ओलीको अभिव्यक्तिले मुस्ताङका एमाले आक्रोशित

मुस्ताङमा बौद्ध कलेज खोल्नेबारेको ओलीको अभिव्यक्ति र दृष्टिकोणमा परिवर्तन नआए ग्रासरुट अभियानमा ३ पालिकाको सहभागिता नरहने चेतावनी

समाधान संवाददाता २०७९ चैत १८ गते १९:५७

सुन्दरकुमार थकाली
जोमसोम ।
नेकपा(एमाले)मुस्ताङको मिसन ग्रासरुट अभियान शनिबारदेखि सुरु भएको छ । ग्रासरुट अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

Advertisement


अभियानको उद्घाटन गर्न मुख्यमन्त्री अधिकारी पोखरा–जोमसोम हवाईमार्ग हुँदै जोमसोम आएका हुन् । एमाले संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीसँगै एमाले केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख कृष्ण केसी र केन्द्रीय सदस्य नवराज पौडेल पनि मुस्ताङ आएका छन् ।


एमाले पार्टी संगठन सुदृढीकरण तथा अभियान विस्तारका लागि आयोजित जिल्ला, पालिका, वडा तहको मिसन ग्रासरुट कार्यक्रमलाई एमाले केन्द्रीय सदस्यद्वय कृष्ण केसी र नवराज पौडेलले सम्बोधन गर्ने भएका छन् ।

Advertisement

एमाले जिल्ला कमिटी मुस्ताङद्वारा आयोजित मिसन ग्रासरुट अभियानको पहिलो उद्घाटन समारोहमा एमाले कार्यकर्ताले मुस्ताङमा बौद्ध कलेज निर्माण गर्ने विषयलाई लिएर केही हप्ताअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्को आलोचना गरे ।


अभियानको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री अधिकारीले कार्यक्रम र अभियानको औचित्य माथि संक्षिप्त जानकारी गराएका थिए ।

Advertisement

त्यसलगत्तै एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पार्टी अध्यक्ष ओलीले मुस्ताङको यर्थाथ र वास्तविकता अध्ययन नगरी बौद्ध कलेज स्थापनाका विषयमा विवादास्पद अभिव्यक्ति दिएको बताए ।


गाउँपालिका अध्यक्ष बिष्टले पार्टी नेतृत्वले मुस्ताङका विषयमा दिएको भनाई यथार्थभन्दा बाहिर रहेको र यसलाई एमाले समर्थित कार्यकर्ता र मुस्ताङबासीलाई दुखी तुल्याएको सुनाए ।

‘मुस्ताङका बौद्ध स्कुलमा माध्यमिक तहको पढाइ हुन्छ, त्योभन्दा माथिको शिक्षा अध्ययन गर्न भारत र काठमाडौं जानुपर्छ,’ अध्यक्ष बिष्टले भने, ‘यहीं कलेज भइदिए यहाँका बौद्धमार्गी विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्न निकै सहज हुन्थ्यो ।’

गापा अध्यक्ष बिष्टले अध्यक्ष ओलीले दिएको अभिव्यक्ति र मुस्ताङप्रतिको दृष्टिकोणमा परिवर्तन नआएमा ग्रासरुट अभियानमा ३ पालिकाको सहभागिता नरहने चेतावनी दिए ।


मुस्ताङ बौद्ध संघको सिफासिसमा मुस्ताङमा बौद्ध कलेज निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले समन्वय गरेको थियो । कलेजको विषयमा नकारात्मक समाचार र अभिव्यक्ति आएपछि सो गाउँपालिकाका अध्यक्षले चर्को आलोचना थेग्न परेको थियो ।

मिसन ग्रासरुट अभियानमा सो पालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले विश्व विद्यालयका विषयमा यथार्थभन्दा नियोजित प्रसार भएको बताए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्थानीय बौद्धमार्गी विद्यार्थी अध्ययन गर्ने उद्देश्यले बौद्ध कलेज खोल्न सहयोग सिफारिस गरेको उल्लेख गरे ।

वारागुङको फल्याक निषेधित क्षेत्रभित्र नपर्ने र खम्पाले विद्रोह गरेको ठाउँ नभएको प्रष्ट्याए । उनले पार्टी अध्यक्ष ओलीले एक चीन नीति विरुद्ध हुने खालको आसयको विश्व विद्यालय भनेर दिएको अभिव्यक्ति गलत भएको र यसले एमाले कार्यकर्तामा निरासा उत्पन्न गराएको बताए ।


मिसन ग्रासरुटको शुभारम्भ गर्दै मुख्यमन्त्री खगराज अधिकारीले बौद्ध कलेजको विषयमा पार्टी अध्यक्ष ओलीले दिएका अभिव्यक्तिलाई लिएर थप विवादित बनाउँदा पार्टी संगठन कमजोर हुने भएकाले कार्यकर्ताहरुलाई संयमित भइदिन आग्रह गरे ।

‘पार्टी अध्यक्षले बोल्नुभएको विषय यहाँको कुरा सुन्दा यथार्थभन्दा फरक देखियो, अध्यक्षको तर्फबाट मैले नै क्षमा मागेँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘अभियान सकिएपछि यो विषयलाई पार्टी अध्यक्षलाई सुनाउँला, उहाँले पनि कुरा बुझ्नु हुन्छ, उहाँले रियालाइज गर्नु हुनेछ ।’


एमाले केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग उपप्रमुख कृष्ण केसीले एमाले विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति लागि परेको बताए । अर्का केन्द्रीय सदस्य नवराज पौडेलले जनताको घरदैलोमा जनताको मन जित्न ग्रासरुट अभियानले योगदान पुर्‍याउने उल्लेख गरे ।

कार्यक्रममा एमालेका विभिन्न जनवर्गीय संगठनका जिल्ला स्तरीय नेताकार्यकर्ताले आफ्ना धारणा राखेका थिए ।


मुख्यमन्त्री अधिकारीले गरे विवादित बनेको मुस्ताङमा बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गाको स्थलगत अवलोकन गरे ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकमा रहेको विश्व विद्यालयका लागि छुट्याइएको जग्गाको मुख्यमन्त्रीसहितको टोलीले त्यहाँ पुगेर अवलोकन गरेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले पार्टी नेतृत्वले दिएको अभिव्यक्तिले आफुहरुको भावनामा निकै ठुलो ठेस पुगे पनि मुख्यमन्त्री अधिकारी गाउँमै आएर कार्यकर्तालाई सम्झाउँदा खुसी लागेको बताए ।

उनले मुस्ताङको बौद्ध कलेजका विषयमा जेजति चर्चामा आए ती सबै सत्य नभएको र पार्टी नेतृत्वलाई गल्ती सच्याउन अनुरोध गरेको जनाए ।

मुख्यमन्त्री अधिकारीले स्थानीयलाई धार्मिक दर्शनसहित बौद्ध धर्मको सम्मान गर्दे आक्रोशित कार्यकर्तालाई शान्त बनाउन लागेका थिए ।

मुख्यमन्त्री अधिकारीले स्थानीय विद्यार्थी पढ्ने बौद्ध कलेज खोल्ने विषयमा आफू पूर्ण सकारात्मक रहेको र यसतर्फ आफूले पनि सक्दो पहल गर्ने बताए ।


बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गा करिब ७ घरधुरीको निजी जग्गा हो । उनीहरुले कलेज खोल्न मुस्ताङ शाक्या बौद्ध संघलाई दान दिएका थिए ।

सोही जग्गा हेर्न पुगेका मुख्यमन्त्री अधिकारीले फल्याक गाउँको धज्याङ पर्वमा धनुषवाण प्रहार गरी रमाइलो अनुभूति लिएका छन् ।

धज्याङमा तारो हान्ने खेल शुक्रबारदेखि सुरु भएको हो । मुख्यमन्त्री अधिकारीसहित एमाले केन्द्रीय सदस्य कृष्ण केसीले पनि धनुषवाण हान्ने खेलको अनुभव लिएका छन् ।

तपाईको प्रतिक्रिया