स्वर्णिमलाई सर्वेन्द्रको चुनौती

कांग्रेसले चुनाव जित्न मत संरक्षण गरे पुग्छ

रिखिराम जिसी २०७९ चैत १९ गते १०:२८

रिखिराम जिसी, पोखरा ।
सार्वजनिक बौद्धिक छवि भएका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ १ को उपनिर्वाचन आफ्नो पक्षमा पार्ने दाउमा छ । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत नेपाल प्रहरीमा क्षमता प्रदर्शन गरेर काबिल छवि बनाएका सर्वेन्द्र खनाललाई उम्मेदवार घोषणा गरेर चुनौती खडा गरिदिएको छ ।

रामचन्द्र पौडेलले धेरैपटक चुनाव जितेको यो निर्वाचन क्षेत्रको आगामी प्रतिस्पर्धाको चर्चामा स्वर्णिम र सर्वेन्द्र आमनेसामने देखिएका छन् । ४ मंसिरको चुनावमा ६ हजार मतान्तरले पछि परेको एमाले सर्वेन्द्रलाई उम्मेदवार बनाएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । रास्वपा कांग्रेस र तटस्थ मत तानेर जित निकाल्ने रणनीतिमा छ । कांग्रेसको रणनीति भने मत संरक्षण नै हो ।

२०७४ सालको निर्वाचनमा एमालेका किसान श्रेष्ठले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पराजित गरेको निर्वाचन क्षेत्रको उपनिर्वाचन यसपालि स्वर्णिम र सर्वेन्द्रको उम्मेदवारीले रोचक मोडमा पुगेको छ । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेकै दिन अर्थविद् डा. वाग्लेले कांग्रेस परित्याग गरेर रास्वपा रोजेका थिए । स्वर्णिमलाई उम्मेदवार घोषणा गर्दै शनिबार रास्वपा सभापति रवि लामिछानेले स्वर्णिमलाई भविष्यको अर्थमन्त्रीको संज्ञा पनि दिए ।

Advertisement

स्वर्णिमलाई जिताए तनहुँ १ ले अर्थमन्त्री पाउने भन्दै उनले मतदाता तान्ने रणनीतिक मन्तव्य शनिबारको पत्रकार सम्मेलनमा दिएका थिए । ‘तनहुँले तनहुँको मात्रै नेता छान्दैन यसपटक, यो देशको अर्थमन्त्री छान्दैछ,’ उनले भने । तनहुँ १ मा क्षेत्रमा मंसिरको निर्वाचनमा रास्वपा प्रत्यक्षतर्फ चौथो भएको थियो ।

प्रत्यक्षमा चौथो रास्वपा समानुपातिकमा भने तेस्रो थियो

Advertisement

समानुपातिकमा भने तेस्रो भएको थियो । त्यसो त उक्त निर्वाचन क्षेत्रमा उल्लेख्य मत गोविन्दराज जोशीको पनि थियो । जोशी र एमाले उम्मेदवार एकबहादुर रानाको मत जोड्दा रामचन्द्र पौडेलका भन्दा बेसी हुन्थ्यो । यसैले एमालेले सार्वजनिक छवि (पब्लिक फिगर) भएका सर्वेन्द्रलाई उम्मेदवार बनाएर जित आफ्नो पक्षमा पार्ने कोसिस गर्दै छ ।

चौथो भएको रास्वपाले यसपालि तनहुँ १ मा घण्टी बजाउला त ? अघिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेर चौथो भएको रास्वपा तनहुँ संयोजक विकास सिग्देल यसपालि रास्वपाका वाग्ले रास्वपाले जित्नेमा ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘अघिल्लोपटक आधार बसेको थिएन, पर्ख र हेरको अवस्था थियो नि त, यसपालि भने हाम्रो आधार बसेको छ । तनहुँ १ का जनताले रास्वपाका उम्मेदवारलाई जिताउँछन् भन्नेमा म ढुक्क छु ।’

रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । तनहुँ १ बाट निर्वाचित भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत प्राप्त गरेका थिए । एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६, राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ ल्याएका थिए ।

विश्वले चिनेको, बुझेको उम्मेदवार भएकाले तनहुँमा रास्वपाको उम्मेदवार विजयी हुने जिल्ला संयोजक सिग्देलले दाबी गरे ।

‘अघिल्लो निर्वाचनमा उम्मेदवार चिनिएका थिएनौं, पार्टीलाई विश्वास थिएन, अहिले पार्टीलाई पनि जनताले चिनेका छन्, उम्मेदवार पनि विश्वले चिनेको, बुझेको व्यक्ति हुनुहुन्छ । त्यसैले तनहुँमा हाम्रो जित सुनिश्चित छ,’ उनले भने । यसपालि भने रास्वपाका उम्मेदवार सक्षम भएकाले जनताले पार्टी भन्दा पनि व्यक्ति हेरेर मत दिने संयोजक सिग्देल विश्वास व्यक्त गरे ।

‘उम्मेदवार स्वर्णिम वाग्ले अर्थविद् नै हो, व्यक्ति विषेश चाहिँ तनहुँले यत्तिको व्यक्तिलाई न्याय दिन्नुपर्छ, यत्तिको मान्छेलाई हराउनु हुन्न भन्ने नै जितको मुुख्य आधार हो जस्तो लाग्छ मलाई,’ सिग्देलले भने ।

मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ रास्वपा तेस्रो भएको थियो । रास्वपाले १२ हजार ७ सय ७३ मत प्राप्त गरेको थियो । २० हजार १ सय ५८ मत प्राप्त गरेको नेपाली कांग्रेस पहिलो, १६ हजार ६ सय ८३ मत प्राप्त गर्दै नेकपा एमाले दोस्रो भएको थियो । समानुपातिकतर्फ माओवादी केन्द्रले ७ हजार ३ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ५ सय ७७ र नेकपा एकीकृत समाजवादी ९ सय ५० मत प्राप्त गरेका थिए ।

रास्वपा गण्डकी प्रदेश समितिका सभापति राजन गौतम तनहुँका जनताको चेनता स्तर राम्रो भएकाले रास्वपाका उम्मेदवारलाई भोट दिनेमा ढुक्क रहेको बताउँछन् । ‘जान्नेलाई उम्मेदवार छान्ने भन्ने हाम्रो पोलिसी हो, अन्तर्राष्ट्रिय व्यक्तित्व, जनताले पनि देखिसकेको व्यक्तिलाई उम्मेदवार बनाएका छौं, तनहुँ भनेको राजनीतिक रुपमा धेरै बुझेको क्षेत्र हो भन्ने बुझाइ छ,’ उनी भन्छन्, ‘तनहुँका जनताले रास्वपाका उम्मेदवारलाई भोट दिएर जिताउँछन् भन्नेमा म ढुक्क छु ।’

तनहुँमा संगठन विस्तार बनाउँदै अगाडि बढेको प्रदेश सभापति गौतमले बताए । ‘संगठन विस्तार भएका ठाउँमा एक्टिभ बनाउने, नभएका ठाउँमा संगठन विस्तार गर्ने गरी अगाडि बढेका छौं,’ उनले भने ।

गण्डकी प्रदेशकै गोरखा पुख्र्याैली थलो भएका स्वर्णिमलाई कांग्रेसका मतदाताको पनि मत आउने आकलन रास्वपाले गरेको छ । सर्वेन्द्र भने गण्डकी प्रदेशको मात्रै नभई तनहुँ र त्यो पनि क्षेत्र नम्बर १ कै बासिन्दासमेत हुन् । उनले यसअघि काठमाडौं ६ बाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । स्वर्णिम पहिलोपटक प्रत्यक्ष रुपमा संसदीय चुनावमा होमिएका हुन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया