सिस्टेनी मेलाको चिनारी छेलो

लेखनाथ ।
हरेक मेला तथा महोत्सवका आआफ्ना विशेषता हुन्छन् । लेखनाथमा हुने सिस्टेनी मेलाको पनि छुट्टै पहिचान र विशेषता छ ।
छेलो खेलको चिनारीले विशिष्ट बनाएको छ सिस्टेनी मेलालाई । पहिलापहिला गाउँघरमा हुने मेलाहरुमा कुनै न कुनै कुराले त्यो मेलालाई चिनाउने गरेजस्तै कास्कीको रुपाताल किनारामा हुने सिस्टेनी मेलामा छेलो हान्ने प्रतियोगिताले ख्याति कमाउने गरेको थियो ।
उक्त ठाउँमा हुने मेलामा टाढाटाढाबाट पनि छेलो हेर्नैका लागि दर्शकहरु आउने गरेको दोस्रो सिस्टेनी मेलाका आयोकहरु बताउँछन् ।
रुपातालको प्रचारमा सहयोग पुग्ने गरी शान्तिरुपा बराहथोक तमु युवा परिवारले आयोेजना गरेको सिस्टेनी मेला २०७९ सुरु भएको छ । मेलामा विविध प्रकारका खेलहरु सञ्चालन भएका छन् । बुधबार संघीय सांसद मनबहादुर गुरुङले छेलो हानेर खेलको सुरुआत गरेका थिए ।
चैत १७ गतेसम्म चल्ने मेलामा भलिबल प्रतियोगिता, रस्साकसी लगायत कुखुराको भाले समाउने प्रतियोगिता सञ्चालन हुने भएका छन् । खुला भलिबल प्रतियोगितामा १३ समूहका बिच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजयी समूहले ६० हजार नगद, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले ३० हजार र साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रमेश गुरुङले जानकारी दिएका छन् । तृतीय पुरस्कार १५ हजार रुपैयाँको छ । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जा लगायत जिल्लाबाट टिम दर्ता भएका छन् ।
अनुशासित टिमलले ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सर्भिस गर्नेलाई ट्रफी र जर्सी पुरस्कार दिइने क्लबका अध्यक्ष फसेलबहादुर गुरुङले जानकारी दिएका छन् ।
यता छेलो हान्ने प्रतियोगितामा सहभागी ८ जनामध्ये कमल आले विजयी भएका छन् । रस्साकस्सी तान्ने खेलमा सहभागी ४ टिममध्येबाट शान्ति रुपा बराहथोक विजयी भएको छ ।
रुपाताल खोलाको छेउमा परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै रुपातालको प्रचार र पर्यटकीय रुपमा प्रवद्र्धन गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको विकास र कला संस्कृतिको संरक्षण गर्नु नै मेलाको मुख्य उद्देश्य रहेको शान्ति रुपा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले जानकारी दिए ।
मेला सम्पन्न गर्न तीन लाख ९९ हजार रुपैयाँ खर्च हुने र २ लाख २५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको अर्थ संकलन समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताएका छन् ।
तपाईको प्रतिक्रिया