सम्पादकीयः डम्बर गुरुलाई श्रद्धाञ्जली

डम्बरसिंह गुरुङ नेपाली फुटबल क्षेत्रका चम्किला नक्षेत्र थिए, जो यो साता अस्ताए । चैत ८ गते अन्तिम सास फेर्दासमेत उनको सासमा फुटबल थियो । मनमा पनि फुटबल थियो । हाला कि केही समययता बिरामी परेर उनी भौतिक रुपमा नै धेरै सक्रिय हुन सकेका थिएनन्, तर चिन्तन मनन फुटबलकै गरिरहेका थिए । ७१ वर्षे जीवनमा उनले जे जति गर्न सके त्यो नेपाली फुटबल र खास गरी पोखरेली फुटबल क्षेत्रले सदा स्मरण गरिरहने छ ।
ब्रिटिस आर्मीमा भर्ती भएर पनि डम्बरले नेपाली राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए । तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव शरदचन्द्र शाहले डम्बरको खेल कौशल पहिचान गरे । गोर्खाली टिममा नेपालमा खेल्न आउँदा शरदको आँखामा डम्बर परेपछि उनलाई ब्रिटिस आर्मीकै तलबसुविधा खाइरहने गरी नेपाली राष्ट्रिय टोलीबाट खेल्न मिल्ने बनाए । त्यो पञ्चायतकालको कुरा थियो ।
जसै डम्बर सेवानिवृत्त भए कतिपय अवकाशप्राप्त जस्तो गरी उनी फुक्काफाल बसेनन् । आफूले जानेको खेलकौशल साना नानीहरुलाई हस्तान्तरण गर्न लागिपरे । कतिसम्म भने उनले पोखराको सहारा फुटबल एकेडेमीका बालकहरुलाई ६ वर्षसम्म निशुल्क खेल प्रशिक्षण दिए । पुँजीवादको जमानामा त्यो चानेचुने कुरा थिएन ।
पैसा नभई कोही पनि डेग नचल्ने युगमा पनि डम्बर एक अनौठा असल पात्र बने । खासमा उनमा आफूले जानेको सिप अरुलाई बाँडो भन्ने भावना थियो । नेपाली फुटबलको विकास होस् भन्ने चाहना थियो । उनी पनि प्रतिभाशाली खेलाडीहरुको तुरुन्तै पहिचान गर्थे र बालकहरुलाई सही मार्गदिशानिर्देश गर्न सिपालु थिए । खेलकुदमा चाहिने भनेको सिपकौशलमात्रै होइन झन् महत्वपूर्ण अनुशासन हो । डम्बरमा अनुशासनको बेजोडै विशेषता थियो ।
आखिर अनुशासनबिना कुनै पनि खेलमात्रै होइन जीवन पनि व्यवस्थित हुँदैन । नेपालका थुप्रै फुटबल क्लबहरुमा पनि प्रशिक्षक बनेर राष्ट्रिय स्तरका खेलाडीलाई फुटबलका कला र कौशल प्रशिक्षण गरेका डम्बर फुटबल जगतमा ‘डम्बर गुरु’ का रुपमा त्यत्तिकै परिचित र स्थापित भएका होइनन्, उनका प्रशिक्षकमात्रै होइन गुरु शब्दको ओज राख्न प्रशस्त विशेषता थिए ।
गुरु भनेको आफूले मात्रै जान्ने होइन, जानेको ज्ञान र सिप आफैले पनि प्रयोगमा ल्याउने तथा अरुलाई त्यो हस्तान्तरण गर्ने पनि हो । जसको कुनै मूल्य हुँदैन । ती अमूल्य गुणका धनी प्रतिभाशाली व्यक्तित्वलाई हार्दिक श्रद्धाञ्जली ।







पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
माउन्ट अन्नपूर्णमा अक्षरारम्भ
कुमदिनी होम्समा सरस्वती पूजा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया