फेवा महोत्सव सफल पार्ने वाचा

समाधान संवाददाता २०७९ चैत १७ गते १७:२९

पोखरा ।
यही चैत २९ गतेबाट सुरु हुने फेवा नव वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयमा ध्यान दिन सरोकारवाला सुझाव दिएका छन् ।

आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफलमा उनीले सुरक्षाको विषय संवेदनशील बन्न आग्रह गरे ।

महोत्सवकै समयमा रेस्टुरा र होटलमा खान बस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ ।

Advertisement

कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुवहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क असुल्दा गलत सन्देश गएको अनुभव सुनाए । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिन सक्नुपर्ने सुझाव उनले राखे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्रान्डकै रुपमा स्थापित भइसकेको जनाए । यसलाई अझै परिस्कृत गर्दै सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रिबुकिङको सुविधा दिनुपर्नेमा जोड दिए ।

Advertisement

सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट प्रचारप्रसारको कामलाई तीव्रता दिनुपर्ने उनले बताए । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार राखे । संघ अन्तर्गतका होटलहरुले कोठाको मूल्यमा विगतमा जस्तै प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी उनले गराए ।

रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको पनि उनले सुनाए । खाना, संस्कृति र पर्यटनलाई जोड दिएर पर्यटन प्रवद्र्धन गर्ने तथा कोभिड १९ बाट अप्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले लिएको उनले बताए । पृथ्वी राजमार्गको जारी स्तरोन्नति र केही महिनाअघि पोखरामा भएको जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको उनको भनाइ छ ।

निःशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव अन्तर्गत ४ नम्बर स्ट्रिट अगाडि र सेन्ट्रल प्यवान्टमा सांस्कृतिक कार्यक्रम हुने छन् । उद्घाटनको दिन झाँकी र र्‍याली निकालिनेछ ।

टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्रान्डिङमा सघाउ पुगेको बताए । नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने जनाए ।

महोत्सवका सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझको समयमा स्थायी रुपमा उज्यालो बनाउन वडाले पहल गर्नुपर्नेमा जोड दिए । पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँ ठाउँमा सेल्फी बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव दिइएको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेल, नेपाल पर्वतारोहण संघ गण्डकी सदस्य शेषकान्त शर्मा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी अध्यक्ष उदय सुवेदी, महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी अध्यक्ष बाबुराम पाण्डे, परिषद्का सदस्य जीवनराज सापकोटा, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव अनिता खड्का भट्टराई, व्यवसायी वलराम गिरी, महासचिव राजेन्द्र ढकाल र संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले बोलेका थिए ।

तपाईको प्रतिक्रिया