लिङ्कन कलेजमा एमबिए कक्षा

पोखरा ।
रोजगारीका कारण स्नातकोत्तरमा बिहानी तथा दिउँसोको कक्षा लिन नपाएका विद्यार्थीलाई लक्ष्य गरी लिङ्कन इन्टरनेसनल कलेजले साँझ मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) कक्षा चलाउने भएको छ ।
कार्यक्रमको सिफ्ट, समय र प्रविधिले कक्षा लिन नसक्ने विद्यार्थीको मागलाई सम्बोधन गर्न आउँदो अप्रिल पहिलो साताबाट कक्षा सञ्चालन हुनेछ । साँझ साढे ५ देखि राति साढे ८ बजेसम्म कक्षा सञ्चालन हुने कलेजका अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
‘हालका शैक्षिक कार्यक्रमको सिफ्टमा अध्ययन गर्न समय अनुकूल नभएका बैंक, वित्तीय संस्था, नेपाल सरकारका कर्मचारी वा कुनै फर्म वा व्यवसायमा संलग्न रहेका विद्यार्थीलाई स्नातकोत्तर तहको शिक्षाको अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो,’ अध्यक्ष गुरुङले भने, ‘विविध कारणले भौतिक कक्षामा सहभागी हुन असमर्थ विद्यार्थीलाई समेत प्रविधिमैत्री कक्षाकोठाबाट स्मार्ट प्रविधिको प्रयोग गरी घरबाटै पठनपाठनको व्यवस्था गरेका छौं ।’
अध्यक्ष गुरुङले त्यस्ता विद्यार्थीले कार्यालय वा कलेजबाहिर रहँदा पनि कक्षा लिन सक्ने आधुनिक र फरक प्रणाली कलेजले अंगिकार गरेको जानकारी दिए । कलेजका एकेडेमिक चिफ अनिल अर्यालले स्नातकोत्तर तहमा साँझ कक्षा सञ्चालन गर्दा धेरैजसो लक्षित वर्ग लाभान्वित हुने विश्वास सुनाए ।
उनले नियमित कक्षाबाहेक समूह छलफल, व्यक्तिगत प्रस्तुतिकरण, केस स्टडी, परियोजना, क्षेत्र भ्रमण र अन्य व्यावहारिक पक्षले एमबिए कोर्सलाई मल्टिडिप्लिनरी र समसामयिक बनाएको जनाए ।
मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन र त्रिभुवन विश्वविद्यालयको समकक्षता पाएको कलेजमा साँझका सिफ्टमा एमबिए
उनले सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान, क्यान्टिन, क्रेडिट ट्रान्सफर गरी विदेशमा अध्ययन मिल्ने व्यवस्था कलेजमा रहेको उल्लेख गरे । उनले अनुसन्धानमा आधारित पाठ्यक्रम, सम्बन्धित विषयका विज्ञले अध्यापन, समय–समयमा आमन्त्रित विज्ञका प्रवचन कलेजका विशेषता रहेको सुनाए ।
बोर्ड सदस्य भीमनाथ बरालले सो कक्षाका लागि बढीमा ३० विद्यार्थी भर्ना गर्ने जानकारी दिए । यो कार्यक्रममा भर्ना शुल्क १ लाख १५ हजार लाग्नेछ । चार सेमेस्टारका लागि थप ३ लाख ५० हजार शुल्क लाग्छ । विद्यार्थीले पढाइ पूरा गरेपछि २५ हजार धरौटी रकम फिर्ता पाउने छन् ।
उनले एमबिए कार्यक्रमबाट विद्यार्थीले वित्त, लेखा, मानव संशाधन, बजारीकरण, सञ्चालन, सूचना प्रविधि लगायतका क्षेत्रमा सीप, क्षमता र ज्ञान विकास गर्ने दाबी गरे । बरालले कलेजमा पढाइ सकेका सबै विद्यार्थीले स्वदेश तथा विदेशमा रोजगारीको अवसर पाएको जनाए ।
लिटिल स्टेप माध्यमिक विद्यालयकी संस्थापक प्राचार्य पम्फा गुरुङले २०३९ मा पोखराको बगरमा स्थापना भएको स्कुलले २०५५ र २०५६ मा प्लस टु तहमा क्रमशः विज्ञान र व्यवस्थापन विषयको कक्षा सुरुवात गरेको जानकारी दिइन् । २०६४ मा होटल म्यानेजमेन्ट पठनपाठन थालेको कलेजमा सन् २०१२ देखि स्नातक तहमा बिबिए र बिएचएमको पठनपाठन हुँदै आएको छ ।
कार्यक्रममा प्राडा यादवराज शर्मा गौंडेलले यो कार्यक्रमले विद्यार्थीलाई विश्वको फराकिलो परिप्रेक्ष्य, आलोचनात्मक सोच, रचनात्मकता, समस्या समाधान, प्रभावकारी सञ्चार, विश्लेषणात्मक सीप, व्यक्तिगत वृद्धि, ज्ञान र सीप प्रदान गर्ने उल्लेख गरे ।
विश्व बजारमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय उपाधि (डिग्री) प्रदान गर्ने उदेश्यले मलेसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले त्रिभुवन विश्वविद्यालयको समकक्षतासमेत पाएको छ ।
तपाईको प्रतिक्रिया