञ्चालन गरिने उपरथि बानियाँले उल्लेख गरे । ‘नेपालका हिमालहरूमा थुप्रिएको फोहोर समयमा नै व्यवस्थापन गर्न सकियो भने गम्भीर प्रकृतिका वातावरणीय प्रभावबाट जोगिन सकिन्छ,’ उनले भने ।
यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीले गर्ने पूर्वाभ्यासका क्रियाकलाप ८ हजार मिटर माथिका विभिन्न हिमालमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू संख्यामा वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका संघ, संस्थाले प्राविधिक सहयोग गरेका छन् ।
अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।
विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया