छुवाछुत आरोपमा वडा सदस्य पक्राउ

समाधान संवाददाता २०७९ चैत २० गते १०:१२

पोखरा ।
व्रतबन्धको भोज दलितले छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

माछापुच्छ्रे गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए ।

ती ४ जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेद आरोपमा जाहेरी दर्ता गराएका थिए । उनले दलित र गैरदलितको फरक भान्सा बनाउँदै छोइछिटो गरी जातीय विभेद गरेको भन्दै सन्तोष परियार, जनप्रतिनिधि रामजी लामिछाने, सरिता लामिछाने र सुजन लामिछानेविरुद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएका थिए ।

नारायणले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्तिसमेत भराउन नारायणले माग गरेका छन् । लामिछाने फरार रहेकोमा आइतबार कास्की प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो । रामजी र सीता लामिछानेलाई आइतबार नियन्त्रणमा लिइए पनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने, दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी परेको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्तिसमेत भराउन नारायणले माग गरेका छन् ।

Advertisement

आफन्तको व्रतबन्धमा भाग लिन पोखरा २९ भण्डारढिकका नारायण परियार फागुन २५ मा पुख्र्यौली गाउँ रिभान पुगेका थिए ।

सन्तोष परियारका २ छोरा साहिल र समीर दानदक्षिणापछि भतेर खान गए । भान्सामा खटिएकी स्थानीय सरिता लामिछानेले थर सोधेपछि उनले आफू परियार भएको बताए ।

‘दमाई’हरूका लागि छुट्टै भान्सा भएको भन्दै लामिछानेले उनलाई २० मिटर परै रोकिन भनिन् । नारायण फरक फरक भान्छा हुनु गलत भएको भन्दै भतेर भएतिरै अघि बढे । त्यति बेलै वडा सदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जूठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्ट्याइदिए ।

नारायणलाई १ लाख ५० हजार रुपैयाँ तिर्न र कुल मन्दिरमा पनि प्रवेश गर्न नदिने धम्की सन्तोषले फोनमा दिएको जाहेरीमा उल्लेख छ । स्थानीय सुजन लामिछानेले ‘दमाईहरू बाहुनको भान्सामा आउने ?’ भन्दै गाली गरेको नारायणको दाबी छ । सन्तोष परियारले नारायणलाई फोन गरेर उनले भान्सा छोइदिएकाले सबै पाकेको खाना फाल्नुपर्दाको घाटा बेहोर्नुपर्ने चेतावनी दिएका थिए ।आफूलाई डेढ लाख व्यहोर्न भनिएको नारायणले उल्लेख गरे ।

कास्कीमा क्रियाशील राजनीतिक दलका भ्रातृसंगठन र संघ, संस्थाले घटनाको विरोध गरेका छन् । उनीहरुले दोषीलाई कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन उनीहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया