तनहुँ उपनिर्वाचन १: विरासत जोगाउने र भत्काउने दाउ

समाधान संवाददाता २०७९ चैत २१ गते १०:४३

पोखरा ।
तनहुँ १ मा बैशाख १० गते हुने उपनिर्वाचनका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको समयमा ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

नेपाली कांग्रेसबाट गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । भट्टराईलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी लगायतको समर्थन छ ।

नेकपा एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् ।

नेपाल मजदूर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले पनि उम्मेदवारी दिएका छन् ।

९ जनाले उम्मेदवारी दिए पनि मुख्यतः त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट उम्मेदवार बनेको पूर्वआइजीपी सर्वेन्द्र खनाल, कांग्रेसबाट उम्मेदवार बनेको गोविन्द भट्टराई र कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

Advertisement

कांग्रेसका गोविन्द भट्टराई मत संरक्षण गर्दै विरासत जोगाउने रणनीतिमा छन् भने रास्वपाका डा स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाल विरासत भत्काएर जित निकाल्ने ध्याउन्नमा

गण्डकी प्रदेशकै गोरखा पुख्र्याैली थलो भएका स्वर्णिमलाई कांग्रेसका मतदाताको पनि भोट आउने आकलन रास्वपाले गरेको छ । सर्वेन्द्र भने गण्डकी प्रदेशको मात्रै नभई तनहुँ र त्यो पनि क्षेत्र नम्बर १ कै बासिन्दा हुन् । उनले यसअघि काठमाडौं ६ बाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उनी गएको चुनावमा रास्वपा उम्मेदवारसँग पराजित भएका थिए ।

स्वर्णिम पहिलोपटक प्रत्यक्ष रुपमा संसदीय चुनावमा होमिएका हुन् । उनले योजना आयोग, कांग्रेसको निर्वाचन घोषणापत्र निर्माण लगायतका जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि राजनीति गरिरहेका भट्टराई तनहुँमा राम्रोसँग भिजेका नेतामा गनिन्छन् ।

कांग्रेसमा लामो समयदेखि असन्तुष्ट गोविन्दराज जोशी समूहले यसपालि उम्मेदवार नउठाउने भएको छ । यसका लागि भट्टराईलाई हुने देखिन्छ ।

एमाले आफ्नो भोट सुरक्षित राखेर र केही अरुको भोट तानेर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । सर्वेन्द्र खनालको व्यक्तिगत छविसमेत यसका लागि सहयोगी हुने एमालेको आकलन छ ।

रास्वपा कांग्रेस र तटस्थ मत तानेर जित निकाल्ने रणनीतिमा छ । कांग्रेसको रणनीति भने आफ्नो मत संरक्षणमा केन्द्रीत रहनेछ ।

गोविन्दराज जोशीको समूहको मतले पनि नतिजा फेरबदल पार्न सक्ने देखिन्छ । गत मंसिरमा भएको निर्वाचनमा जोशीले ६ हजार ८ सय ८६ प्राप्त गरेका थिए । यसपालि उम्मेदवारी नदिए पनि उनले कुनै एक उम्मेदवारलाई समर्थन गर्न बताइसकेका छन् । उनले समर्थन गर्ने उम्मेदवारलाई जोशी पक्षको केही मत जाने स्रोत बताउँछ ।

मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यहाँ उपचुनाव भएको हो ।

यहाँ बैशाख १० गते मतदान हुँदै छ । गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर निर्वाचित भएका थिए ।

एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्द्रराज जोशीले ६ हजार ८ सय ८६, रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ २० हजार १ सय ५८ मत प्राप्त गरी नेपाली कांग्रेस पहिलो, १६ हजार ६ सय ८३ मत प्राप्त गर्दै नेकपा एमालेले दोस्रो बनेका थिए । रास्वपाले १२ हजार ७ सय ७३ मत प्राप्त गर्दै तेस्रो र माओवादी केन्द्रले ७ हजार ३ सय २६ मत प्राप्त गर्दै चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ५ सय ७७ मत प्राप्त गर्दै पाँचौं र नेकपा एकीकृत समाजवादी ९ सय ५० मत प्राप्त गर्दै छैठौं भएका थिए ।

विवेकशील साझाले रास्वपालाई सघाउने
तनहुँ १ को उपनिर्वाचनमा विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र (रास्वपा) का उम्मेदवारलाई सघाउने भएको छ । विवेकशील साझाले आफूले उम्मेदवारी नदिई रास्वपाका उम्मेदवार अर्थविद् डा स्वर्णिम वाग्लेलाई सघाउने जनाएको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दछ’, विवेकशील साझा तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगानाद्वारा हस्ताक्षित विज्ञप्तिमा भनिएको छ ।

रास्वपाका वाग्लेलाई घन्टी चिन्हमा मतदान गरी विजयी गराउनका मतदातालाई संयोजक ढुंगानाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया