‘सामुदायिक शिक्षालय समुदायका पहिचान’

पोखरा ।
सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुदायिक संस्थाको महत्व समुदायले नबुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाइ छ ।
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उनीहरुको भनाइ छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरुले बताए ।
टोल संस्था विकास समन्वय समिति अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताए । ‘गुणस्तरीय र संख्यात्मकमा मात्र ध्यान नदिई अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ । किनकी पछिल्लो पुस्ता संस्कारका सिकाईबाट बिमुख हुँदै गएको छ,’ उनले भने ।
पोखरा ९ बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताए । उनले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताए । ‘विद्यार्थीको रुचि अनुसारको शिक्षा दिने हो भने नजिकैको क्याम्पसमा पक्कै आउने छन, त्यसका लागि सबैको सहकार्य उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘विद्यार्थीले कस्तो शिक्षा र विषय चाहेको हो भन्ने बुुझ्ने हो भने सामुदायिक संस्था पनि अब्बल हुनेछन् ।’
स्थानीय जनकल्याण महिला समूहकी अध्यक्ष बिमला परियारलले छोराछोरीलाई पढ्न पठाएरमात्र अभिभाकवको कर्तव्य पूरा नहुने बताइन् । आफ्ना छोराछोरीले कस्तो पढेका छन् र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चासो दिनुपर्ने उनले औंल्याइन् ।
पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक सस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने सुुझाए ।
‘सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिन्छ, सामुदायिक भन्नासाथ समुदायको भरमा चल्ने हो, यस्ता संस्थामा समुदाय पनि सहभागी हुनुपर्छ,’ उनले भने, ‘सहरको पहिचानमा विभिन्न सुविधा चाहिए जस्तै सामुदायिक शैक्षिक संस्था पनि आवश्यक छ । पोखराको पहिचानभित्र सामुदायिक क्याम्पस पनि पर्छ ।’ यस्ता संस्थालाई समुदायको निगरानी चाहिने उनले बताए ।
पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति उपाध्यक्ष बद्री श्रेष्ठले सामूहिक प्रयासमा क्याम्पस सञ्चालन भएकाले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताए । संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताए । सामुदायिक सम्पत्ति संरक्षणमा सबैको उत्तिकै योगदान हुने उनले बताए । ‘यो क्याम्पस समुदायको पनि सम्पत्ति हो, सबै मिलेर संरक्षण गराैं,’ उनले भने ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले महंगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविश्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकाले उनीहरुलाई रोक्नका लागि पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताइन् । ‘सस्तो र सुुलभ दरमा स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने निश्चित हुने हो भने पढ्नकै लागि बाहिर जानुपर्ने थिएन,’ उनले भनिन् ।
सामुदायिक शैक्षिक संस्था समुदायको पनि सम्पत्ति भएकाले सबै मिलेर संरक्षणमा जुट्ने हो भने यसले समुदायलाई नै लाभ दिने उनले बताइन् । २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा ९ शान्तिवन बाटिकामा सञ्चालित छ । क्याम्पसमा ४ वर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।
तपाईको प्रतिक्रिया