मानव बेचबिखन रोक्न तालिम

समाधान संवाददाता २०७९ चैत १७ गते १२:३३

पोखरा ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) बाल संरक्षण, मानव बेचबिखन तथा ओसारपसारको अवस्थाका सवालमा सेवा प्रदायकहरुलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । सुरक्षाका लागि साथ साथ परियोजना अन्तर्गत अभिमुखीकरण गरिएको सेलर्डका सचिव सुकदेव सापकोटाले जानकारी दिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईले अपराध पीडित तथा प्रभावित बालबालिकाका अधिकारहरू, सिद्धान्त र कानुन, अधिवक्ता कपिल अर्यालले बालबालिका बिरुद्ध हुने कसुरहरुको विषयमा सहजीकरण गरे ।

कार्यक्रममा अधिवक्ता सन्तोष महर्जनले नेपालमा पारिवारिक पुनर्मिलन तथा क्षतिपूर्तिको वर्तमान परिदृश्य, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका बाल अधिकार अधिकृत बद्रीप्रसाद वाग्लेले नेपालमा वैकल्पिक हेरचाह अवधारणा, कानुनी प्रावधानको विषयमा प्रशिक्षण दिएका छन् ।

Advertisement

जिल्ला न्यायाधीश भट्टराईले पीडितले छिटोभन्दा छिटो न्याय र क्षतिपूर्ति पाउने व्यवस्था गरेको बताइन् । अधिवक्ता अर्यालले नेपालमा बाल श्रमलाई व्यवहारमा निषेध गर्न नसकिएको उल्लेख गरे । उनले बाल संरक्षणका नाममा बाल श्रममा लगाउने काम भएको जानकारी दिए । आन्तरिक रुपमा मानव बेचबिखनको समस्या नदेखिने गरी भइरहेको उनले उल्लेख गरे ।

बाल अधिकार अधिकृत वाग्लेले अधिकारमुखी अवधारणाको रुपमा आएको बाल बालिकासम्बन्धी ऐन २०७५ विशिष्टिकृत ऐन भएको दाबी गरे । उनले बाल बालिकाको हेरचाह र वृत्ति विकासमा बाबुआमा दुबैको समान दायित्व हुने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया