सम्पादकीयः डम्बर गुरुलाई श्रद्धाञ्जली

डम्बरसिंह गुरुङ नेपाली फुटबल क्षेत्रका चम्किला नक्षेत्र थिए, जो यो साता अस्ताए । चैत ८ गते अन्तिम सास फेर्दासमेत उनको सासमा फुटबल थियो । मनमा पनि फुटबल थियो । हाला कि केही समययता बिरामी परेर उनी भौतिक रुपमा नै धेरै सक्रिय हुन सकेका थिएनन्, तर चिन्तन मनन फुटबलकै गरिरहेका थिए । ७१ वर्षे जीवनमा उनले जे जति गर्न सके त्यो नेपाली फुटबल र खास गरी पोखरेली फुटबल क्षेत्रले सदा स्मरण गरिरहने छ ।
ब्रिटिस आर्मीमा भर्ती भएर पनि डम्बरले नेपाली राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए । तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव शरदचन्द्र शाहले डम्बरको खेल कौशल पहिचान गरे । गोर्खाली टिममा नेपालमा खेल्न आउँदा शरदको आँखामा डम्बर परेपछि उनलाई ब्रिटिस आर्मीकै तलबसुविधा खाइरहने गरी नेपाली राष्ट्रिय टोलीबाट खेल्न मिल्ने बनाए । त्यो पञ्चायतकालको कुरा थियो ।
जसै डम्बर सेवानिवृत्त भए कतिपय अवकाशप्राप्त जस्तो गरी उनी फुक्काफाल बसेनन् । आफूले जानेको खेलकौशल साना नानीहरुलाई हस्तान्तरण गर्न लागिपरे । कतिसम्म भने उनले पोखराको सहारा फुटबल एकेडेमीका बालकहरुलाई ६ वर्षसम्म निशुल्क खेल प्रशिक्षण दिए । पुँजीवादको जमानामा त्यो चानेचुने कुरा थिएन ।
पैसा नभई कोही पनि डेग नचल्ने युगमा पनि डम्बर एक अनौठा असल पात्र बने । खासमा उनमा आफूले जानेको सिप अरुलाई बाँडो भन्ने भावना थियो । नेपाली फुटबलको विकास होस् भन्ने चाहना थियो । उनी पनि प्रतिभाशाली खेलाडीहरुको तुरुन्तै पहिचान गर्थे र बालकहरुलाई सही मार्गदिशानिर्देश गर्न सिपालु थिए । खेलकुदमा चाहिने भनेको सिपकौशलमात्रै होइन झन् महत्वपूर्ण अनुशासन हो । डम्बरमा अनुशासनको बेजोडै विशेषता थियो ।
आखिर अनुशासनबिना कुनै पनि खेलमात्रै होइन जीवन पनि व्यवस्थित हुँदैन । नेपालका थुप्रै फुटबल क्लबहरुमा पनि प्रशिक्षक बनेर राष्ट्रिय स्तरका खेलाडीलाई फुटबलका कला र कौशल प्रशिक्षण गरेका डम्बर फुटबल जगतमा ‘डम्बर गुरु’ का रुपमा त्यत्तिकै परिचित र स्थापित भएका होइनन्, उनका प्रशिक्षकमात्रै होइन गुरु शब्दको ओज राख्न प्रशस्त विशेषता थिए ।
गुरु भनेको आफूले मात्रै जान्ने होइन, जानेको ज्ञान र सिप आफैले पनि प्रयोगमा ल्याउने तथा अरुलाई त्यो हस्तान्तरण गर्ने पनि हो । जसको कुनै मूल्य हुँदैन । ती अमूल्य गुणका धनी प्रतिभाशाली व्यक्तित्वलाई हार्दिक श्रद्धाञ्जली ।
तपाईको प्रतिक्रिया