नियम मान्दैनन् पाेखरा नगर बस

समाधान संवाददाता २०७९ चैत २१ गते १०:३२

पोखरा ।
पोखराको न्युरोडमा गत शुक्रबार मिनी माइक्रोले स्कुटरलाई ठक्कर दियो । ग१ज ४५४० नम्बरको मिनी माइक्रोको ठक्करबाट ग५प ९४ नम्बरको स्कुटरका चालक पोखरा महानगरपालिका ८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो ।

Advertisement

घटनापछि गम्भीर घाइते भएका थकालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु¥याएको थियो ।

गत चैत ३ गते बिहानै पोखरा चिप्लेढुंगामा स्कुटरलाई ठक्कर दिँदा स्कुट चालकको मृत्यु भयो । बसको ठक्करबाट २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाइन् । त्यो माइक्रोका चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

गत माघ २६ गते पोखरा बसपार्कनजिकै बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाइन् । यी त पोखरामा पछिल्लो समय नगर बसको ठक्करबाट ज्यान गुमाउनेका उदाहरणमात्रै हुन् ।

अधिकांश दुर्घटना जहाँ मन लाग्यो त्यही रोक्ने, तीव्र गतिमा हाक्ने, अर्कालाई उछिन्न तीव्र गतिमा चलाउँदा भएका हुन्

Advertisement

पछिल्लो समय पोखरामा नगर बस चालकको लापरवाहीका कारण दिनहुुँ जसो साना ठूला दुर्घटना भइरहेका छन् । माइक्रोबाट बाइक, स्कुटर चालकदेखि पैदल यात्रुसहित त्रस्त छन् ।

तोकिएको ठाउँमा नरोक्ने, जहाँ मन लाग्यो त्यही रोक्ने, सडकको अवस्था नहेरी तीव्र गतिमा सवारी हाक्ने, एकअर्कालाई उछिन्ने जस्ता क्रियाकलापले अधिकांश दुर्घटना भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिकाले नगर बसमा यात्रु चढाउने, ओरल्ने निश्चित ठाउँ तोकेको छ ।

तर, अधिकांश नगर बस एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाले निश्चित ठाउँमा रोकिँदैनन् । नगर बसले जहाँ मन लाग्यो त्यही रोक्दा दुर्घटनाको जोखिम त बढेकै छ, पैदल यात्रीलाई सडक यात्रा गर्न, बाटो पार गर्न कठिन हुँदै गएको छ ।

चालु आर्थिक वर्षमा मात्रै पोखरामा ७९ दुर्घटना भएका छन् । ती दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकले देखाउँछ । दुर्घटनाबाट ८९ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा पोखरामा ९८ सवारी दुर्घटा हुँदा ५५ जनाले ज्यान गुमाएका थिए ।

एकले अर्कालाई उछिन्ने र तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठक बताउँछन् । ‘पछिल्लो समय सवारी चालककै लापरबाहीका कारण दुर्घटना बढेको पाइएको छ । जसले गर्दा गम्भीर प्रकृतिका घटना हुने गरेका छन्,’ उनले भने । बढ्दो सवारी चापले बर्सेनी दुर्घटनाको जोखिम बढेको सूचना अधिकारी पाठकको भनाइ छ ।

नगरको बसको स्पिड तोकिने
पोखरा महानगरपालिकाको प्रमुख सहरी क्षेत्रभित्र सञ्चालन हुने नगर बसका लागि अधिकतम गति निर्धारण गरी कडाईका साथ पालना गराउने निर्णय भएको छ ।

नगर बसबाट भइरहेका गम्भीर प्रकृतिका सडक दुर्घटना कम गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले गति निर्धारण गरी सोको कडाईका साथ पालना गराउने निर्णय गरेको हो ।

सोही बैठकले मापदण्ड बमोजिम सिटी बस स्टप व्यवस्था गरी बस स्टपमा मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको नागरिक अभियान्ता रामबहादुर पौडेलले बताए । ‘सहरी क्षेत्रमा सञ्चालित नगर बसलाई गति नियन्त्रण तथा ओभर ट्रयाक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको छ,’ उनले भने ।

निर्णयहरु पालना गराउन नगर बसका चालक तथा सहचालकलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालनको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया